'उसले १९ वर्षको उमेरमा भोट किनबेच गर्न लाग्यो। २५ वर्ष पुग्दानपुग्दै विभिन्न संस्थाका पद खरिद गर्न थाल्यो। यसैबीच एक-दुइटा ज्यानस्यान मार्ने काम पनि गरिसकेको थियो। २८ वर्षको उमेरमा ऊ एउटा शक्तिशाली गिरोहको डन भयो र ३० को उमेरमा त एउटा क्षेत्रको निर्विरोध नेतै भयो। पाँच वर्षपछि ऊ न्यायाधीश बन्यो भने ४० वर्षमा त सांसदै बन्यो। सहरका १० हजार नगरबासीलाई ऊ नामबाटै र २० हजार मानिसलाई अनुहारबाट चिन्थ्यो। जजसलाई उसले कल्याण गरेको थियो, तिनको फेहरिस्तमा उसका कट्टरभन्दा कट्टर शत्रु पनि थिए। एकातिर उसले आफ्ना सहकर्मीमा कोही इमानदार पनि छन् भन्ठान्ने भूल कहिल्यै गरेन, अर्कोतिर उसले पहिल्यैदेखि बेइमान व्यक्तिलाई बेइमानै मान्दै बस्ने महाभूल पनि कहिल्यै गरेन।'
यो कुनचाहिँ अपराधीको राजनीतिक यात्रा-वृत्तान्त होला? कि कुनै देशको राजनीतिक नेताको आपराधिक इतिहासको वर्णन हो? यहाँ वर्णन गरिएका राजनीतिक नेता वा आपराधिक व्यक्ति अमेरिका, भारत वा नेपालका नेता वा डन त होइनन्? होइन, वास्तवमा यो ईसापूर्वको रोमन गणतन्त्रको एक सांसदको वर्णन हो। यो दुई हजार वर्षअघि रोमन गणतन्त्रका सिनेटर लेन्टेलस ग्रेकसको इतिवृत्तान्त हो। सिनेटर ग्रेकस अमेरिकी लेखक हावर्ड फास्टको प्रसिद्ध ऐतिहासिक उपन्यास 'स्पार्टकस' को एउटा पात्र थियो। हावर्ड फास्टले सिनेटर ग्रेकसमार्फत् रोमन राजनीतिको आपराधीकरण वा अपराधको राजनीतिकरणलाई उदांग्याएका थिए। यस्तै व्यक्तिबाट सीमित वर्गको लाभका लागि चलाइन्थ्यो रोमको राजनीति। कयौं शताब्दीसम्म चलाइएको 'लाभको राजनीति'का कारण आपराधीकरण सघन भएको थियो।
रोमन ग्रेकसले चलाएको लाभको राजनीतिकै छायाँ नेपाली राजनीतिमा पनि देखिन्छ। यहाँका राजनीतिक दलमा पनि सीमित वर्गको हितका लागि राजनीतिको आपराधीकरण गर्ने वा अपराधको राजनीतिकरण गर्ने 'ग्रेकस'को खडेरी छैन। हावर्ड फास्टले एक्काइसौं शताब्दीका नेपाली 'ग्रेकस'बारे लेखे भने नेपाली गुण्डाराजको आयामबारे लेख्न पक्कै भुल्दैनथे। त्यो आयाम हो : पहिले विपक्षीलाई आक्रमण गर, त्यसपछि सबैभन्दा पहिले आक्रमणको निन्दा र दोषीमाथि कारबाहीको माग गर। पहिले मरणासन्न हुनेगरी हमला गर अनि घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना पनि गर। घाइते मरिहालेमा चिहानमा सबैभन्दा पहिले फूलको गुच्छा लिएर श्रद्धाञ्जली दिन जाऊ, नभए मृतकको घरमा पत्नीलाई पठाएर गोहीको आँसु चुहाउन लगाऊ। नेपाली गुण्डाराजले अभ्यास गरेको यस्तो 'मानवीय आयाम' स्मरणीय छ। यसको श्रेय एमालेको युथफोर्स, मोरङको जाज्वल्यमान नेतृत्वलाई जान्छ, त्यसलाई राजनीतिक संरक्षणको दोसल्ला ओढाउने वरिष्ठ र प्रभावशाली नेताहरूलाई जान्छ।
एमालेको विघठित मानिने युथफोर्स र गुण्डाराजबीचको नाता खोजकै विषय हो। युथफोर्सको राजनीति कहाँ गएर अपराधको अँध्यारो गल्लीतिर मोडिन्छ अनि अपराधको कुहीगन्धे बाटो कुन राजनीतिक मोडमा जोडिन्छ, अनुसन्धानकै विषय हो। तर अपराधलाई राजनीतिक दोसल्ला ओढाउने र राजनीतिलाई अपराधको टुकुचा बनाउने मामिलामा युथफोर्समात्रै होइन, कुनै पनि युवा संगठन र युवादस्ता पछाडि छैनन्। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणको सिकार हुने र अरूलाई पनि त्यसको सिकार बनाउनेमा युवा संगठनहरू सबैभन्दा अगाडि छन्। त्यसैले सबैभन्दा बदनाम पनि छन्। यसरी युवा राजनीतिको नदीमा अपराधको ढल मिसाएर राजनीतिलाई नै गुण्डाराज र राजनीतिक नेतालाई डनको पर्याय हुनेगरी बदनाम गर्नसक्नु पनि नेपाली 'ग्रेकस'को महान् योगदान हो। यसले युवा वर्गलाई मात्रै होइन, सामान्य जनतालाई पनि 'फोहोरी राजनीति'को टुकुचाबाट टाढै राख्न मद्दत गरेको छ र त्यही 'फोहोरी राजनीति'को आहालमा डुबेर लाभ लिन सीमित वर्गलाई असीमितरूपमा सघाएको छ। बाहुबलको राजनीति, भ्रष्टतम आचरण र आर्थिक स्वार्थपूर्तिको नीतिको सम्मिश्रणबाट बनेको 'भ्रष्ट अर्थ-राजनीति' यतिखेरको मूलधारको राजनीतिक दर्शन र अभ्यास हो।