नेपाली शब्दकोषले दल वा गठ बनाई सीधासाधा व्यक्तिलाई ढाँट्ने, छल्ने, पिट्ने व्यक्तिलाई 'गुण्डा' भनेको छ। राजनीतिज्ञ र गुण्डाहरुबीच भिन्नता छुट्याउन कठिन भयो भने शब्दकोषको यो परिभाषा सहयोगी बन्न सक्छ।
फिल्ममा मात्र देख्न पाइने गुण्डाराज सातायता मुलुकको दोस्रो ठूलो सहर विराटनगरमा देखियो। यही जेठ २२ गते राति १० बजे पत्रकार खिलानाथ ढकाललाई अपहरण गरेर स्थानीय युथफोर्सका गुण्डाले सांघातिक हमला गरेका थिए। मार्ने भन्दै गुण्डाहरुले कुटिरहेको अवस्थामा फुत्किन नसकेको भए र एक प्रहरी इन्सपेक्टरले चनाखो भएर उद्धार नगरेको भए ढकालको ज्यान जान पनि सक्थ्यो। गुण्डाहरुले उनलाई कुटेर मरणासन्न बनाएका थिए।
जेठ १८ गते मोरङ जिल्ला अदालतमा बन्दी अभिषेक गिरीलाई सफाया गर्ने योजनासाथ गुण्डाहरुबाट सांघातिक आक्रमण भएको थियो। प्रहरीले ११ राउण्ड फायर गरेर भए पनि अदालत परिसरभित्र हुन लागेको हत्या प्रयासलाई विफल बनाएको थियो। मोरङ युथ फोर्सले पत्रकार सम्मेलन गरी अदालत आक्रमणको जिम्मेवारी लिएको थियो। तर, युथफोर्सले गरेको यस्तो ज्यादतीविरुद्ध कसैले बोल्ने र लेख्ने आँट गरेनन्। कतिसम्म भने स्वयं अदालतले पनि आफ्नो मानहानि भएको गुनासो गर्न सकेन। यस घटनाको खोजमूलक समाचार पत्रकार ढकालले नागरिक दैनिकमा लेखे। उनको साहसिक समाचार पढेर पत्रकार, वकिल, प्रहरी र अधिकारकर्मीले समेत जिब्रो टोकेका थिए।
नागरिकमा छापिएको ढकालको त्यस समाचारले विराटनगरमा गुण्डाराज चलाउँदै आएको युथफोर्स र त्यसका नाइके पर्शुराम बस्नेतको किल्लामा भूकम्प ल्यायो। दादागिरी र लुटको स्वर्ग हल्लिएपछि उनीहरु तिमिल्लाउनु स्वाभाविक थियो। अनि उनीहरुले आफ्ना कर्तुतको सिलसिला पत्रिकामा सार्वजनिक नहोऊन् भनेर रोक्ने योजना बनाउन थाले। उनीहरुको पहिलो योजना थियो, ढकाललाई थर्काउने। युथ फोर्सका जिल्ला अध्यक्ष पर्शुराम बस्नेतले जेठ २२ गते दिउँसो मोरङको एमाले जिल्ला पार्टी कार्यालयमा उनलाई बोलाएर 'मेरा बारे समाचार लेखे जे पनि हुन सक्ने' भनी धम्क्याएका थिए। पत्रकारिताको धर्म र निष्ठामा अविचलित ढकाल बस्नेतको धम्कीबाट रत्तिभर डराएनन्। उनले बस्नेत र युथफोर्सको गुण्डागर्दीको इतिहास उधिनेर अर्को समाचार लेखे। आफ्ना कर्तुत एकपछि अर्को गर्दै भण्डाफोर हुन थालेपछि बस्नेतकै योजनाबमोजिम ढकालमाथि भौतिक हमला गरिएको थियो।
उनीहरुविरुद्ध समाचार लेखेर ढकाल विराटनगर-१३ तीनटोलियास्थित डेरा आएका थिए। राति पौने १० बजेतिर निदाउन लागिसकेको अवस्थामा उनलाई बस्नेतका मुख्य सहयोगी विराटनगर युथ फोर्सका अध्यक्ष रोहित कोइरालाले फोन गरेर चोकमा आउन पटकपटक कर गरे। विश्वासमा परेर ढकाल गए। चोकबाट मोटरसाइकलमा हालेर उनलाई कोइरालाले एक किलोमिटर पश्चिम अँध्यारो गल्लीमा पुर्याए। त्यसरी लैजाँदा बस्नेतका गाडी चालक एवं युथफोर्स कार्यकर्ता मनोज राई सँगै थिए। गल्लीमा पुर्याएपछि 'पर्शुराम दाइविरुद्ध किन समाचार लेखिस्, तँलाई यहीँ सिध्याउँछौ' भन्दै गुण्डाहरुले निर्मम पिटेको थियो। मार्नै लागेका बेला फुत्किएर गुहार माग्दा प्रहरीले भेटेर उनलाई उद्धार गरेको थियो।
अदालत र ढकालमाथि आक्रमणका दुवै घटनाका मुख्य योजनाकार मोरङ युथफोर्सका अध्यक्ष बस्नेत नै हुन्। उनी विराटनगरमा एमाले संरक्षित गुण्डाका रुपमा चिनिन्छन्। उनलाई एमाले मोरङका अध्यक्ष विनोद ढकाल र युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले संरक्षण गरेका रहेछन्। उनीहरुले आपराधिक घटनामा संलग्न बस्नेतलाई निलम्बन गर्नुको सट्टा उल्टै बचाउ गरेर सिंगो एमाले पार्टी र युवा संघलाई लज्जित र बदनाम गराएका छन्। उनीहरुकै संरक्षणका कारण सिंगो एमालेमाथि गुण्डा पालेको आरोप छ।
विराटनगरमा बस्नेतको जगजगी सुरु भएको ४/५ वर्षमात्र भएको छ। सबारी मजदुरका रुपमा दोलखाबाट मोरङ आएका बस्नेत गुण्डागर्दीबाटै अरबपति बन्दै छन्। इशारा गर्दा जतिखेर पनि आउने २ सय गुण्डा उनले पालेका छन्। उर्लाबारीदेखि इटहरी, धरान र विराटनगरमा बस्नेतको गुण्डाराज छ। त्यहाँका ठेक्कापट्टा, बनजंगल, टेण्डर, घडेरी व्यापार, ढुंगाबालुवा व्यापार, होर्डिङ बोर्ड व्यापार, जुवातास, हार्डवेयर सामान आदिको व्यापारमा बस्नेतको हुकुम चल्छ। उनलाई २० देखि ५० प्रतिशत हिस्सा नदिई ती व्यापार अरु कसैले चलाउनै सक्दैन। उनको अहिलेको सम्पत्तिको स्रोत राज्यले खोज्ने हो भने उनी कसरी यस अवस्थामा आइपुगेका रहेछन् भन्ने छर्लंग हुनेछ।
गुण्डा दलले जे चाह्यो त्यही हुने परिस्थिति बनेपछि दलहरु पर्शुराम बस्नेतसँग लत्रिएका हुन्। चुनावमा मात्र होइन, घर व्यवहारमा समेत उनले पार्टीका नेताको गर्जो टारिदिने गरेका रहेछन्। यस्तो आर्थिक प्रलोभनबाट केही पत्रकारसमेत बिटुलिएका छन्। 'रिल' मा जति धेरै जगजगी मच्चिए पनि अपराधको जति लामो शृंखला रचे पनि, अन्त्यमा गुण्डाहरुको पतन हुन्छ। कथामा एउटा नायक निस्कन्छ साहस बोकेर र उसले अन्त्य गर्छ गुण्डागर्दीको। पत्रकार ढकाल अहिले फिल्मको नायकझैँ बनेका छन्। उनको साहसले नेपाली पत्रकारितामा नयाँ ऊर्जा थपेको छ। तर, विराटनगरको 'रियल' धरातलमा भने पत्रकार ढकाललाई हमला गर्न लगाउने योजनाकार बस्नेत पक्राउ परेका छैनन्। प्रहरी प्रशासन खोजिरहेको छौँ भन्छ, तर, बस्नेतचाहिँ 'पक्रेर देखाऊ' भनेर चुनौती दिइरहेका छन्।
पत्रकारमाथि भएका विभिन्न हमलाको विरोधमा देशभरका पत्रकार नेपाल पत्रकार महासंघको छातामुनि आन्दोलित छन्। यो आन्दोलन एक व्यक्तिमाथि भएको आक्रमणको विरोधमात्र होइन। ढकालमाथिको हमला सिंगो प्रेस जगत्माथिको हमला भनेर बुझ्न जरुरी छ। ढकाल एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका सदस्य हुन्। उनकै आस्थाको संगठन प्रेस चौतारी नेतृत्व अहिलेसम्म घटनाबारे मौन छ। उनकै आस्थाको पार्टी नेकपा एमाले आक्रमणकारीलाई कानुनी कारबाही गरेर आफ्नै आस्थाको एउटा जुझारु पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन असफल छ। प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघले हाँकेको यस आन्दोलनलाई सबै आस्था बोकेका पत्रकारका संगठनहरुले सघाएर सफल बनाउनुपर्छ।
मोहन काजी:Source: nagarik News
(लेखक नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य हुन्।)
No comments:
Post a Comment