Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Thursday, March 15, 2018

सरकार धुर्मुस सुन्तलीलाई आतंककारी घोषणा गर



सरकार
धुर्मुस सुन्तलीलाई
आतंककारी घोषणा गर
देशको धर्म विपरित
अनेक कार्य गरे वापत
जेल अनि नेल ठोक
शरिरमा करेन्ट प्रवाह गर
पैतालामा लट्ठी बजार
चिथोर, लछार, पछार
र देश द्रोहको अपराधमाशिवपुरी नै पु¥याएर भए पनि
गोली ठोक र
त्यतै बेपत्ता बनाउ
जहाँ सयौं पहिले पनि
वेपत्ता बनाइएका छन् ।

सरकारबाट रुन वाध्य
पारिएकाहरु,
सरकार हुँदा हाँस्न सम्म
नपाएकाहरु
सबै सबैलाई हँसाएर
अपराध गरेथ्यो ।
अनि
तराईलाई अल्ग्याउने
तिम्रो राजनीतिलाई
थिलथिलो पार्दै
फेरी
उहि तराइका
शितलहरहरुमा
न्यानो कपडा बोकी
एकता र भातृत्वको
समभावना कायम ग¥यो
भूईचालोमा नाङ्गिएकाहरु
खुला आकाशमा
सुत्न वाध्य पारिएकाहरु
तिम्रा झुटा आश्वासनमा
पटक पटक बलात्कृतहरु
सबै एकैठाउँ पारी
दुुःख सुख बाँड्न र
बाँच्न सिकायो
र अर्को अपराध ग¥यो ।
त्यति मात्र होइन सरकार
तिम्रा ठेकेदारहरुले
एक कि.मि सडक,
सयौंको ज्यान लिएको
डाँडाको तुइन,
वारीपारी गर्ने
एउटा पुल,
सयौंको उपचार गर्ने
एउटा हस्पिटल,
हजारौंलाई शिक्षित बनाउने
एउटा विद्यालय बनाउन,
विस्थापन गर्न,
निर्माण गर्न, सञ्चालन गर्न
बर्षौ लगाएको बेला,
आधा दिन बाटो बन्द गरेर
राजधानीलाई
नाकाबन्दी गरिरहेको बेला
सोझा सिधालाई
सधैं झुक्याइरहेको बेला
र त्यसबाट तिम्रो
राजनीति चलिरहेको बेला
हेर त पारी डाँडामा
नमुना पहरी बस्ती

गिरानचौर खडा ग¥यो
जहाँ तिम्रा जवान
पुग्न सम्म बाँकी थियो
तिम्रा विकासे कथा
सुन्नसम्म बाँकी थियो
त्यहि त्यसले
सन्तपुर बस्ती नै
शहरमा रुपान्तरण ग¥यो
त्यसले तिम्रो
भजाउने सबै कुरा
निमिट्यान्न पा¥यो
तिमीलाई नाङ्गो छौ भनेर
आरोप मात्र होइन सरकार
प्रमाणित नै गर्यो
त्यसैले सरकार
धुर्मुस सुन्तलीलाई
आतंककारी घोषणा गर

देश द्रोहको अपराधमा
शिवपुरी नै पु¥याएर भए पनि
गोली ठोक अनि त्यतै बेपत्ता बनाउ
जहाँ सयौं पहिले पनि
वेपत्ता बनाइएका छन् ।
हरि दहाल
धुलाबारी, झापा

Wednesday, February 15, 2012

नव बजारवाद मुर्दावाद ।

नव  बजारवाद, बन्द खाम भित्र
विदेशी प्रेमी बनी, घरज्वाई बनेर भित्रियो
उपहार स्वरुप लगेको आलु, रंगीन प्याकेटमा चिप्स बनाएर
हाम्रै पैसा तान्न पल्कियो ।
नविन सौन्दर्य दृष्टि पस्किदै, हाम्रा चेलीबेटी
विश्वसुन्दरी घोषित गर्ने, विज्ञापनका नाममा,
टेलिभिजन पर्दाहरुमा नङ्ग्याइरह्यो
रंगीन फिल्म देखाएर, यथार्थ भन्दा धेरै अगाडी
हिरो बनेर, मिठो सपना देखायो
हाम्रा बारीका फुलहरु, फुल्न नपाउँदै
सुम्सुम्यायो, निचोर्यो र निमोठ्यो ।
हाम्रा खेतबारीमा आफ्नो अन्नको विउ छ¥यो
हाम्रो पसिनालाई पानी बनाएर
बालीनाली उब्जाइरह्यो, विस्तारै विस्तारै
हाम्रा सारा खेत आफ्नो कब्जामा लियो ।
हामीलाई हाम्रो पसिनाले उब्जाएको अन्न
प्याकेट भित्र जोखेर, आधुनिकताको नाममा
डिब्बा बन्द संस्कारको पछि लागि
मोलमोलाई गर्न निषेध ग¥यो ।
उपहारका नाममा हाम्रा पौरखी हातहरु
इ. डि.भी. को सपना बुनेर राष्ट्रियता गलहत्याउँदै
बोइङमा उडाईरह्यो ।
‘आवश्यकता आविस्कारको जननी हो’
भन्ने अर्थशास्त्रको सिद्धान्तलाई चुनौती दिँदै
नयाँ परिकारको नाममा, हरेक नयाँ बन्द डिब्बा
किन्न वाध्य पा¥यो, त्यहि नवबजारवाद
अहिले फेरी नयाँ बजारका नाममा
हातमा तरबार, गोला, बारुद र बन्दुक लिएर
हाम्रा आफ्नै सन्तती माथि धावा बोली रहेछ ।
गोली बर्साइरहेछ, र अहिले
हाम्रो रगत चुस्दैछ ।
त्यसैले
आउ देशका लागि हात मिलाऊ
नव बजारवाद मुर्दावाद ।

हरि दहाल
धुलाबारी, झापा
e-mail: hari_thursday@yahoo.com

Thursday, November 10, 2011

भुतको कथा (म भित्रको भुत)


हाम्रो शरिरमा आउने चेतना–आत्माहरु शरिरमा आउनु भन्दा अगाडी कहाँ थिए ? आमाको पेटमा हुँदा आएको हो की ? पृथ्वीमा खसेपछि आएको ? आएको हो भने कहाँबाट आएको ? मरे पछि त्यो आत्मा कहाँ जान्छ, अरुमा सर्छ की लाससँगै खरानी हुन्छ कि शुन्य आकाशमा घुमेर बस्छ ?  भुत के हो ? कहाँ बस्छ ? कहाँबाट आउँछ ? आत्मा भुत हो ? की भुत आत्मा हो ? आत्मा भुत हो भने हामी भुत बोकेर बाँचिरहन्छौ अथवा हामी भुतलाई हुर्काइरहन्छौं आफ्नै शरिरभित्र ? फेरी भुत देख्नेहरुले पनि त फरक फरक देख्छन नी कहिले कालो कहिले सेतो, कहिले दारा पलाएको, कहिले कपाल पालेको ? कहिले घोडाको रुपमा, कहिले सुँगरको रुपमा त्यसो भए आत्माले कसरी रुप फेर्छ त ?
म केही सोच्ने बुझ्ने भैसकेपछि यस्ता प्रश्नहरुको बारेमा आफैसँग कैयौपटक सोधे । मेरा आत्माले यी प्रश्नहरुको सहि उत्तर दिन सकेन, उत्तर संन्दिग्ध नै रहन्थ्यो । बुझाई छरपष्ट भए । मनले ती बुझाईहरुलाई मौनतातिर धकेलेर गयो । मनबाट भुत भाग्न नसक्ने गरी गाडियो । भुत सम्झने वित्तिकै म, मेरा बा, छिमेकी धामी हजुरबा, चौधरी बडाबा, राईकान्छा दाई, सान्दाई, ठुली दिदी आदी सम्झीरहन्थें । 
घरमा बाले ल्याएको पानासोनिक जापानीज सेकेन्डहेण्ड रेडियोमा समाचार सून्न, अझ विविसी सुन्न गाउँका २–४ जना हरेक बेलुकी भेला हुने हाम्रो घर, समाचार अघी र पछि समाचार टिप्पणी भन्दा प्रायः घरगाउँका कुरा, अनि आफ्ना कुरामा वित्ने गथ्र्याे । त्यहि सिलसिलामा हुने भुतका कुराले मलाई चकित पा¥र्यो, डर थप्थ्यो ९–१० वर्षको म कान ठाडा पारेर सुन्थे भुतका कुरा अगेनाको कुनामा बसेर ।
एक रात मध्य साउनको बेला घरमा भोली रोपाई छ, कुलोको पानी फर्काएर अर्कैले लगेछ । कुलोमा पानी सुकेपछि बाले राति नै कुलोको मुहान जाने निधो गर्नु भएछ । कुलोको मुहान घरबाट ४५ मिनेट टाडा त्यो पनि जंगलै जंगल हिडुन्पर्ने । भोलीको रोपाहार, गोरु, हलि अनि काडेको विउ सम्झेर बा हतार हतार जंगललै जंगल हानिनु भएको विचमा पुगेपछि एउटा सुँगर पछि लागेछ । सानो टर्चलाईटको भरमा बा जति छिटो हिड्नु हुन्छ त्यो सुँगुर घरि घरि चुँ चुँ गर्दै पछि लागि रा‘ । मुहानमा पुगेपछि पानी कुलोमा फर्काएर घर फर्किएको त्यो सुँगुर फेरी त्यहि, अब त झन अघि अघि । फर्किदा त सुँगर पनि थपिएछ । घरि अघिको कराउँछ घरि पछीको । जंगल भरि बाले सुगुर पाल्ने शान्तिनगरका सार्कीहरुलाई गाली गर्दै हिड्नु भयो रे । भोली पल्ट रोपाइ सकाएर बसेको सार्कि घरमै आइपुगेछ । बाले सुगुर छोड्नुहुन्छ ? बारी तिर आउछ, करेसाबारीमा छिर्छ आज राति म कुलोमा जाँदा मेरो अघि पछि लागेर हैरान भनेर बाहुनको तुजुक देखाएको सार्कीले उल्टै यी बाहुन पनि विनासित्ती गाली गर्छन भन्दै सुँगुर घरमै भएको कुरा गरे पछि पो बल्ल बाले सम्झे उसो भए राती मलाई भुतले खेदो गरेछ । की अरुको पो सुँगुर हो की ?
त्यस रात घटेको घटनाले बालाई अहिले सम्म पनि सम्झाइ रहन्छ । भुतको कुरा निस्कियो कि कहानी शुरु । त्यसपछि पनि बा कैयौ पटक रातमा जंगलको बाटो हिड्दा फेरी कहिल्यै आएन भुत । बाको त्यस घटना सुनेपछि मलाई पनि सुँगुर देख्यो कि भुतै पो हो कि भन्ने लाथ्यो । दिनभरी पढेर र घरको काममा वित्थ्यो । जब साँझ पथ्र्यो तब मनमा भुतका कुरा आउन थाल्थे । भृुत किन हुन्छ ? भुत बाँचेर के गर्छ ? मान्छेसँग भुतको के सम्बन्ध हुन्छ ? किन मान्छेसँगै आउँछ भुत ? आदी आदी प्रश्नहरुको उत्तर पाउनको सट्टा भुतका अन्य उदाहरणहरु थपिन्थे । 
छिमेकी धामी हजुरबा जसको मलाई हरेक १५ दिनमा जरुरी प¥र्थो । वल्लो गाउँ पल्लो गाउँका कहलिएका धामी । कहिले टाउको दुख्ने कहिले बेहोस हुने, कहिले जिउ तर्सिरहने आदी उपचारमा त वहाँ मेरा देवता समान हुनुहुन्थ्यो । यसो फुकफाक ग¥यो कि ठिक भैहाल्ने । एकदिन राती धामी हजुरबालाई पल्लो गाउँबाट विरामी फुक्न लिन आएछन । धामी भए पछि नाई भन्न पनि नमिल्ने भएकोले धामीको धर्म निभाउँदै हजुरबा लुरुलुरु लागेछन । पल्लो गाउँ जान टिमाइखोला तरेर जानु पर्ने । विचमा दोभान परेको ठाउँ गाउँका मरेका मान्छेहरु त्यही जलाउने गर्थे । १५ दिन अगाडी पनि पल्लो गाउँका एकजना बाजेलाई त्यहि जलाएका थिए रे । फर्किने बेलामा जेठादाईले हजुरबालाई पु¥याउने कुरा गर्दा हजुरबाले म आफै जान्छु भैहाल्छ भनेछन र हजुरबा एक्लै फर्किएछन एउटा पुल्ठो बनाई । हजुरबा जब दोभान छेउ आइपुगे पछाडीबाट मान्छेहरु गुनगुन गरेको आवाज आएछ । यसो फर्किएका मान्छेहरु टक्रयाक टुक्रुक बसेजस्तो देखेछन । धामीहजुुरबालाई भुत भन्ने लागीहालेछ र यसो माटो टिप्न खोजेका पुल्ठो त झ्याप्पै निभेछ । चारैतिर निष्पट अध्यारो भएपछि हजुरबा लड्दै पड्दै घर आइपुग्दा सबै हिलै हिलो । 
धामी हजुरबासँग धेरै विद्या थियो । घरेलु औषधीको ज्ञान थियो । त्यही ज्ञानले धेरैको हात, खुट्टा भाँचिएको ठिक भएको थियो । धेरैले अन्य उपचार पाएका थिए । न डाक्टर चाहिने न डाक्टरको औषधी । हजुरबा नै सबै डाक्टर । हजुरबा आज धेरैचोटी पखाला लाग्यो भन्यो भने पनि यसो जंगलतिर गएका एकछिनमा ‘ल यो खा’ भन्दै आउनु हुन्थ्यो । तुरन्तै ठिक भैहाल्ने । अर्को विचित्रको कुरा बालागुरु षडानन्द रुमाल ओछ्याएर कोशी तर्छन रे भन्ने कुरा पनि त्यहि हजुरबा बाटै सुनेको मैले पहिलोचोटी । त्यहि सन्र्दभमा बाले ‘म रुप फेर्न पनि सक्छु’ भन्थे । हजुरबाले म बाघ बन्न सक्छु भनेको कुराले त मलाई धेरै बर्ष पिरोलीरह्यो । त्यस्तो विद्या मलाई पनि  सिकाउनु नी बाले । बा मर्दा त्यस्तो विद्या पनि मरेर जान्छ भन्ने लाग्थ्यो साच्चै भयो पनि त्यस्तै । बाले कसैलाइै शिष्य बनाएनन । मैले कतिपटक ‘बा घरेलु औषधीहरुको ज्ञान त मलाई दिँदा हुन्छ नी’ भन्दा ‘बेला भाको छैन’ भन्थे पछि पनि । अहिले त हजुरबा स्वर्गवास भएका पनि धेरै भैसक्यो ।
घरमा दैनिक बेलुकी भेला हुने छिमेकीहरुबाट मैले यस्ता धेरै भुतका कथाहरु सुनेको छु । भुतको कथाले मलाई सबैभन्दा बढी दिएको भनेकै डर थियोे । गाउँको घर भएकोले भान्छाघर र सुत्नेघरको धुरी पनि बेग्लै थियो । अहिले पनि साँझ परिसग्दा सबै गाउँतिर प्राय खाना खाइसकिन्छ, । खाना खाइसकेपछि मलाई भान्छाघरबाट सिँडी उक्लेर माथी जान डर लाग्थ्यो सिंडी उक्लन पनि बत्ति देखाइदिनु पर्ने र एक्लै कोठामा बसेर पढ्न त झन गाह्े त्यहि डरले सानो छँदा प्राय तराईको मध्य गर्मीमा पनि मेरो टाउको शिरक भित्र नै हुन्थ्यो । एक्लै कोठामा भयो कि शिरक ओडेर गुटुमुट । आमाले ‘पढेर बस है त’ भनेर निस्कने वित्तिकै म सिरकभित्र हुन्थे र निदाईहाल्ने । कतिचोटी त यसरी नै होमवर्क गर्न पनि पाउँदिन थिएँ ।  
भुतका धेरै कथा सुन्दै म ठुलो हुँदैथिएँ । एकदिन बजारबाट फर्किदा ठिला भयो । सानो खोला तरेर ठुलो बाँसघारीहुँदै घरजानु पर्ने । बाँसघारीमा लाग्ने डरले म एक्लै हुने वित्तिकै खोलाबाट हातमा ढुङ्गा बोकेर हिड्थे । भुत देख्यो भने पैतालाको माटो छर्कनु पर्छ भन्ने बा, धामीहजुरबाबाट धेरै चोटी सुनेको थिएँ । साँझ अथवा राती म एक्लै हिड्नु प¥यो भने त्यहि फर्मुला अपनाउँथे । त्यस दिन पनि हातमा खोलाबाटै ढुङ्गा बोकेर हिँडेको थिएँ । बाँसघारी विचमा त कालो कालो बस्तु देखियो । घरि घरि हल्लिरहन्छ । अरुबेला त्यहाँ त त्यस्तो कालो बस्तु, बुटा केही थिएन । त्यसैले मेरो  सातोपुत्लो उड्ला जस्तो भयो आङ सिरिङ्ग भयो । शरिर फुलेर आए जस्तै भयो डरविचबाट मुखबाट ‘ओई कोहो ?’ निस्किएछ । जवाफ केही आएन । मलाई अगाडी बढ्ने आँट पनि आएन । उभिएर फेरी को हो ? को हो ? भनिरहँदा पनि जवाफ नआए पछि हातको ढुङ्गाको काम आयो । ढुङ्गा हानेको बाँसमा पो लागेछ । बल्ल आवाज आयो त्यताबाट ‘ढुङ्गा हान्ने को हो ?’ भनेर । भरे आफ्नै छिमेकी दाई पो रहेछ अध्यारोमा बाँसघारीमा पाइखाना गर्न आको । धन्न ढुङाले लागेन ।

Monday, March 28, 2011

परदेशी मायालुलाई चिठी

धन कमाउने लोभमा परि
तिमी गयौ परदेश
हामी युवा खोज्दै खोज्दै
भौतारियौं स्वदेश

तिमीले सोच्यौ विदेशमा
खुब गर्ने कमाई
तै कमाइको आशामा त
तिमी भयौं पराई


तल्ला घरे ठुल्दाईले
छाडे आफ्नो प्राण
मलामी नी नभएर
कसले देला दान ?

सबै युवा पराई भर
बढ्न थाल्यो त्रास
उठ्न लाग्यो गरिबको
देशबाट बास

हिजो नि पारी गाउँको
कान्छो मरि आयो
उसको प्राण मेशिनले
निचोरेर खायो

तिमी आउँछौं भन्दै आमा
विहान बाटो कुर्छिन
बेलुकी नी साँझ पर्दा
डाँडा माथि हुन्छिन्

माया भन्दा तिम्रो कमाई
मलाई छैन प्यारो
दुःखो जिलो गरेर नै
खाउँला गिलो सारो

कालो बादल आकाशमा
चारै तिर छायो
झट्टै आउन मेरो माया
देशै डुब्न लाग्यो

झट्टै आउन मेरो माया
देशै डुब्न लाग्यो

Hari Dahal

Thursday, March 17, 2011

मेरा सर र शिक्षक

म सानो सँदा आमाले भन्थिन
नानी सर बन्नु पर्छ त्यसैले
राम्ररी पढ्नु् पर्छ
म आमाको कुरामा मौन बस्थे
किनभने, मलाई सरप्रति कुनै लगाव थिएन
आमा सोच्दथीन होला
यसले मौन स्वीकृति दिई
मेरो छोरी सर अवश्य बन्छे
म किन सर बन्नु ?
विर्सेर होमवर्क नगर्दा लाठी लगाउने
एकदिन ठिला भए घुँडा टेकाउने 
कक्षा बाहिर निस्कियो कि लाठी लगाई खेदाउने,

मेरा सर मलाई हेर्नै डरलाग्थ्यो
त्यसैले मलाई कसरी सरप्रति लगाव होस
आकर्षण होस र म सर बन्नु
हाम्रा सर डरलाग्दा थिए
उनको अगाडी हामी सधैं नतमस्तक हुनुपर्ने
शिर ठाडो पार्छन ? भनी प्रश्न गर्ने
म सोच्दथे पडाउने त शिक्षक होइन कसरी सर ?
तर जब मैले बुझँे ति साँच्चीकै सर रहेछन । 
त्यसैले होला ति सर प्रति म मा कुनै आकर्षित थिइन
र मलाई सर बन्नु पनि थिए ।

जब म ठुली भएँ मेरा साथीहरु पनि धेरै भए
अनि मेरा सर ‘सर‘ बाट शिक्षक भए झै लाग्न थाल्यो
बाटोमा टेडो आँखा पार्ने सर पनि 
मुसुक्क हास्ने शिक्षक भए
एँ तँ कहाँ हिडेकी ? म पनि उनी आइज
म पु¥याइदिन्छु , कहिले मोटर साइकल, कहिले साइकल
एकै परिवार जस्ता 
आहा हाम्रा शिक्षक

म रनभुल्लमा पर्थे
पहिला पहिल चाँही सरले किन त्यसो गरेका होलान ?
म सानो भनेर हेपेका ? कि ठुली भएँ भनेर माया गरेका ?
तै पनि मलाई आमाले भनेको कुरा याद आइरहन्थ्यो 
र घरि घरि लाग्थ्यो
म सर नभए पनि शिक्षक बन्छु त ?

मेरो उमेर बढ्दे  गयो, क्लास चढ्दै गएँ 
मेरा सरहरु सबै नै शिक्षक भइसके जस्तो लाग्न थाल्यो
मैले शिक्षकका बारेमा सुन्दै, बुझ्दै र अनुभव गर्दै गएँ 
एकदिन मेरा एउटा शिक्षक आएर
धाप दिँदै भन्नु भयो,
यो त कति राम्रो भइछ ? 
तर मलाई शिक्षकले यति राम्रो बोलेको भन्दा पनि 
धाप मार्दा तानेको बोटिस छोड्दा असर भयो
म रातो पिरो भएँ
म हाँस्नु सिवाय केहि थिएन
सोचे शिक्षक भएर पनि ..................................?
पछि पछि मैले मेरा शिक्षकबाट 
धेरै धेृरै कुराहरु थाहा पाउँदै गएँ 
सिक्दै गएँ अनि निर्णय गरेँ 
सर शिक्षक किन बन्ने ? 
आदर्शवान बन्न ? चरित्रहिन हुन ?

साथीहरु माझ शिक्षकका बारे सोधखोज गरेँ
पछि थाहा पायौं हाम्रा शिक्षक कति चरित्रवान रहेछन् ?

कोहीले मेरा साथीको गोजीबाट केही निकाल्न खोजे रे ?
आँखा चिम्म गर भनी खै के के के के गरे रे ?
धेरै ले त भने मलाई मेरो बोटिस नै चुँडियो
त्यसैले त स्कुल छोडी घर जान परिगो
हाम्रा सर त चिया बगान त्योसँग गाछ रे
आफ्नै भाईको गलफ्रेण्ड समेत भगाएर ल्याछ रे
त्यसलाई त सरले हिजो रेष्टुरेन्ट लग्यो रे
कुर्ता सुरुवाल घडी जुत्ता बजारबाट किन्द्यो रे
अर्कै सँग घुम्न जाँदा बुढी माइत गइछ रे
पछि कसम खाई उसले फकाई फुल्याइ ल्याएछ रे
उसले पनि विद्यार्थी नै भगाएर लगेछ रे
जेठी बुढी नसकेर घर छाडी गइछ रे
.                  ..........................................क्रमस


Friday, December 31, 2010

आमालाई चिठी

आमा
मलाई साह्रै दुख लाग्यो
तिम्रो खबर सुनेर,
तिम्रो सुरक्षार्थ
बाबाले पालेको कुकुर
बहुलायो  भनेर ।

आमा
मैले त उहिले नै भनेकै हो
यो कुकुर बहुलायो
यसलाई किटाणुले आक्रमण ग¥यो
अब यसले अगाडी
जे आयो त्यही टोक्छ
त्यसको एकमात्र विकल्प यसलाई मार्नु नै पर्छ

तर आमा
त्यति खेर मेरोकुरा कसले सुन्यो् र
तिमीले त्यसलाई धतुरो ख्वाएर राख्यौ
र त्यसको मृत्युलाई अझ लम्ब्यायौं
मैले यो पनि भनेको थिएँ
यसले बहुलाएर निरीह तल्लो घरको
मेरो सानो साथी भुन्टेलाई टोक्छ
मलाई आफ्नो छाक काटेर दुध दिने
बाछीलाई टोक्छ
यसले ताल परे मलाई नै टोक्छ
अनि आमा त्यतिखेर
यसले
तिमीलाई पनि छाड्ने छैन
त्यसैले यसलाई मार्नु नै पर्छ

तर । मेरो सल्ला व्यथै खेर गयो
तिमीले यसलाई मर्नबाट बचायौ
आमा ।
अहिले तिमीले नै बचाएको त्यही कुकुरले
मेरो भुन्टे साथीलाई टोक्यो रे
मलाई दुध दिने बाछीलाई टोक्यो रे
र तिमीलाई पनि झम्ट्यो रे
धन्य आमा यसले तिमीलाई टोक्न पाएन
आमा मलाई खेद छ । विगतका कुरामा
अब पनि तिमीले त्यसलाई
बाबुको नासोको रुपमा बचाई राख्न
धतुरो खुवाउने प्रयास त गर्दैछैनौ
तर आमा
अब पनि तिमीले त्यो दुस्साहस ग¥यौ भने
त्यसले मलाई पनि टोक्न पर्खने छ
र तिमीलाई पनि छोड्ने छैन
त्यसैले यसलार्य मार्नु नै पर्छ

अब आमा
तिमीले बाँच्नु छ भने
तिम्रा सन्तानलाई बचाउनु छ भने
भून्टे जस्तै साथीलाई टोक्न बचाउनु पर्छ
निरीह बाछीलाई मर्नबाट जोगाउनु पर्छ
म आउँदै छु आमा
त्यसलाई थुनी राख
कति भुक्छ भुक्न देउ
फलामका बार टोक्न देउ
टोक्ने रोग लागे पछि
त्यसका दाँत पनि आफै झर्नेछन्
तर आमा  त्यसको रोग सर्ने खतरा ज्यादै हुन्छ
त्यसैले
त्यसलाई मार्नु नै पर्छ
यसैमा हाम्रो भलो हुन्छ ।

Hari Dahal