'उसले १९ वर्षको उमेरमा भोट किनबेच गर्न लाग्यो। २५ वर्ष पुग्दानपुग्दै विभिन्न संस्थाका पद खरिद गर्न थाल्यो। यसैबीच एक-दुइटा ज्यानस्यान मार्ने काम पनि गरिसकेको थियो। २८ वर्षको उमेरमा ऊ एउटा शक्तिशाली गिरोहको डन भयो र ३० को उमेरमा त एउटा क्षेत्रको निर्विरोध नेतै भयो। पाँच वर्षपछि ऊ न्यायाधीश बन्यो भने ४० वर्षमा त सांसदै बन्यो। सहरका १० हजार नगरबासीलाई ऊ नामबाटै र २० हजार मानिसलाई अनुहारबाट चिन्थ्यो। जजसलाई उसले कल्याण गरेको थियो, तिनको फेहरिस्तमा उसका कट्टरभन्दा कट्टर शत्रु पनि थिए। एकातिर उसले आफ्ना सहकर्मीमा कोही इमानदार पनि छन् भन्ठान्ने भूल कहिल्यै गरेन, अर्कोतिर उसले पहिल्यैदेखि बेइमान व्यक्तिलाई बेइमानै मान्दै बस्ने महाभूल पनि कहिल्यै गरेन।'
यो कुनचाहिँ अपराधीको राजनीतिक यात्रा-वृत्तान्त होला? कि कुनै देशको राजनीतिक नेताको आपराधिक इतिहासको वर्णन हो? यहाँ वर्णन गरिएका राजनीतिक नेता वा आपराधिक व्यक्ति अमेरिका, भारत वा नेपालका नेता वा डन त होइनन्? होइन, वास्तवमा यो ईसापूर्वको रोमन गणतन्त्रको एक सांसदको वर्णन हो। यो दुई हजार वर्षअघि रोमन गणतन्त्रका सिनेटर लेन्टेलस ग्रेकसको इतिवृत्तान्त हो। सिनेटर ग्रेकस अमेरिकी लेखक हावर्ड फास्टको प्रसिद्ध ऐतिहासिक उपन्यास 'स्पार्टकस' को एउटा पात्र थियो। हावर्ड फास्टले सिनेटर ग्रेकसमार्फत् रोमन राजनीतिको आपराधीकरण वा अपराधको राजनीतिकरणलाई उदांग्याएका थिए। यस्तै व्यक्तिबाट सीमित वर्गको लाभका लागि चलाइन्थ्यो रोमको राजनीति। कयौं शताब्दीसम्म चलाइएको 'लाभको राजनीति'का कारण आपराधीकरण सघन भएको थियो।
रोमन ग्रेकसले चलाएको लाभको राजनीतिकै छायाँ नेपाली राजनीतिमा पनि देखिन्छ। यहाँका राजनीतिक दलमा पनि सीमित वर्गको हितका लागि राजनीतिको आपराधीकरण गर्ने वा अपराधको राजनीतिकरण गर्ने 'ग्रेकस'को खडेरी छैन। हावर्ड फास्टले एक्काइसौं शताब्दीका नेपाली 'ग्रेकस'बारे लेखे भने नेपाली गुण्डाराजको आयामबारे लेख्न पक्कै भुल्दैनथे। त्यो आयाम हो : पहिले विपक्षीलाई आक्रमण गर, त्यसपछि सबैभन्दा पहिले आक्रमणको निन्दा र दोषीमाथि कारबाहीको माग गर। पहिले मरणासन्न हुनेगरी हमला गर अनि घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना पनि गर। घाइते मरिहालेमा चिहानमा सबैभन्दा पहिले फूलको गुच्छा लिएर श्रद्धाञ्जली दिन जाऊ, नभए मृतकको घरमा पत्नीलाई पठाएर गोहीको आँसु चुहाउन लगाऊ। नेपाली गुण्डाराजले अभ्यास गरेको यस्तो 'मानवीय आयाम' स्मरणीय छ। यसको श्रेय एमालेको युथफोर्स, मोरङको जाज्वल्यमान नेतृत्वलाई जान्छ, त्यसलाई राजनीतिक संरक्षणको दोसल्ला ओढाउने वरिष्ठ र प्रभावशाली नेताहरूलाई जान्छ।
एमालेको विघठित मानिने युथफोर्स र गुण्डाराजबीचको नाता खोजकै विषय हो। युथफोर्सको राजनीति कहाँ गएर अपराधको अँध्यारो गल्लीतिर मोडिन्छ अनि अपराधको कुहीगन्धे बाटो कुन राजनीतिक मोडमा जोडिन्छ, अनुसन्धानकै विषय हो। तर अपराधलाई राजनीतिक दोसल्ला ओढाउने र राजनीतिलाई अपराधको टुकुचा बनाउने मामिलामा युथफोर्समात्रै होइन, कुनै पनि युवा संगठन र युवादस्ता पछाडि छैनन्। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणको सिकार हुने र अरूलाई पनि त्यसको सिकार बनाउनेमा युवा संगठनहरू सबैभन्दा अगाडि छन्। त्यसैले सबैभन्दा बदनाम पनि छन्। यसरी युवा राजनीतिको नदीमा अपराधको ढल मिसाएर राजनीतिलाई नै गुण्डाराज र राजनीतिक नेतालाई डनको पर्याय हुनेगरी बदनाम गर्नसक्नु पनि नेपाली 'ग्रेकस'को महान् योगदान हो। यसले युवा वर्गलाई मात्रै होइन, सामान्य जनतालाई पनि 'फोहोरी राजनीति'को टुकुचाबाट टाढै राख्न मद्दत गरेको छ र त्यही 'फोहोरी राजनीति'को आहालमा डुबेर लाभ लिन सीमित वर्गलाई असीमितरूपमा सघाएको छ। बाहुबलको राजनीति, भ्रष्टतम आचरण र आर्थिक स्वार्थपूर्तिको नीतिको सम्मिश्रणबाट बनेको 'भ्रष्ट अर्थ-राजनीति' यतिखेरको मूलधारको राजनीतिक दर्शन र अभ्यास हो।
गुण्डाराजको बिगबिगी फैलाउने र भ्रष्टाचारको कुहीगन्ध प्रसार गर्ने 'फोहोरी राजनीति'मा डुबुल्की मारेपछि पेसीमा ल्याइएका बन्दीमाथि अदालत परिसरमै भएको हिन्दी फिल्मी शैलीको सांघातिक हमला पनि पटक्कै नदेखिने रहेछ। उनीहरूका आँखामा त अदालतमा ११ राउण्ड हवाई फायर गर्नुपर्ने गरी भिडन्त गर्नु, बन्दी र प्रहरीलाई घाइते बनाउनु अनि ठेक्कापट्टा, गुण्डागर्दी र हत्यामा एकाधिकार कायम गर्नु पनि 'सार्वजनिक अपराध'मात्रै हुनेरहेछ। सबैभन्दा ठूलो अपराध हुनेरहेछ, त्यस्ता एकाधिकारी राजनीतिक संगठन वा आपराधिक गिरोहका नाइकेहरूबारे खोजपूर्ण समाचार लेख्नु। अदालत परिसरमा गरिएको सांघातिक आक्रमणबारे, त्यसमा सिकार भएका र सिकार खेल्ने आपराधिक समूहबारे समाचार लेख्ने 'नागरिक'का पत्रकार खिलानाथ ढकाललाई युथफोर्सले बिनाकसुर सजायँ दिएकै होइन रहेछ!
गुण्डाराजभित्र न्यायको अग्लो आसनमा बसेर युथफोर्सले जबर्जस्ती ठेक्कापट्टा हात पारेको र करण यादवलाई मारेको आरोप लागेका अभिषेक गिरीलाई अदालत परिसरमै सजाय दिएको थियो र न्यायको नयाँ परिभाषा लेखेको थियो- 'अबदेखि ठेक्कापट्टा, गुण्डागर्दी र हत्यामा हाम्रो समूहसँग प्रतिस्पर्धा गर्नु अपराध मानिने छ र त्यसको सजाय मृत्युदण्ड हुनेछ।' पत्रकार ढकालको टाउको, छाती र शरीरका विभिन्न भागमा पनि युथफोर्सले न्यायको नयाँ व्याख्या कुँदेको छ : 'सही समाचार लेख्ने जघन्य अपराध गरे कठोर दण्ड-सजायको भागीदार बनाइनेछ!' अरूलाई आक्रमण गर्दा हाईहाई गर्ने, आफूलाई हमला गर्दा बाईबाई गर्ने युथफोर्स र त्यसको ठूलदाजु युवा संघले अब 'नागरिक' र 'रिपब्लिका' दैनिक जलाएर एउटा अपराधलाई छोप्न अन्य धेरै अपराध गर्न सकिने वक्तव्यबाजी पनि गरेका छन्। गुण्डाराजबारे, गुण्डाराजभित्र नयाँ न्यायिक परिभाषाबारे युथफोर्स र युवा संघको माउ पार्टी एमालेको पादटिप्पणी भने बाहिर आएको छैन। यो मौन सम्मतिको लक्षण हो? वाचाल वरिष्ठ-कनिष्ठ र प्रभावशाली-अप्रभावशाली नेताहरूको बोली फुटेको छैन।
विराटनगरमा युथफोर्सले यस्तो परिभाषा कुँदिरहेकै बेला काठमाडौंको बल्खुमा युथफोर्सको माउ पार्टी एमालेमा 'पार्टीभित्र गुण्डा संस्कृति' हुर्काएको आरोप-प्रत्यारोप चलिरहेको थियो। आरोपको केन्द्रमा थिए, एमालेका 'प्रभावशाली' नेता केपी शर्मा ओली, जसले युथफोर्स जन्माउन वीर्यदान गरेका थिए। पूर्वअर्थमन्त्री तथा पोलिट्ब्युरो सदस्य सुरेन्द्र पाण्डेले ओलीलाई ठेक्कापट्टा र भन्सार नाकाबाट तस्करी गराएको, अपहरणकारीसँग मिलमतो गरेको, पार्टीभित्र गुण्डा संस्कृति बढाएको, अदृश्य स्रोतबाट आर्थिक सहयोग लिई गुटबन्दी गरेको गम्भीर आरोपबाट सुशोभित गर्दै थिए। पाण्डेले धादिङमा भएको पार्टीको कार्यक्रममा जाँदा मुन्द्रे गुण्डाहरू अघिपछि लगाएर गएको र डन चरीका नामबाट कुख्यात दिनेश अधिकारीलाई छुटाउन राजनीतिक प्रभाव प्रयोग गरेको आरोप पनि लगाएका थिए। त्यसो त केही प्रमाण नपुगेका आरोप लगाइएकाले पाण्डेले आत्मालोचना गर्नुपरेको छ। तर यस्ता आरोप-प्रत्यारोपबाट एमाले नेताबाट पनि, विशेषतः ओलीको छत्रछायाँमा 'पार्टीभित्र गुण्डा संस्कृति' हुर्केको तथ्य उजागर भएको छ।
पाण्डे-ओलीबीच भएको गाँड कोराकोरको क्रममा छर्लङ्ग देखिएको छ : चरीको नामले डनगिरी गर्ने दिनेश अधिकारी एमालेकै धादिङ जिल्लाका क्षेत्रीय उपाध्यक्ष रहेछन् र गिरफ्तार हुँदा उनलाई ओलीले एआईजी अर्जुनजंग शाहीलाई फोन गरेर छुटाएका रहेछन्। पार्टीका जिल्ला उपाध्यक्ष स्वयम् डन हुनु, उनलाई छुटाउन राजनीतिक प्रभाव प्रयोग गर्नु र त्यस्तै अन्य डनलाई पनि पार्टी, गुट र व्यक्तिको संरक्षण दिएर आपराधिक राजनीतिलाई टेवा दिनु गुण्डा संस्कृतिकै विविध आयाम हुन्। विराटनगरमा युथफोर्सका नाममा अदालतमा भएको हमला, युथफोर्स मोरङका स्वघोषित अध्यक्ष पर्शुराम बस्नेतको नाममा पत्रकारमाथि भएको आक्रमणसँगै आपराधिक क्रियाकलापलाई 'मानवीय आयाम' दिने कोसिस पनि गुण्डा संस्कृतिकै अभिव्यक्ति हुन्। संयोग हो कि नियमित प्रक्रिया हो, धादिङका 'चरी'देखि मोरङका 'भङ्गेरा'सम्मलाई राजनीतिक संरक्षण दिएकोमा ओली नै आरोपित हुनुले प्रश्न उठाएको छ : वर्ग शत्रु सफाया गर्दै लामो समय जेलनेल खाएका झापा विद्रोहका एक नायकमात्रै एमालेभित्र गुण्डा संस्कृतिका अभियन्ता हुन् र? के अब अन्य एमाले नेता पनि राजनीतिको साटो अपराधशास्त्र र भ्रष्टाचारको नीतिबाट निर्देशित र परिचालित भएकै हुन्? यस्तो 'भ्रष्ट अर्थ-राजनीति'को कुबाटोमा एमाले नेतामात्रै लागेका छन् कि कांग्रेस, माओवादी र मधेसी नेता पनि लागेका छन्?
जहाँ पुगेर जनताको राजनीतिको बाटो समाप्त हुन्छ, त्यहाँबाट सुरु हुन्छ, भुइँफुट्टे अराजनीति, अपराधको नीति, भ्रष्टाचारको नीतितिर जाने गोरेटो। राजनीतिलाई कमाइखाने भाँडोमात्रै होइन, लुटीठगीखाने धन्दा बनाउने अनीतिको घोडेटो। यस्ता भ्रष्ट अर्थराजनीतिक गोरेटो चिन्न रोमन इतिहास होइन, नेपाली राजनीतिलाई प्रभावित पार्न सफल भारतीय राजनीतिमात्रै पढे पुग्छ। भारतीय कांग्रेसका नेता महात्मा गान्धीको हत्यापछि जवाहरलाल नेहरुको नेतृत्वमा कांग्रेस सरकारले भाजपाको मातृ संगठन : राष्ट्रिय स्वयम्सेवक संघमाथि प्रतिबन्ध लगायो तर तिनै राष्ट्रिय स्वयम्सेवक संघ, हिन्दू महासभा, वर्णाश्रम स्वराज संघका साम्प्रदायिक तत्वलाई कांग्रेसले पार्टीमा भित्र्याएको थियो। गान्धीलाई मार्ने संघका सदस्यलाई समेत स्वागत गर्दै सुरसाले जस्तै मुख खोलेर कांग्रेसलाई सर्वभक्षी पार्टी बनाइएको थियो भने ब्रिटिस साम्राज्यदेखि कांग्रेसी सरकारको पक्षमा उभिएका घनश्याम दास बिडला र अन्य सीमित पुँजीपतिलाई पोस्ने 'समाजवाद' लागू गरिएको थियो। त्यही समाजवाद नेहरुपुत्री इन्दिरा गान्धीको शासनसम्म पुग्दा सेनाको बलमा 'आपातकाल'का रूपमा, इन्दिरा गान्धीका पुत्र सञ्जय गान्धीको 'गुण्डाराज'मा परिणत भएको थियो। राजतन्त्र, राजावादी पञ्च, कांग्रेस र एमालेसँगै अब माओवादीले पनि त्यही 'पुँजीपतिका लागि समाजवादी बाटो' नै रोजेका त होइनन्?
समाजवादी सिद्धान्तका प्रणेता कार्ल मार्क्स र फ्रेड्रिक एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा 'भ्रष्ट अर्थ-राजनीति'बारे लेखेका थिए, 'अब समाजका सबै नाता-सम्बन्ध आर्थिक भएका छन्। तिनका विवाद र टक्करको समाधान पनि कुनै नैतिक र वैध सत्ताद्वारा होइन, हिंसा र दमनद्वारा गरिँदैछ।' अनैतिक अवैध सत्ताको भोग अनि हिंसा र दमनको अभ्यास गर्नमा अर्थात् गुण्डाराज चलाउनमा पुँजीवादीहरू त पछि पर्ने कुरै भएनन्, सर्वहारावादी भनाउँदा पनि लंगौटी कसेर लागेका छन्। कम्युनिस्ट घोषणापत्रको भविष्यवाणीनुसार पुँजीवादी काम गर्नु र गुण्डा संस्कृति प्रदर्शन गर्नु कसरी गैरमार्क्सवादी र गैरलेनिनवादी हुँदैन? अब धादिङका चरी, विराटनगरका भङ्गेरा र तिनका संरक्षक चरीविज्ञहरू प्रधानमन्त्री-गृहमन्त्री-राज्यमन्त्री हुनु पनि जनताको बहुदलीय जनवादको उच्चतम अभ्यास हुनेछ। त्यतिखेर 'पत्रकारमाथि आक्रमण गर्ने व्यक्ति एमालेका सदस्य हुन सक्दैनन्' भन्दै बस्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल 'अभिमन्यु'को अवतारमा जबजको नयाँ भाष्य लेख्दै बस्लान्।
राजेन्द्र महर्जन
No comments:
Post a Comment