Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

Monday, March 19, 2018

पूँजीवाद, असमानता र विश्वव्यापीकरणः थोमस पिकेट्टीको ‘एक्काइसौँ शताब्दीमा पूँजी’

 - प्रभात पटनायक

पिकेट्टीकाे ‘एक्काइसौं शताब्दीमा पूँजी‘ तथ्य–आधारित उत्कृष्टकृति हो। जुन कृतिले गत तीन दशक यता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय असमानतामा आएको तीव्र वृद्धिलाई प्रश्न गर्न नसक्ने गरी स्थापित गर्ने अत्यन्त महत्वपूर्ण काम सम्पन्न गरेको छ। यसैले यस पुस्तकबारे विश्वका बौध्दिक तथा योजनाविदबाट व्यापक चर्चा परिचर्चा भइरहेकोछ । यसैक्रममा यस पुस्तकका बारे हामीले पहिलो श्रृङ्खलाका रुपमा नेपालका अर्थशास्त्री डा. प्रकाश चन्द्र लोहनीको समीक्षालाई प्रस्तुत गरेका थियौं। हेर्नुहोस् मार्क्सदेखि पिकेटीसम्म: पुँजीवादको भविष्य। र दोस्रो श्रृङ्खलाका रुपमा हामीले बेलायतका अर्थशास्त्री जोन रसबाट गरिएको पूँजीको-बनावटमा-स्वाभाविक बृद्धि प्रस्तुत गरेका थियौं। यसपटक हामीले प्रभात पटनायकको आलेखलाई तेस्रो श्रृङ्खलाका रुपमा प्रस्तुत गरेका छौं। सम्पादक)।



 १. थोमस पिकेट्टीका तर्कहरु 


थोमस पिकेट्टीद्वारा लिखित पुस्तक ‘एक्काइसौँ शताव्दीमा पूँजी’ मा केही सम्पन्न पूँजीवादी मुलुकहरुमा विगत दुइ दशक भन्दा लामो अवधिमा सम्पत्ति र आयको वितरण बारे व्यापक व्यवहारिक अनुसन्धान समेटिएको छ। मुलतः करसम्बन्धी तथ्यांकको व्यापक प्रयोगबाट पिकेट्टीले पहिलो पटक आफ्नो कृतिमा महत्वपूर्ण निष्कर्शहरु निकालेका छन्। यी निष्कर्षहरुले अन्तर्राष्ट्रिय रुपमै प्राज्ञिक वर्ग र आम जनमानसको ध्यान आकृष्ट गरेका छन्। निष्कर्षहरु आफैँमा स्पष्ट देखिन्छन्। मुख्यतः अध्ययन गरिएका प्रत्येक मुलुकको कूल सम्पत्तिमा माथिल्लो १० प्रतिशत (अथवा माथिल्लो १ प्रतिशत) हिस्साको सम्पत्तिको वितरण; यसैगरी आयको वितरण; र सम्पत्ति-आयको अनुपात जस्ता चर वा भेरिएबल्स गणना गरी पत्ता लगाइएको यु आकारको वक्ररेखा महत्वपूर्ण छ। यी प्रत्येक चर प्रथम विश्वयुद्ध ताका निकै माथि वा बढ्दो स्थितिमा रहेकोमा सन् १९४५ सम्ममा निकै तल झरेको र त्यसपछि क्रमशः बढ्दै गर्इ पछिल्ला केही दशकमा आकाशिएको पाइन्छ। सन् १९१४ देखि १९४५ बीचको अवधिमा प्रष्ट देखिएको रोकावटले के संकेत गर्दथ्यो भने पूँजीवाद अझै समतामूलक बन्दै गएको छ। त्यस्तै पैतृक सम्पत्तिको भन्दा व्यक्तिको “क्षमता”को महत्व बढ्दै गएको तथा अर्थ-सामाजिक सिँढीमा वंशज भन्दा नवआर्जित अवस्थाले स्थान पाउन थालेको आभास हुन्थ्यो। सबैजसो पूँजीवादी मुलुकहरुमा जनसंख्याको तल्लो आधा हिस्साले कहिल्यै पनि धेरथोर सम्पत्ति आफ्नो स्वामित्वमा पार्न सकेका थिएनन्, फलस्वरुप सम्पत्तिबाट आय आर्जन गर्न सकेका थिएनन्। तर सन् १९१४ देखि १९४५ को अवधिमा भने उच्च १० प्रतिशत धनाढ्यहरुमा रहेको सम्पत्तिको अंश घट्न गर्इ मध्यम वर्गको उदय हुन पुगेको थियो। पछिल्लो समयमा भने माथिल्लो १० प्रतिशतको सम्पत्ति र आयको अंश बढ्दै गएको देखिएको छ। आयकै सन्दर्भमा हेर्ने हो भने अमेरिकाको माथिल्लो दशांशले कूल आयको ९० प्रतिशत भन्दा बढी हिस्सा लिएका छन्। अमेरिकाको आय असमानता युरोपको भन्दा द्रुत गतिमा बढी सन् १९१४ पूर्वको क्रम उल्टिन पुगेको छ। कयौँ युरोपेली मुलुकमा प्रथम विश्वयुद्धको संघार ताका यस्तै अनुपात रहेको थियो। असमानताको यो क्रम भविष्यमा पनि निरन्तर रहने अनुमान पिकेट्टी गर्दछन्। सन् १९१४ देखि १९४५ को समयमा पूँजीवादले एक पछि अर्को धक्का सामना गर्नुपर्‍यो, जस्तैः युद्धकालमा भौतिक सम्पत्तिको विनाश, बोल्शेभिक क्रान्ति तथा उपनिवेशहरु अस्त (जसका प्रभावहरु १९५० को दशकसम्म कायम नै रहेका थिए) पछिका कारणहरुले विदेशी सम्पत्ति जफत, सम्पत्तिको मुल्यको मुद्रास्फितिसँग सामञ्जस्य नभएको उपभोक्ता मुल्यमा भएका उच्चदरको मुद्रास्फिति र आय तथा सम्पत्तिमा करारोपण (यद्धपि फ्रान्समा भने फ्रान्सेली राज्य क्रान्तिसँगै सम्पत्ति कर भित्रिएको थियो) को शुरुवात आदि थिए। उनको विचारमा उक्त धक्काको समयमा बाहेक सम्पत्ति-आय अनुपात, सम्पत्ति असमानता र आय असमानता सबै पूँजीमा हुने प्रतिफलको दर र अर्थतन्त्रको वृद्धिदर  बीच हुने अन्तर (r-g) सहित एकै दिशामा वृद्धि हुने विषयहरु हुन्। जब पूँजीगत प्रतिफलको दर (rate of return on capital) r ले अर्थतन्त्रको वृद्धिदर (rate of return on capital) g लार्इ उछिन्छ, सम्पत्ति राष्ट्रिय आय भन्दा उच्च दरमा बढ्न थाल्छ, सम्पत्तिमा असमानता बढ्छ, र जसले गर्दा सम्पत्तिबाट हुने आय र समग्र आयहरु सम्बन्धित सवैप्रकारका असमानताहरु बढ्दछन्। पिकेट्टीको अपेक्षा अनुसार एक्काइसौँ शताव्दीमा अतिविकसित राष्ट्रहरुको वृद्धिदर घट्दो क्रममा हुनेछ किनभने अन्य कुराका साथसाथै जनसंख्या वृद्धि कम हुनुका साथै पूँजीको प्रतिफल दर पनि घट्नेछ। यस्तो किन हुन्छ भने पूँजीले सहजै श्रमलार्इ विस्थापित गर्नसक्ने छ (जसलार्इ अर्थशास्त्रीहरु पूँजी र श्रमबीच विस्थापनको उच्च लचकताको रुपमा लिन्छन्), जहाँ पूँजी संचितीको उच्च दर जनसंख्या एवं आर्थिक वृद्धिको सुस्त बृध्दिदरसँग पूर्ण एकअर्कासँग अनुकुल हुन्छन्: पूँजीको प्रतिफल दरमा गिरावट नआउने गरी प्रति इकाइ श्रमको अनुपातमा सामान्यतया अधिक पूँजीको प्रयोग गरिन्छ। तसर्थ त्यस भिन्नता (r-g) ले आगामी केही दशकसम्म सम्पत्ति र आयको असमानता अझ बढाउने; र विश्वव्यापीकरणको लक्षण स्वरुप हाल देखा परिसकेको धनी वर्गमा लाग्दै आएको करको भार कम गर्दैजाने प्रवृत्तिले थप प्रतिकूल बनाउने देखिन्छ।

पिकेट्टी बढ्दो असमानताको प्रभावलार्इ आधारभूत रुपमा प्रजातन्त्रको विपरित हुने धारणा राख्दछन्। उनको सुझावमा सम्पत्तिमा लाग्ने करको दर उच्च राख्नु पर्ने तर कुनै एक देशले यसो गर्दा सबै पूँजी पलायन हुन सक्छ, यसकारण सम्पत्तिमा लाग्ने कर कम्तिमा धनी मुलुकहरुले समन्वयमा लगाउनु पर्ने हुन्छ। निष्कर्ष प्रस्तुत गर्ने क्रममा पिकेट्टीले निरन्तर सावधानी अपनाएको देखिन्छ। तापनि उनको अनुसन्धानले नै के देखिन्छ भने सन् १९१४-१९४५ को अवधिको जस्तो धक्काको सामना गर्न नपरेको अवस्थामा वा नियोजित वित्तीय हस्तक्षेप नभएको अवस्थामा समकालीन पूँजीवादी व्यवस्थामा सम्पत्तिको असमानता वृद्धि हुँदै जाने प्रवृत्ति अन्तरनिहित हुन्छ। यसका दुइ कारणहरु छन्: पहिलो (r-g) को तहलार्इ कायम राख्न, जससँग सम्बन्धित सम्पत्ति असमानता शुरुवाती तहको भन्दा ज्यादा हुन्छ। अर्को शव्दमा, कुनै पनि (r-g) मा सम्पत्ति असमानताको स्तर अन्ततः स्थीर रहने, असमानताको यो तह शुरुवाती तहभन्दा उच्च भर्इ सम्पत्ति असमानता तर्फको संक्रमण अवधि लम्बिन्छ। साथै, सम्पत्ति असमानता स्थीर रहने उक्त अवस्था भने आफैँमा स्वीकार्य हुन सक्तैन। उदाहरणका लागि r = 5 प्रतिशत र g = 1 प्रतिशत भएको अवस्थामा पिकेट्टीको गणनामा स्थिरता त्यतिबेला संभव हुन्छ जब माथिल्लो दशांशले कूल सम्पत्तिको ९० प्रतिशत स्वामित्वमा लिन्छन्। कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा यो स्वीकार्य हुँदैन। दोश्रो, (r-g) मा हुने वृद्धिले आगामी दशकहरुमा असमानतामा जोड दिइरहने उनी अनुमान गर्दछन्। (r-g) को भिन्नता उच्च रहेको १९१४ पूर्वको पूँजीवादको समयावधि केही समयको सुधारपछि एक्काइसौँ शताव्दिमा पुनः एक पटक बढ्ने निश्चित छ। यस्तो वृद्धि खासगरी अतिविकसित मुलुकहरु र सामान्यतया विश्वव्यापी रुपमै (किनभने जनसंख्या वृद्धिदर कम हुनेछ) देखिनेछ। फलस्वरुप सम्पत्ति र आयमा रहने असमानता थप विकराल बन्नेछ।

त्यसो त पूँजीवादमा सम्पत्तिको असमानता हुने निष्कर्ष मार्क्सवादीहरुले पनि गरेका छन्, तर स्वतन्त्र कारणहरुले गर्दा पूँजीवादमा पूँजीको केन्द्रीकरण हुने अन्तरनिहित गुण रहेको हुन्छ। त्यसैले मार्क्सवादीहरु पिकेट्टीको एक्काइसौँ शताव्दी सम्बन्धी भविष्यवाणी र अन्तरिम रुपमा विश्वव्यापी सम्पत्ति करको सुझाव (जसको कार्यान्वयन पूँजीवाद भित्र संभव देखिँदैन।) सँग समेत सहमत हुन असहज मान्दैनन्। तर मार्क्सवादीहरुको पिकेट्टीको पुस्तकसँग एउटै समस्या रहेको छः उनको व्यवहारमा आधारित कार्य प्रशंसनीय हुँदा हुँदै पनि आफ्नो तर्कको लागि प्रतिपादित सिद्धान्त भने परीक्षणमा खरो उत्रन सकेका छैनन्। उनको सिद्धान्तमा छलफल गर्नु अघि म पुर्वसंशय जनाउन आवश्यक ठान्दछु। उनको शोध प्रभावशाली छ, वास्तवमा नै प्रभावशाली हुँदाहुँदैपनि, उनका तथ्यांकहरुलाई कति गंभीरतापूर्वक लिन सकिएला हामीलाई थाहा छैन; र केवल एउटा विचार निर्माणका लागि त सारभूत अनुसन्धान जरुरी हुन्छ। यहाँ म एक उदाहरण उल्लेख गर्छु। सन् १९१४ र १९२० बीचको छोटो अवधिमा खासगरी युरोपमा पूँजी-आय अनुपातमा ठूलो गिरावट आएको थियो, जसलार्इ पिकेट्टीले अघि सारेका तत्वहरुले पर्याप्त मात्रामा व्याख्या गर्न सकेको छ जस्तो लाग्दैन। न्यून रुपमा रहेको यस्तो पूँजी-आय अनुपात आर्थिक मन्दिको अवधिमा समेत रहिरह्यो। तर आमरुपमा यो अनुपात बढ्ने अनुमान गरिएको थियो (किनकि मन्दि सँगसँगै क्षमताको प्रयोग पनि न्यून हुन्छ।) यी मामिलाहरुबारे यहाँ थप छलफल नगरी पछिल्ला अनुच्छेदहरुमा विस्तृतमा लेखाजोखा गरिनेछ। 

२. नवशास्त्रीय आयाम

 पिकेट्टीको सिद्धान्तमा दुई स्पष्ट समस्याहरु रहेका छन्: पहिलो, आधारभुत सैद्धान्तिक आयाम (“नवशास्त्रीय” आयाम) जहाँ उनले आफ्नो सिद्धान्त पुष्ट्याईं गर्न सामान्यतः पहिला नै वदनाम भइसकेका तर्कहरुका आडमा टेकेर दिएका छन्; र दोश्रो, यस आयामभित्र उनका विशिष्ट अवधारणाहरुसमेत पुष्टि नै गर्न-नसकिने मान्यताहरुमा आधारित छन्। यी समस्याहरुबारे म सिलसिलेवार चर्चा गर्नेछु। उनद्वारा प्रयुक्त आधारभूत सैद्धान्तिक आयाम अन्तर्गत १. जहाँ “उत्पादनका कारकहरु” (factors of production) मा पूर्ण रोजगारीको अवस्था रहन्छ;  यस्तो पूर्ण रोजगारीको अवस्थामा प्रत्येक “उत्पादनका कारकहरु” को पारिश्रमिक दरलाई त्यसको सीमान्त उत्पादकत्वले निर्धारण गर्दछ, अर्थात् अन्य सबै “उत्पादनका कारकहरु” को मात्रा समान रहेको काल्पनिक अवस्थामा, कुनै एक कारकको प्रत्येक अतिरिक्त इकाइले कूल उत्पादनमा पुर्‍याउन जाने योगदान; २. जहाँ प्रत्येक अवधिमा बचतको रकम सँधै लगानी गरिन्छ (“सीमान्त उत्पादकत्व”को लागि यो एक पूर्वशर्त हो।); ३. र जहाँ अर्थतन्त्र सँधै पूर्ण रोजगारीका साथ “स्थीर रुपमा वृद्धि” हुँदै जान्छ। यस्तो एकनाशको “स्थीर वृद्धि दर” अर्थशास्त्रीहरुले भन्ने गरेका ‘श्रम अभिवृद्धिकरण” (labour augmenting) को फलस्वरुप हुने वाह्य रुपमा प्रदत्त श्रमशक्तिको वृद्धिदर र वाह्यरुपमा प्रदत्त श्रम उत्पादकत्वको वृद्धिदरको योगफल बराबर हुन्छ। (छोटकरीमा यस्तो दीर्घकालीन वृद्धिदर पूर्णरुपमा वाह्य हुने र पूँजी जम्मा हुने दरमा भर नपर्ने हुन्छ; यसको विपरीत पूँजी जम्मा हुने दर वाह्य दीर्घकालीन वृद्धिदरसँग समायोजन हुन्छ।) यो आयामसँग आम अर्थशास्त्रीहरुको त कुरै नगरौं,आजका दिनमा “मूलधारे” अर्थाशास्त्रीहरु समेत सहमत देखिँदैनन्। यसले कूल मागमा हुने कमि सम्बन्धी समस्या हटाउने र अतः अर्थशास्त्रको सिद्धान्तमा समग्र केन्सियन-क्यालेक्किएन “क्रान्ति” को मान्यता राख्दछ। (हुन त उनीहरु भन्दा पहिल्यै मार्क्सले पूँजीवादमा अधिक उत्पादनको समस्या हुने संभावना औँल्याएका थिए।) श्रमशक्तिको संचित जमातको अस्तित्व समाप्त गर्छ भन्ने यसको मान्यता छ, तर मार्क्सका अनुसार संचित जमातको अभावमा पूँजीवादी व्यवस्था चल्न सक्दैन। यसको अर्को मान्यता के रहेको छ भने प्रत्येक मुलुकमा पूँजीको संचिति स्वस्फुर्त रुपमा श्रमशक्तिको वृद्धिदर सँग समायोजन हुन्छ, न कि इतिहासदेखि नै पूँजीवादले झैँ आवश्यकतानुसार आफैँ श्रमको प्राप्ति गर्न दशौँ लाख मानिसको वसारपसार गर्दछ। यसका साथै, यसले पूँजीलार्इ पनि अन्य उत्पादनको साधन जस्तै भौतिक रुपमा मापनयोग्य र मूल्ययोग (value-sum) को रुपमा लिन्छ।  पिएरो स्राफ्फा (जसको खोजलार्इ स्राफ्फा क्रान्ति पनि भनिन्छ) ले यस सिद्धान्तलार्इ शुद्धरुपमा हल गर्न नसकिने तार्किक समस्याका रुपमा औँल्याएका थिए किनकि पूँजी एक मूल्ययोग (value-sum) हो। यी तार्किक समस्याहरु केबाट उत्पन्न हुन्छन् भने पूँजीलार्इ मूल्ययोगका रुपमा मापन गरी पूँजीको सीमान्त वस्तु (marginal product of capital) पत्ता लगाउन र जसबाट नाफाको दर निर्धारण हुनसक्छ यस अघि नै हामीलार्इ उत्पादनको समविन्दु लागत (equilibrium prices of production) जानकारी हुनुपर्दछ। तर नाफाको दर निर्धारण नभएसम्म यसको पूर्व जानकारी हुन सक्दैन। अतः नाफाको दर निर्धारणका लागि यसको पूर्वजानकारी हुनु जरुरी छ। (जति कम नाफाको दर भयो त्यति नै ज्यादा दरमा श्रमको प्रति इकाइ दरमा पूँजीको मूल्ययोग बढ्दछ, किनकि सीमान्त उत्पादकत्व सिद्धान्तले साधनको सीमान्त उत्पादकत्व उपयोग गरकै अनुपातमा घट्ने मान्यता राख्दछ। र अन्त्यमा, स्राफ्फाको सामान्य रुपमा प्रकृयागत आलोचनामा सिमान्त उत्पादकत्वको सिद्धान्त पनि परेको छ जसले काल्पनिक परिवर्तनको माध्यमबाट वर्तमान यथार्थलार्इ चित्रण गरेका छन् जुन सिद्धान्ततः अवलोकन गर्न, निश्चित गर्न र जाँचबझ गर्न सकिँदैन । स्वतन्त्र प्रमाणको अभावमा अस्थित्वमा रहेकाको विचारद्वारा व्याख्या गर्न सकिन्छ, र यदि यसको अस्थित्व नभएकै भए पनि सकृय रहेको कुनै शक्तिले यसलार्इ अस्थित्वमा ल्याउने थियो। यसरी पिकेट्टीले आलोचित सैद्धान्तिक आयामलार्इ मुर्तरुप दिन खोजेका छन् जसलार्इ आधुनिक मुलधारका वृद्धिसम्बन्धी सिद्धान्त (अंतर्जात  वा आन्तरिक कारणले हुने विकास सिद्धान्त वा endogenous growth theory) ले समेत जनसंख्या वृद्धिका वावजुद पूँजी संचितिले अर्थतन्त्रको वृद्धिदर सम्भव तुल्याउँछ भन्ने आधारमा अस्वीकार गर्दछ । (यस्ता सैद्धान्तिक बहसहरुसँग उनी अपरिचित देखिन्छन् किनकि पूँजी एक मुल्ययोग भएको कारणबाट उत्पन्न हुने समस्यालार्इ कूल मागको सान्दर्भिकतासँग जोडेर भुलबस स्राफ्फाको अनुसन्धानाबारे भएको विवादको कल्पना गर्दछन् [पृ.२३०-२३१]।) वृद्धिको नवशास्त्रीय आयामलार्इ पुष्टि र स्वीकार गरेका उनले पूँजीवादलार्इ भने मागबाट निर्देशित प्रणालीका रुपमा लिएका छैनन्। बरु प्रयोगबाट सिद्ध भए झैँ मागसम्बन्धी समस्या अल्पकालमा देखिर्इ कालान्तरमा बिलाउने हुँदा पूँजीवादको दीर्घकालीन विष्लेषणमा यसको प्रभाव नरहने उनको दावी छ। यसबाट एउटा सामान्य प्रकृयागत अवधारणा उठ्छ: “दीर्घकाल” पनि लहरमा उनिएका “अल्पकालहरु”को समस्टि नै हो; अतः जबसम्म पूँजीवादलार्इ अल्पकालमा हानि पुर्याउन सक्ने कूल मागमा हुने कमिको अवस्थालार्इ प्रणालीगत रुपमै र स्वतः उल्ट्याउन सकेको देखाउन सक्छौँ, तबसम्म व्यवहारिक प्रमाणकै भरमा (मागसम्बन्धी समस्याहरु लामो समयपछि प्रष्ट रुपमा देखिन छाड्छ।) ती तथ्यलार्इ गतिशिल विष्लेषणको क्रममा नराख्न पनि सक्छौँ। उदाहरणका लागि मागसम्बन्धी समस्याका जानकार रहेकी रोजा लक्जम्बर्गको विचारमा उक्त समस्या हराइसकेको छ किनकि पूँजीवादले पूर्व पूँजीवादी क्षेत्रमा प्रवेश पाइसकेको छ। यसो हुनुको कारण आपुर्तिले आफ्नो मागको सिर्जना आफैँ गर्छ भन्ने सेको सिद्धान्त लागू हुने भएर वा प्रणालीमा निहित आफ्नै संयन्त्रको कारण भने होइन। पिकेट्टीले जस्तै माग समस्याको महत्वको स्पष्ट अभावमा यो निष्कर्ष निकाल्न सकिन्न कि प्रणाली भित्रैको संयन्त्रले यसलार्इ कालान्तरमा हटाउन सकियोस्। यसको विपरित साम्राज्यवाद वा आम रुपमा क्यालेक्कीले भने झैँ वाह्य प्रेरक (जस अन्तर्गत पूर्वपूँजीवादी बजारमा हस्तक्षेप लगायत राज्यको खर्च र “नवीनता” (innovations) पर्दछन्।) ले यसको सुस्पष्ट उपस्थितिको भूमिका निर्वाह गर्दछ। यस्तो अवस्थामा प्रणालीको दीर्घकालीन गतिशिलताको विष्लेषण सेको नियम मुताबिक नभै अल्पकालीन अवस्थाहरुको श्रृंखला बमोजिम गर्नु उपयुक्त हुन्छ। ती मागद्वारा सीमित गरिएको प्रत्येक अवस्थाको पूर्वपूँजीवादी बजारजस्ता वाह्य प्रेरकको सकृयताले गर्दा खण्डन भएको थियो। यो महत्वपूर्ण छ कि साम्राज्यवादको पिकेट्टीको विष्लेषणमा कुनै भूमिका देखिँदैन, न त सम्पत्ति र सम्पत्ति असमानताको वृद्धि वा विगतको यस्तो वृद्धि वा भविष्यको आँकलन नै। यसको विपरित उनको किताब यस्तो सोचबाट प्रभावित भएको छ कि कुनै एक भूभागमा भएको पूँजीवादी वृद्धि उक्त भूभागका सबैका लागि सामान्यतः उपलव्ध हुन्छ र यसो हुँदा अन्यत्रका व्यक्तिको अहित हुँदैन, र आमरुपमा मानव अवस्थाको सुधार गर्दै एक भूभागबाट अन्यत्र भूभागमा फैलिने प्रवृत्ति राख्दछ। यो सोचले समेट्न नसकेको के हो भने कुनै महानगरमा पूँजीवादी वृद्धि यत्रतत्रको पूर्ववत व्यवस्थाको निरन्तरतासँग सम्बन्धित हुन्छ तर अल्पविकास वा विशेष अवस्थाको विकासले आमजनतालार्इ गाँजिरहेको हुन्छ। उदाहरणका लागि उन्नाइसौँ शताव्दीको पछिल्लो चौथाइदेखि बीसौँ शताव्दीका पहिला दुइ चौथाइको अवधि (भारत स्वतन्त्रताको समयसम्म) मा ब्रिटिस इन्डियामा प्रतिव्यक्ति वास्तविक आयमा गिरावट आउनुका साथै दशौँ लाखको ज्यान जाने गरी भोकमरी समेत लागेको थियो। पिकेट्टीकै सैद्धान्तिक आयाम वा नवशास्त्रीय आयामतर्फ फर्केर हेरौँ। यस आयामका अनुसार निरन्तर बेरोजगारीलार्इ ज्याला अति उच्च भएको वा अर्को शव्दमा ट्रेड युनियनको गतिविधिको परिणामको रुपमा ब्याख्या गर्नु आवश्यक हुन्छ। रबर्ट सोलोको “श्रम बजार लचकता” र पिकेट्टीले अघि सारेको “नवशास्त्रीय” वृद्धिको मोडेल बीचको सम्बन्ध संयोगमात्र होइन। जस्तै राजस्थानमा भाजपा सरकारले स्वछन्द भर्ना र पजनीको नीति लिई ट्रेड युनियनमा आक्रमण गरेको थियो जुन केन्द्र सरकारको छनोटमा समेत नपर्ला। रोजगारी बढाउने नाउँमा ट्रेड युनियन माथिको आक्रमण गर्नु भारत लगायत संसारभरको वर्तमान कर्पोरेट पूँजीको एजेन्डा नै हो। तर सम्पत्ति असमानता प्रति चासो हुँदा हुँदै पनि पिकेट्टीले कर्पोरेट एजेन्डाप्रति समर्थन जनाउनु दुखद पक्ष हो। उनी सीमान्त उत्पादकत्वको सिद्धान्तसँग वास्तवमै जानकार रहेका छैनन्। अमेरिकाको आयमा बढ्दो असमानता बारेको उनको व्याख्या के हो भने कर्पोरेट व्यवस्थापकहरुले आफ्नो तलब निक्कै माथि हुने गरी निर्धारण गर्छन्। अर्को शव्दमा उनीहरुको तलब सीमान्त उत्पादकत्वसँग जोडिएको हुँदैन। संभवत उनको विचारमा सीमान्त उत्पादकत्वको व्याख्या उच्च व्यवस्थापकका हकमा लागू नभए पनि आम कामदारहरुका समूहमा लागू हुन्छ। तर यो गलत सावित हुन्छ। यसको आफ्नै आयाम भित्र पनि एक समूहका लागि सीमान्त उत्पादकत्वको सिद्धान्तलार्इ ध्यान नदिने हो भने यसको समग्र उपयोगिता समाप्त हुन जान्छ। कर्पोरेट व्यवस्थापकहरु आफ्नो धेरै तलब कि त नाफाबाट कि त ज्यालाबाट भरण गर्छन्। तर यसरी कुनै पनि आम्दानीको हिस्सालार्इ आफू अनुकूल गर्न सकिने मान्यता राखिने हो भने कुनै बेला श्रमिकहरुले पनि युनियनहरु परिचालन गरी नाफा वा तलबको हिस्साबाट कट्ने गरी र रोजगारीलार्इ असर नपर्ने गरी ज्याला बढाउन पर्ने माग राख्न सक्दछन्। अतः रोजगारीको अवस्थालार्इ असर नगरी सीमान्त उत्पादकत्व भन्दा माथि ज्याला बढ्न सक्दैन भन्ने सीमान्त उत्पादकत्वको सिद्धान्तको अवधारणाले पिकेट्टीको सिद्धान्तलार्इ चुनौती दिएको छ। 

३. आय वितरण र वचत अनुपात

 यस सैद्धान्तिक आयामभित्र अब पिकेट्टीका अपुष्ट मान्यताहरु बारे चर्चा गरौँ। पहिलो मान्यता अनुसार बचतको अनुपात आय वितरणसँग असम्बन्धित हुन्छ। उनी यसमा विश्वास राख्दैनन् तर जब उक्त मान्यता गणना गरिँदैन तब उनको तर्क पुष्टि गर्न नसकिने हुन्छ । धनीहरुले स्वभावतः गरीवले भन्दा बढी बचत गर्छन्; वास्तवमा गरीवले मुश्किलले केही रकम बचाउन सक्छन् किनकि पिकेट्टीका तथ्यांकले देखाए झैँ सम्पत्तिमा उनिहरुको हिस्सा नगन्य हुन्छ। अर्थशास्त्रको परंपरागत मान्यता अनुसार सबै ज्याला उपभोग गरिन्छ र सबै नाफा बचत गरिन्छ। (डेविड रिकार्डोको धारणामा सबै ज्याला उपभोग गरिन्छ र पूँजीवादीहरुको आधारभुत उपभोगका लागि केही भाग कटाइ बाँकी रहेको नाफा सबै बचत गरिन्छ।)  सामान्यीकरणका लागि मानी लिउँ कि कामदार र पूँजीवादी दुबैले आआफ्ना आयका निश्चित हिस्सा बचाउँछन्। कामदारको बचतको हिस्सा पूँजीवादीहरुको त्यस्तै हिस्सा भन्दा कम हुन्छ किनभने उनीहरु सम्पत्तिबाट पनि अन्य आम्दानी गर्न सक्छन्। दुबैले कामबाट र सम्पत्तिबाट प्राप्त गर्ने आम्दानीमा पनि यही कुरा लागू हुन्छ। (ज्याला प्राप्त नगर्ने हुनाले पूँजीवादीहरुको उक्त अनुपात सम्पत्तिबाट हुने प्राप्तिसम्म लागू हुन्छ)। अर्थशास्त्रको सिद्धान्तमा यस प्रकारको ज्ञानको भण्डार नै खोजी गरिएको र प्रख्यात निष्कर्षहरु निकालिएको छ। बचतको यही प्रवृत्ति मान्ने हो भने पिकेट्टीको सिद्धान्त तार्किक रुपमा असमांजस्य देखिन्छ: पिकेट्टीले मान्यता राखेको कुनै निरन्तरताको प्रक्षेपण, जहाँ वाह्य रुपमा समग्र वृद्धिदर श्रमशक्ति तथा श्रम उत्पादकत्वको योगफल बराबर हुन्छ (जसलार्इ संश्लेषित रुपमा “सक्षमता इकाइमा श्रमशक्तिको वृद्धिदर“ पनि भनिनेछ) र यो उनकै मान्यता बमोजिम पूँजी र श्रमबीचको प्रतिस्थापनको लचकतासँग सम्बन्धित छ (माथि हेर्नुहोस् ।) छोटकरीमा, जब समग्र बचतदर आय वितरणमा भर परेको देखिन्छ जुन प्रवुद्धरुपमा स्वीकार्य मान्यता पनि हो, पिकेट्टीको निष्कर्ष स्थीर रहन सक्दैन: वृद्धिदर वाह्य रुपमा स्थीर रहन सक्दैन, र श्रमले एकतालार्इ उछिन्छ ।३ मानौँ स्थीर वृद्धिपथको अस्थित्व छ, अर्थात् स्थीर वाह्य रुपमा प्रदत्त वृद्धिदर जसमा अर्थतन्त्र मिसिन्छ, र पिकेट्टीकै प्रतिस्थापन एकताको लचकता भन्ने अर्को मान्यता छाडिन्छ। यस प्रकारको स्थीर पथमा केवल दुइ थरिका सम्पत्ति वितरणहरु तर्कसंगत रुपमा संभव छ: एउटा जहाँ कामदारको स्वामित्वमा सम्पत्ति हुन्छ र पूँजीवादीको स्वामित्वमा केही हुँदैन। ४ अर्को जहाँ कामदार र पूजीवादीहरुबीच सम्पत्तिको वितरण स्थीर रुपमा भएको हुन्छ। पहिलो अवस्था स्वतः यथार्थको विपरीत रहेकोले ध्यान दिइरहनु परेन । इटालीका अर्थशास्त्री लुइगी पासिनेट्टी ५ ले पत्ता लगाएको दोश्रो अवस्थाको कुरा गर्दा पूँजीमा नाफादर वा r र g/sc(sc भन्नाले पूँजीवादीहरुको बचतदर ६ बराबर हुन्छ। पिकेट्टीका अनुसार r र g एक आपसमा स्वतन्त्र हुन्। तर उनले महत्व दिइरहेको स्थीर वृद्धिको दौरान यो अवस्था संभव छैन।  उदाहरणका लागि यदि एक्काइसौँ शताव्दीका लागि उनले सोचे झैँ g घटेको स्थितिमा r पनि घट्नु पर्दछ। उनको सम्पूर्ण तर्क एक्काइसौँ शताव्दीमा सम्पत्ति असमानता कम गर्ने भन्ने हो जुन g  बढ्ने, r नबढ्ने ता कि (r-g) पनि बढ्ने भन्ने मान्यतामा आधारित छ। उनका अनुसार यही नै असमानता बढाउने कारक हो। तर r तल नझरेसम्म g तल झर्न सक्दैन, यसैकारण उनको आधारभूत सैद्धान्तिक तर्क अपुष्ट हुन पुग्दछ। फेरि यो उदाहरणले स्पष्टरुपमा देखाउँछः sc को मान १ भन्दा कम भएको, r र g को “स्थीर वृद्धि” पथमा रहेको अवस्थामा एक अवधिका लागि सम्पत्ति असमानता अपरिवर्तित रहन्छ। यो स्थीर अवस्थाको चित्रण सांखिक उदाहरणबाट गरौँ। कुनै वृद्धि पथमा ज्यालाको हिस्सा ६० र नाफाको हिस्सा ४० प्रतिशत रही श्रमशक्तिमा १ प्रतिशत तथा श्रम उत्पादकत्वमा १ प्रतिशत गरी उत्पादनको वृद्धिदर २ प्रतिशत रहेछ। पूँजीवादीहरु र कामदारहरुबीच कूल पूँजीको वितरण आधाआधा रहेछ। कामदारहरुको ज्याला र नाफा मिलार्इ हुने कूल आम्दानी र उनीहरुको बचतको दर ५ प्रतिशत र पूँजीवादीहरुको नाफा मात्रैको आम्दानी र उनीहरुको बचतको दर २० प्रतिशत रहेछ। पूँजी-उत्पादन अनुपात भने ४ प्रतिशत छ। यस परिदृष्यमा कुनै दिइएको अवधिमा कूल पूँजी ४०० हुँदा उत्पादन १०० (नाफा ४० र ज्याला ६०) हुन्छ। कामदारले कूल पूँजीमा आधा हिस्सा लिने हुनाले उनीहरुको आम्दानी ८० (६० र ४० को आधा गरी) हुन्छ भने पूँजीवादीहरुको कूल आम्दानी २० (४० को आधा) हुन्छ । कामदारको बचत ८० को ५ प्रतिशत अर्थात  ४ हुन्छ, जबकि पूँजीवादीहरुको बचत २० को २० प्रतिशत अर्थात ४ हुन्छ।  उनीहरुको बचत बराबर हुने हुनाले र कूल पूँजीमा बराबर अंश हुने हुनाले बराबर दरमा वृद्धि हुन्छन्। आर्थिक वृद्धिदर २ (८ लार्इ ४ ले भाग गर्दा) प्रतिशत हुन्छ। कामदार र पूँजीवादीहरुको कूल पूँजीमा अंशको अनुपात ५०:५० भएता पनि कामदारहरुको संख्या ९० र खास पूँजीवादीहरुको संख्या १० हुन सक्छ, जसका कारण उनीहरुको वास्तविक प्रतिव्यक्ति पूँजीमा हिस्सा १:९ हुन पुग्छ; अर्को शव्दमा कामदारको परिवारको स्वामित्वमा पूँजीवादीको परिवारको दशांश मात्र रहन्छ। पिकेट्टी पुर्ख्यौली सम्पत्ति र बचतको सापेक्षिक वजन जोड दिन्छन्। तर बचतले पुर्ख्यौली सम्पत्तिको महत्वलार्इ अस्वीकार गर्दैन। मानौ कामदार र पूँजीवादीहरुको सबै सम्पत्ति आआफ्ना सन्ततिमा हस्तान्तरण हुन्छन् र उनीहरुको बचत पनि बर्षेनि सोही अनुपातमा हुँदै जान्छ। तब जनसंख्याको वृद्धि समान रुपमा भएको अवस्थामा सम्पत्तिको असमानता पनि भविष्य पर्यन्त सोही अनुरुप कायमै रहन्छ। बचतले पुस्तौनी सम्पत्तिमा थप गर्दछ, र त्यो सबै सन्ततिमा सर्दछ। त्यसैले उनीहरुको सामर्थ्य फरक फरक हुन्छ जसलार्इ न्यायिक मान्न सकिँदैन। वास्तवमा बालबालिकाले औपचारिक रुपमा पुस्तौनी सम्पत्ति हासिल गर्नुपुर्व नै केही अधिकारहरु प्राप्त गरेका हुन्छन् जसका बारेमा चर्चा गरिरहनु परेन । पूँजीवादी वा कामदार जोसुकैको परिवार जसको आकार वार्षिक एक प्रतिशतले बढिरहेको हुन्छ र जुनसुकै श्रोतबाट भए पनि दिइएको अनुपातमा उनीहरुको आम्दानी उपभोग र बचतमा विभाजन हुने हामी कल्पना गर्न सक्छौँ। अर्को शव्दमा भन्दा पुस्तौनी हस्तान्तरणको सापेक्षमा बचत धेरै हुन्छ भन्ने धारणा त्यस बेला कमजोर ठहरिन्छ जुन बेला सम्पत्ति असमानता घट्छ। माथिको उदाहरणमा बचतदर आमरुपमा २५ प्रतिशत बढेको अर्थात पूँजीवादीहरुले २० प्रतिशतको सट्टा २५ प्रतिशत बचाउँछन् र कामदारले ५ प्रतिशतको सट्टा ६.५ प्रतिशत बचाउँछन् भन्ने अनुमान गरौँ। मानौँ नाफा र ज्यालाको हिस्सामा उत्पादनको मान निश्चित भएको वा ती हिस्साहरु आआफ्ना सौदा गर्ने क्षमताले निर्धारण गरेको अवस्थामा कुनै परिवर्तन आउँदैन, र त्यो परिवर्तन हुँदैन; अथवा उत्पादन कृया वा “production function” आफैँमा आय भिन्न सीमान्त उत्पादकत्वले निर्धारित हुन्छ। यस्तो अवस्थामा ज्याला र नाफाको हिस्सा परिवर्तन हुँदैन (त्यस्तो उत्पादन कृयालार्इ उनीहरुकै नामबाट राखिएको “कब-डगलस उत्पादन कृया” नामले पनि चिनिन्छ र यसको प्रयोग नवशास्त्रीय सैद्धान्तिक मोडेलहरुमा भएको पाइन्छ। तब सोही वृद्धिदर सहितको नयाँ “स्थीर अवस्था” मा पूँजी-उत्पादन अनुपात २५ प्रतिशतले बृद्धि हुँदा७ नाफाको दर पनि २५ प्रतिशतले नै घटेको हुनसक्छ। तर कामदार र पूँजीवादी परिवारहरुको स्वामीत्वमा रहेको सम्पत्ति असमानता भने १:९ मै रहन्छ। अर्को शव्दमा बचत दर बढ्दा समेत सो असमानता अपरिवर्तनीय रहन्छ। 

४. पूँजीको गतिशीलता 


यस पछि सैद्धान्तिक धरातल समेतमै स्पष्ट देखिने पिक्ट्टीको तर्कको दोश्रो समस्या तर्फ जाऔँ। यो प्रत्येक मुलुकको पूँजी स्वदेश भित्र मात्रै लगानी गरिन्छ भन्ने मान्यतामा आधारित छ। कुनै मुलुक वृद्धिदर त्यहाँको सक्षमता इकाइमा रहेका जनसंख्याको वृद्धिदरले मात्र निर्धारण गर्छ भन्ने मान्यता आफैँमा यथार्थपरक छैन। श्रमको अभावलार्इ सीमापार रोजगारीमा जानेहरुले पुर्ति गर्न सक्छन् भन्ने तथ्य बिर्सन सकिँदैन। वैदेशिक रोजगारीको यथार्थ हाम्रो सामु हुँदाहुँदै यस प्रकारको निष्कर्ष लागू गर्नु तार्किक रुपमा गलत ठहरिनेछ।

पिकेट्टीको मान्यता हुन सक्छ ऐतिहासिक रुपमा पहिलो र तेश्रो विश्वबीच हुने बसाइसराइ नगन्य थियो: तेश्रो विश्वबाट पहिलो विश्वमा श्रम र पहिलो विश्वबाट तेश्रो विश्वमा पूँजी स्वतन्त्ररुपमा बहिर्गमन भएको थिएन। तर किन भएन भन्न् प्रश्न उठ्छ। “कुनै अमुक कुकुर नभुकेको” भन्ने जस्तो यस प्रश्नसँगै सैद्धान्तिक विष्लेषण हुनु जरुरी छ। विश्वव्यापीकरणको युगमा पूँजी इतिहासमै सबैभन्दा धेरै चलायमान हुन पुगेको छ। वास्तवमा औपनिवेशिक कालखण्डको परिचय नै विश्वव्यापी अर्थतन्त्रको खण्डीकरण हो। यस्तो अवस्थामा कानूनी अडचन नहुँदा नहुँनै पनि सिमित रुपमा वृक्षारपण र खानी उद्योगमा बाहेक अन्य क्षेत्रमा विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा पूँजी सहजरुपमा प्रवाह हुन सकेन; र श्रम पनि विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा सहज रुपमा प्रवेश गर्ने वातावरण थिएन। श्रम त अहिलेसम्म पनि सजिलै विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा प्रवाह हुन सकेको छैन, तर सोही दिशामा पूँजीको प्रवाह भने तुलनात्मक रुपमा औद्योगिक लगायत अन्य क्षेत्रहरुमा प्रवाह भइरहेको छ। तर एक्काइसौँ शताव्दीसम्म आइपुग्दा सम्पन्न विश्वमा जनसंख्या वृद्धिमा भएको कमिले ती मुलुकहरुको पूँजीमा ठूलो प्रभाव पर्ने देखिन्छ। ती मुलुकहरुमा न्युन जनसंख्या वृद्धिका कारण हुने श्रम आपुर्तिको समस्याका वावजुद पूँजी संकलन हुने क्रम बढिरहन्छ। श्रमशक्तिको संचिति रहेको तेश्रो विश्वका अर्थतन्त्रमा स्थानान्तरण गर्न सक्दछन्। (त्यो श्रम संचितिको सिर्जना पनि विकसित अर्थतन्त्रबाट हुने तयारी उत्पादनको ठूलो निर्यातको अतिक्रमणबाट नै भएको हो जसले अ-औद्योगीकरणका माध्यमबाट स्थानीय पूर्व-पूँजीवादी उत्पादकहरुलार्इ विस्थापन गर्‍यो। यसै हुन्छ भन्ने पक्षमा नभए पनि यो संभावनालार्इ पिकेट्टीको तर्कको सन्दर्भमा विचार गर्नुपर्ने देखिन्छ। तब प्रश्न उठ्छ: पूँजीको यस वितरणले तेश्रो विश्वमा रहेको श्रम संचितिलार्इ धारण गर्न सक्छ? पूर्ण रोजगारीको कल्पना गरेका  पिकेट्टीले यस प्रश्नलार्इ भने संवोधन गरेका छैनन्। तर कल्पनाको दुनियाँबाट बाहिरिँदा यस वास्तविकतालार्इ स्वकार्नै पर्छ कि उच्च वृद्धिदर भएका भारत जस्ता देशहरुमा पनि श्रम संचितिको अवस्था उच्च नै छ । (स्मरण भित्रको इतिहासमा पुर्व समाजवादी देशहरु मात्र यसका उदाहरण हुन् जहाँ वृद्धिले श्रम अभावको गंभीर स्थिति नआउने एक विन्दुसम्म श्रम संचितिलार्इ समेट्न सक्यो। ठुला शहरहरुमा पूँजीवादका कारण भएको पूँजी संचिति समाप्त नगरी हदैसम्म उपयोग भएको थियो भन्ने तथ्य मुख्य गरी युरोपबाट अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड जस्ता रम्य भूभाग तर्फ भएको ठूलो बसाइसराइ को परिणाम थियो।८) अब, समुन्नत पूँजीवादी देशबाट तेश्रो विश्वमा ठूलो परिणाममा पूँजीको स्थानान्तरण हुँदा उनीहरुले पूँजीको प्रतिफल दर स्वदेशी वृद्धिदर भन्दा माथि राख्छन्। तर यसको कारण भने पिकेट्टीले सुझाए भन्दा फरक छ। यसको कारण उनले भने झै “उत्पादन कृया”का साथसाथै कुनै इकाइ भन्दा ठूलो दरमा हुने श्रम र पूँजीबीचको लचकता नभै पूँजीको विश्वव्यापीकरणसँग सम्बन्धित छ। यदि ठुला शहरहरुबाट तेश्रो विश्वमा हुने पूँजी वहिर्गमनको यो कृयालार्इ श्रम संचिति समाप्त नहुने संभावनाका साथ मनन गरिएन भने त्यस्तो समाप्तिबाट सम्पत्ति र आय असमानतामा पर्ने प्रभाव गहिरो हुनेछ। 

५. विश्वव्यापीकरण र सम्पत्तिको असमानता 

विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा हुने पूँजी पलायनका कारण औपनिवशिक कालखण्डमा अस्थित्वमा रहेको विश्व अर्थतन्त्रको खण्डीकरण समाप्त भएको छ। यसले के जनाउँछ भने सम्पन्न देशमा श्रमिकको ज्यालादर अब उप्रान्त तेश्रो विश्वमा रहेको श्रम संचितिद्वारा प्रभावित हुन्छ। तेश्रो विश्वको ज्यालादरसँग प्रतिश्पर्धा गर्नका लागि नघटे पनि बढ्न भने निश्चय पनि बढ्दैनन्। तेश्रो विश्वमा रहेको श्रम संचिति समाप्त नभएसम्म विश्वमा श्रम उत्पादकत्व बढेको अवस्थामा समेत वास्तविक ज्यालादर नबढ्ने शक्ति रहिरहन्छ। यसको अर्थ हुन्छ विश्वको कूल उत्पादनमा ज्यालाको हिस्सा घट्दै गर्इ बचतको हिस्सा भने बढ्नेछ। जब बचतबाट हुने आयको बचत दर ज्यालाबाट हुने आयको बचतदर भन्दा बढी हुन्छ, यस्तो पुनर्वितरण प्रकृयाले “अल्प-उपभोग” प्रवृत्तिमा बढावा दिर्इ समग्र विश्व अर्थतन्त्रमा गतिहिनताको प्रभाव पर्दछ। तर तर्ककै लागि मानिलिउँ वास्तविक गतिहिनता रहेको हुँदैन किनभने प्रविधिमा आएको परिवर्तनले “पूँजी गहनता”को प्रवृत्ति निम्त्याउँछ, अर्थात समयान्तरमा पूँजी उत्पादन अनुपात बढ्नका लागि लेनिन र टुगान-बारानोभ्स्कीले औँल्याए झैँ यो गतिहिनताको प्रवृत्तिको प्रतिकार गर्न सकिन्छ। अर्को शव्दमा परस्पर विपरीत दिशामा फर्केका यी दुर्इ शक्तिहरुले एक अर्कालार्इ सन्तुलित गरेका मान्न सकिन्छ। वास्तविक जिवनमा यस्तो अवस्था आउन जरुरी नभए पनि यो वास्तवमै लागू नहुने प्रकारको अवस्था हो। यसले तल दिइएको तर्कलार्इ अप्रभावी नबनाए पनि आइपर्ने स्थितिलार्इ पूर्ववोध गर्न भने जटिल तुल्याउँछ। त्यस जटिलतालार्इ ध्यानमा नराखी हामी विश्वव्यापी आर्थिक वृद्धिदर g को स्तरमा स्थीर भएको मान्यता राख्छौँ। यसको निर्धारण संचितिको गतिले हुन्छ भने सक्षमता इकाइका आधारमा हुने विश्वव्यापी श्रमशक्तिको वृद्धिदरसँग भने सम्बन्ध राख्दैन। यस्तो अवस्थाको चित्रण गरी हेरौँ। वृद्धिको यही दरमा विश्वको श्रम संचिति सापेक्षिक रुपमा घट्नै पर्छ भन्ने छैन। श्रम उत्पादकत्वको वृद्धिदर p यस्तो अवस्थामा रहन्छ जहाँ श्रमको मागमा हुने वृद्धि (g-p) श्रम आपुर्तिको वृद्धिदर भन्दा कम रहन्छ। फलस्वरुप विश्वको श्रम संचिति समाप्त भएर जाँदैन बरु सापेक्षिक आकारमा बढ्न थाल्छ। भारत जस्तो तेश्रो विश्वका मुलुकमा बेरोजगारीकै अवस्थामा हुने उच्च वृद्धिदरको अनुभवले यस संभावनाको विश्वसनीयता देखाउँछ। र विश्वको जनसंख्या वृद्धिदर केही सुस्त भए पनि कूल श्रम संचितिमा भने खास असर पर्दैन। कूल श्रम संचिति समाप्त नहुने अवस्थाले केवल आय असमानता बढ्ने कुरा मात्र जनाउँदैन (समयान्तरमा ज्यालालार्इ असर पर्ने गरी बचत अंक बढ्ने हुँदा), बरु सम्पत्ती असमानता बढ्न गर्इ आय असमानतालार्इ झनै खराब स्थिति निम्त्याउँछ। यस्तो अवस्थामा सम्पत्तिको असमानता बढ्ने सामान्य कारण छ। जब कामदारको आय पूँजीवादीहरुको आय (कामदारको पनि केही सम्पत्तीमा हक हुने भएता पनि) भन्दा कम दरमा वृद्धि हुन्छ, र बचत दरमा पनि यही नियम लागू हुन्छ। यसरी हासिल भएको बचतले सम्पत्तीकै आकार ठूलो बनाउने हुँदा पूँजीवादीहरुको सम्पत्ती कामदारहरुको भन्दा छिटो दरमा बढ्दछ। अतः कामदार र पूँजीवादीहरुको सम्पत्तिको हिस्सा लामो समयसम्म एकनासको रहन्छ भन्ने प्यासिनेट्टीको दृष्टिकोण भन्दा पृथक चित्र पाउँछौ; जहाँ सम्पत्ती असमानता बढ्दो क्रममा रहेको हुन्छ।  सम्पत्ती असमानताको यो अवस्था विश्वव्यापी रुपमा मात्र नभै राष्ट्रिय रुपमा स्पष्ट देखिन्छ किनभने बचतका हिस्साहरुको वितरण यत्रतत्र रुपमा भएको हुन्छ। जब यो श्रोतबाट सम्पत्ती असमानतामा योगदान पुग्छ, मार्क्सले भने झैँ “प्राथमिक पूँजी संचिति”को प्रकृयाबाट किसान र परंपरागत उत्पादकहरुको स्वामीत्वविहिनताका कारण पनि अतिरिक्त रुपमा असमानता सिर्जना हुने गर्दछ (विश्वव्यापीकरणको यो चरणमा यस्तो अवस्था देखिइसकेको छ।)। त्यस्तै असमानताको अर्को कारकमा “पूँजीको केन्द्रीकरण” पनि हो। निचोडमा सम्पत्ती असमानताको वृद्धि निश्चय नै अवस्यमभावी छ। पूँजीको केन्द्रीकरण अर्थात नयाँ प्रविधि भित्र्याउने उत्कृष्ठ क्षमताका कारण ठूला पूँजीले साना पूँजीलार्इ धपाउँछ (बैंक वा वित्त बजारमा हुने पूँजीको एकत्रीकरण बाहेक) भन्ने बारे मार्क्सले विश्लेषण गरेका थिए। यस माध्यमको व्यवहारवादी महत्व जतिसुकै भए पनि दुर्इ थप माध्यमहरु भने महत्वपूर्ण नै छन्। एउटा हो ठूला पूँजीको उच्च प्रतिफल हुने संभावित लगानी परियोजनाहरुबारे जानकारी पाउने क्षमता; साना व्यवसायीहरुको तूलनामा ठूलाले यस्तो कार्य विश्वव्यापी अभियानकै रुपमा गर्न सक्दछन्। अर्को हो प्रतिफल दरको अन्तर सानाको तूलनामा ठूला पूँजीमा कम हुने तथ्य, जसको अर्थ हुन्छ संकटको स्थितिमा ठूला पूँजीमा निरन्तर रुपमा कायम रहिरहन सक्ने शक्ति रहन्छ। माथि गरिएको चर्चाबाट दुर्इ निचोडहरु निस्कन्छन्: पहिलो, पिकेट्टीको परिकल्पना जस्तै सम्पत्ति र आयको असमानता आउँदा वर्षहरुमा उच्चदरमा बढ्ने निश्चित छ। दोश्रो, पिकेट्टीले लिएको धारणाको विपरित विश्वव्यापी जनसंख्या वृद्धिदर घट्न जाँदा  विश्व श्रम बजारमा संकुचन आउँछ (जसले उत्पादनको वृद्धिदरमा असर पार्दछ।)। तर संकुचन आउने कारण भने स्पष्ट रुपमा विपरीत छः विश्व श्रम बजारमा संकुचन वा कमिको स्थिति रहँदैन जसले गर्दा श्रम उत्पादकत्व बढ्दा समेत वास्तविक ज्यालादर बढ्ने प्रवृत्ति देखिँदैन। विश्वको बढ्दो सम्पत्ति र आय असमानता हाल देखिइरहेको विश्वव्यापीकरणको लहरसँग स्पष्ट रुपमा अन्तरसम्बन्धित छन्। 


६. निश्कर्ष


संक्रमणकालीन मागका रुपमा सम्पत्तिमा करारोपण सम्बन्धी पिकेट्टीको सुझावमा प्रश्न उठाउने ठाउँ देखिँदैन। “संक्रमणकालीन माग” भन्नुको अर्थ संसारभरको सार्वजनिक धारणामात्र नभएर सम्पत्ति असमानता विरुद्ध वर्गीय प्रतिकार समेतको शक्ति परिचालन नगरी यसलार्इ हासिल गर्न संभवतः सकिँदैन। यसका लागि सचेतना अभिवृद्धि गर्ने माग उपयोगी देखिन्छ; तर ठीक त्यस बेला जब त्यस्तो परिचालनको व्यापकता सम्पत्ति करको क्षेत्रमा समेत प्रभाव पार्न सक्ने हुनु पर्दछ। त्यस्तो परिचालन जनताको मागको पक्षलार्इ सम्पत्ति करको क्षेत्रको प्रतिस्थापन मात्र नभर्इ अन्ततः पूँजीवादी प्रणाली नै समाप्त पार्न सक्ने हुनुपर्छ। प्रगतिशील सम्पत्ति कर जस्ता मागहरुको दुखद अन्त भनेको अर्थात वृहद परिचालनको आवश्यकता बिना नै वा सजिलै पूरा गर्न सकिने अवस्थामा मात्र तिनले खास अर्थ (गैरसंक्रमणकालीन मागहरुका रुपमा) राख्दछन्। तर ती सजिलै पूरा हुने होइनन् किनकि वृहद परिचालनको व्यवहारमा संभव हुँदैन। यो परिचालनले केवल मागलार्इ सम्पत्ति कर भन्दा केही पर मात्र धकेल्छ। मिखाल क्यालेक्कीले सन् १९३७ मै सिद्ध गरिसकेका थिए कि समाजमा असमानता हटाउन लगाइने पूँजी कर सरकारी खर्च बढार्इ अर्थतन्त्रमा रोजगारी बढाउने उत्तम उपाय थियो। उनले आफ्नो निवन्धको निचोडमा भनेका थिएः “यस प्रयोजनका लागि ठूलो परिणाममा पूँजी कर लगाइने कुरामा विश्वास गर्न कठीन हुन्छ; किनभने व्यक्तिगत सम्पत्तिको सिद्धान्तलार्इ अवमुल्यन गर्दछ ।९ उनले जोन रबिन्सनको यो गहिरो भनार्इको उद्धरण गरेका थिए: “पूँजीवादी प्रणालीको मुख्य कमि कमजोरीलार्इ सुधार्न सक्ने शक्ति र मनसाय भएको कुनै पनि सरकारले यसलार्इ समाप्त नै पार्ने इच्छाशक्ति राख्न सक्नु पर्दछ। तर पूँजीवादी प्रणालीलार्इ कायमै राख्न सक्ने शक्ति भएका सरकारहरुसँग भने यसका कमिहरुलार्इ सुधार गर्ने मनसाय भने कहिल्यै भएन ।”१०  पिकेट्टीको किताब अध्ययन गर्ने क्रममा जोन रबिन्सनको यो आधारभुत दर्शनलार्इ बिर्सनु हुँदैन। नोटः १ नाफाको घट्दो प्रवृत्तिबारे मार्क्सको धारणाबारे पिकेट्टीको व्याख्याबाट थाहा हुन्छ कि उनमा मार्क्सद्वारा यस सम्बन्धमा लेखिएका अनगिन्ती कृतिहरु प्रति कम जानकारी रहेछ। २ प्रतिव्यक्ति वास्तविक आयमा संकुचन त्यति बेला हुन्छ जब एफ.जे. एट्किन्सन र एस. शिभसुब्रमन्यमले गरेका अनुमानहरुलार्इ एकै स्थानमा राखेर हेर्छौँ। यी तथ्यहरु Irfan Habib, A People’s History of India, Volume 28, Tulika Books, Delhi, 2006; र S. Sivasubramaniam, The National Income of India in the Twentieth Century, Oxford University Press, Delhi, 2000 मा पाउन सकिन्छ । ३ बचतको अनुपात आय वितरणमा भर नपर्ने भए पनि, उत्पादन कृया इकाइ भन्दा बढी रहो अवस्थामा प्रतिस्थापनको लचकता निरन्तर हुने वृद्धिपथको अस्थित्व हुँदैन। अर्को शव्दमा पिकेट्टीको आफ्नै मान्यताहरुमा उनले सोचेको यस प्रकारको निरन्तर वृद्धिको स्थितको अस्थित्व नहुन सक्छ; तर यदि बचत दर आय वितरणमा भर पर्ने अवस्था हुने र त्यस्तो संभावना रहने हो भने त्यो अस्थिर रुपमा रहन सक्छ। यसरी यसको पथबाट हुने बहिर्गमनले थप बहिर्गमनको अवस्था ल्यार्इ विष्लेषणको प्रयोजनको लागि महत्वहिन बन्न पुग्छ। ४ MIT का अर्थशास्त्रीहरु पल सामेल्सन र फ्रान्को मोडिग्ल्यानीले सर्वप्रथम दृष्टिगोचर गरेको यो अवस्थाको तर्कपछि प्रभात पटनायकले On Wealth and Income Inequalities People’s Democracy, January 26, 2014 मा प्रस्तुत गरी www.networkideas.org मा समेत राखिएको छ। ५ एल.एल. प्यासीनेट्टीको L.L. Pasinetti, “Rate of Profit and Income Distribution in Relation to the Rate of Economic Growth”, Review of Economic Studies, October 1962। ६ पिकेट्टीको पुनरावलोकन गर्ने क्रममा लानस टेलरले एउटा तेश्रो तर्कको रुपमा गैर-प्यासीनेट्टीको समबिन्दुको परिकल्पान गरेका छन्। यसमा कामदार र पूँजीवादीहरुको सम्पत्तिको-अंशहरु तथापि केही समय स्थीर रहन्छ। तर उनी पूर्ण रोजगारी नभर्इ संचितिको स्वतन्त्ररुपमा निर्धारित हुने दरको अस्थित्वको मान्यता राख्छन् (तल दिइए झैँ), तर अर्थतन्त्रमा उपयोग क्षमतामा वृद्धि भएसँगै ज्यालाको अंशमा पनि वृद्धि हुन्छ।  उनले उल्लेख गरेका दुइवटा मात्र समबिन्दुहरुमा सिमित रही यथार्थता माथि नै प्रश्न उठ्ने प्रकारको मान्यता राख्न सकिन्न। ७ Coefficients वा चरहरु निश्चित भएको अवस्थामा यसरी कटौति गरिएको उपयोग क्षमताबाट गरिन्छ। ८ आप्रवासन बारेको छलफलको लागि हेर्नुहोस Utsa Patnaik, ‘Capitalism and the Production of Poverty’, T G Narayanan Lecture, Social Scientist Vol. 40 Nos.1-2, Jan.-Feb. 2012। ९ एम क्यालेक्कीको M. Kalecki, “A Theory of Commodity, Income and Capital Taxation” in Selected Essays on the Dynamics of the Capitalist Economy 1933-1970, Cambridge University Press, Cambridge, 1971। १० जोन रबिन्सनको भनार्इ आर.एफ. ह्यार्रोडको पुस्तक The Trade Cycle मा प्रकाशित उनको पुनरावलोकनमा उल्लेख भएको थियो जुन The Economic Journal, December 1936 मा पनि उपलव्ध छ।

Source: http://www.nepalreaders.com

अबको राजनीति अर्थराजनीति

khim lal
 खिमलाल देवकोटा
कुनैबेला पँुजीवादी र समाजवादी धुरीमा विभाजित विश्व यतिबेला अमेरिकाले नेतृत्व गरेको क्रिश्चियानिटी र त्यसलाई काउण्टर गर्ने इस्लामिक स्टेटमा विभाजित छ ।  पुँजीवाद उदारवाद हुँदै नव उदारवादमा पुगेको एकाथरी विश्वले धनी र गरिबको खाडल नराम्ररी गहिरो बनाएको छ ।  विश्वकै आधा जनसंख्या झण्डै साढे तीन अरब जनतासँग भए बराबरको सम्पत्ति संसारका धनाढ्य मध्यका जम्मा ६२ जनाको हातमा केन्द्रित छ आर्थिक वृद्धिको ९९ प्रतिशत हिस्सा एक प्रतिशत व्यक्तिले कब्जा गर्दछन् भने बाँकी ९९ प्रतिशत जनताले जम्मा एक प्रतिशत आर्थिक वृद्धि दरमा चित्त बुझाउन बाध्य छन् ।  यो सबै पुँजीवादको उपज हो ।  जसले दिगो शान्ति र विकास धेरै टाढाको कुरा बनेको छ ।  ठीक यसैगरी राज्य नियन्त्रित समाजवादी सत्ताहरू पनि सफल हुन सकेनन् ।  समाजवादी सत्ताहरूको पुँजीवादीकरण र पुँजीवादी सत्ताहरूको समाजवादीकरण आजको यथार्थ हो ।  यसो गरेर भए पनि आफ्नो अस्तित्व धान्न उनीहरूले प्रयत्न गरेको बुझिन्छ ।  यही नै यतिबेलाको विश्व राजनीतिको समसामयिक प्रवृत्ति बन्न पुगेको छ । 
उपयुक्त धारबाट नेपाल अछुतो रहनसक्ने कुरा भएन ।  अझ नेपाली राजनीति सामन्ती चरणबाट भर्खर पुँजीवादी चरणमा प्रवेश गर्दै गरेका कारणले सामन्तवादका अवशेषहरू पनि पूर्ण रूपमा अन्त भैसकेका छैनन् भने पुँजीवादी स्वरूप पनि पूर्णतः ग्रहण गरिसकेको अवस्था छैन ।  यसो हुँदा नेपाली राजनीति झन् ठिमाहा अवस्थामा जकडिन पुगेको छ ।  यस्तो ठिमाहा राजनीतिलाई शुद्धिकरण गरेर अघि बढाउन सहज काम पक्कै हुने छैन ।
यतिबेलाको राजनीति व्यापार केन्द्रित बन्न पुगेको छ ।  राजनीतिक दर्शन सिद्धान्त आदर्श र मान्यता अलग अलग भए पनि व्यापारिक मामलामा व्यापारिक नाफा वा घाटाका कारणले विपरीत ध्रुवहरू पनि एक ठाउँमा मिल्न आइपुगेका र समान दर्शन मान्यता र आदर्श भएकाहरू पनि भिन्न दूरीमा उभिएका परिघटनाहरू पनि रहेका छन् ।  त्यसैले यतिबेलाको राजनीतिक दर्शन भनेकै व्यापार बन्न पुगेको छ ।  राजनीतिक दर्शनको संकट परेका कारण दर्शनको स्थान धर्मले लिएको र राजनीतिको स्थान व्यापारले लिएको अवस्था छ ।  यस्तो अवस्थामा विश्वलाई नै दिशा निर्देश गर्ने गरी राजनीतिक दर्शनको विकास गर्ने अभिभारा यतिबेला छ भने सँगसँगै मुलुकका लागि व्यावहारिक र वैज्ञानिक राजनीतिको विकास गर्नु पनि आजको कार्यभार बन्न पुगेको छ ।
उपर्युक्त निष्कर्षका आधारमा विश्वमा र नेपालमा पनि परम्परागत राजनीतिको औचित्य विस्तारै समाप्तिको दिशातर्फ र वैकल्पिक राजनीतिको आवश्यकता बोधतर्फ समाज डोरिएको प्रस्ट देख्न सकिन्छ ।  यो निष्कर्षलाई मान्ने हो भने विश्वका सन्दर्भमा आजको समाज सुहाउँदो राजनैतिक दर्शनको विकास गर्न जरुरी छ भने नेपालको सन्दर्भमा भौगोलिक एकीकरणको चरण र अधिकार प्राप्तिको चरण पार गरेर भर्खरै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको समाज सुहाउँदो राजनीतिको आविश्कार गर्न जरुरी छ ।  यस प्रयोजनका लागि नेपाली समाज जो भर्खरै सामन्तवादी चरणबाट पुँजीवादी चरणमा प्रवेश गरेको छ ।  यो चरणका आफ्नै विशेषताका कारणले मानिसहरूको मनोविज्ञान राजनैतिक दल र तिनका नेताहरूको स्तर औकात र हैसियत सहित आफ्ना सीमामा कैद छन् ।  समय २१ औ शताब्दीको हुँदा हुँदै पनि नेपाली समाजको चरणको सीमाका कारणले अपेक्षित संस्कार हामी पाउन सक्दैनौ ।  यसका साथै टुक्रे कृषि उत्पादन प्रणाली, निम्नपुँजीवादी चेतनाले पैदा गर्ने विकृत मानसिकता र त्यसले समाजमा पार्ने असर अरू थप सीमा हुन् ।  यो अवस्था भनेको व्यक्तिहरूमा चरम महìवकांक्षा, छिपछिपे जानकारी, काम गर्नका लागि चाहिने गहिरो प्रतिबद्धताको अभाव र आम जनतामा अविश्वासका पहाडहरू सहितको विशेषता बोकेको परिवेश हो ।  यस्तो जटिल अवस्थाका बीचबाट नयाँ राजनैतिक संस्कार नयाँ शैली नयाँ व्यवहार र आचरणको पनि विकास गरेर नयाँ राजनीतिको विकास गर्नुछ ।
कुनै पनि काम गर्नुभन्दा अगाडि ठोस परिस्थितिको ठोस विश्लेषण गर भन्ने कुरा माक्र्सवादले राजनीतिमा सिकाएको गुदी कुरा हो ।  यसो हो भने के विश्व समाज माथि भनिए जस्तै दार्शनिक संकटबाट गुज्रिएको हो ? के नेपाल साँच्चै सामन्ती अवस्थाबाट वामे सर्दै गरेको अवस्थाको पुँजीवादी चरण हो ? यदि यसो हो भने विश्वमा र नेपालमा दुवै स्तरमा नयाँ राजनैतिक दर्शनको प्रतिपादन हुन जरुरी छ ।  तदनुकूल विश्व र नेपाल दुवै स्तरमा राजनैतिक विकल्प वा वैकल्पिक राजनीतिको खोजी हुन जरुरी छ ।
नेपालमा खोजी गर्न प्रयत्न गरिएको राजनीतिको अवस्था भनेको वैकल्पिक राजनीति हो ।  यसका आधारभूत तìवहरूमा सामन्ती अवस्थाबाट वामे सरेको पुँजीवादका जगमा समाजवादको यात्रा आरम्भ गर्नु हो ।  यसका लागि पँुजीको पर्याप्त विकास हुन जरुरी छ ।  पँुजीको विकासका लागि राज्यका संयन्त्रहरू पारदर्शी हुन जरुरी छ ।  भ्रष्टाचार समाजको महारोग हो भने यसको न्यूनीकरणको उपाय खोज्न जरुरी छ ।  सर्वाधिक रूपमा चर्चामा आएको तथ्य के हो भने सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलहरू र तिनका नेताहरू छन् ।  उनीहरू लोकतन्त्रका लागि लडेका पनि हुन तर अलोकतान्त्रिक व्यवस्था ढालेर लोकतान्त्रिक व्यवस्था ल्याउन सफल दलहरू आफैँ लोकतान्त्रिक हुन नसकेर पार्टीहरू शिकार बनेका छन् ।  राजतन्त्रका विरुद्ध लडेर नथाकेका दलहरूआज राजतन्त्र ढालेर सो स्थान आफँै लिन तम्सिएको आरोप आम जनताको पंक्तिबाट लाग्ने गरेको छ ।  भ्रष्टाचारका विरुद्ध लडेका दलहरू आज दिनदिनै अकुत सम्पत्तिका हकवालाहरू राजनीतिक दलका नेताहरू भन्ने सुन्नमा आएको छ ।  रोजगारी सिर्जनाका लागि लडेका दलहरू आज बेरोजगारहरूको लर्को दिनका दिन विदेश पठाउने काममा दलाली गरेर कमिशन खाने स्तरमा झरेका छन् ।  तस्करी कालोबजारी भ्रष्टाचार अन्याय र अत्याचार आजका महारोग हुन तर तिनका संरक्षकहरू राजनीतिक दलहरू हुन भन्ने कुरा खुलेआम आरोप लाग्ने गरेको छ ।
अब विगतप्रति पश्चात्ताप हैन गर्व नै गरौँ ।  विगतबाट सिकेको असफलताको पाठ सिकौँ र तिनलाई नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरौँ ।  आजसम्म लाग्ने गरेको परम्परागत राजनीति प्रतिको आरोप असत्य साबित गर्ने काम पनि गरौँ ।  आम जनतामा परेको पूरै अविश्वासको अवस्थालाई विश्वासमा बदल्ने हर तरहले प्रयन्त गरौँ ।  तब मात्रै राजनीतिक विकल्प तयार हुनेछ र वैकल्पिक राजनीति भन्न लायक हुनेछ ।  यो जटिलभन्दा जटिल काम वैकल्पिक राजनीति र वैकल्पिक तरिकाले मात्रै सम्भव छ भन्ने आत्मविश्वास पैदा गर्न जरुरी छ ।
त्यसैले राजनीतिमा देखिएको चरम अविश्वासलाई विश्वासमा बदल्न जरुरी छ भन्ने कुरा सबैभन्दा पहिला आत्मसात् गरौँ ।  त्यसलाई बदल्ने कसम खाऔँ र कार्ययोजना सहित लागि पर्न जरुरी छ ।  अपारदर्शिता आजको मुख्य समस्या हो भने सबैभन्दा पहिला राजनैतिक दल र तिनका नेताहरू पारदर्शी भएर प्रदर्शित होऊन् ।  नेताको जीवन रहस्यमय नबनोस् ।  जनताका सामु छलङर््ग नै होस् र जनताको गुमेको विश्वास आर्जन गर्ने अवसर प्राप्त होस् ।  राजनीति र अर्थनीति आपसमा जोडिएन यो नै नेपाली राजनीतिको समस्या हो ।  आर्थिक मामला उठाउनेहरू या त अर्थवादी हुन् या त बुर्जुवा हुन् भन्ने गहिरो छाप पारिएको छ ।  राजनीतिले देश र जनताको सेवा गर्नपर्छ ।  त्यसका लागि देश र जनतालाई खुसी र सुखी बनाउन सक्नपर्छ ।  यसको एकमात्रै विकल्प आर्थिक समृद्धि हासिल गर्नु हो ।  जनताको जीवनस्तर उठाउनु हो ।  राजनीतिलाई आर्थिक मामलासम्म जोड्ने काम गर्न मात्रै सकियो भने नेपाली राजनीतिमा त्यही नै वैकल्पिक राजनीति हुनेछ ।  आजसम्मको राजनीति खासगरी आर्थिक क्षेत्रमा असफल हुनाका कारणहरू के हुन् भन्ने बारेमा चर्चा गर्न जरुरी छैन ।  अब ती आर्थिक क्षेत्रमा भएका कमी कमजोरी तथा अनदेखापन तथा कतिपय अवस्थामा रहेका कमजोरी र अवलम्बन गरिएका गलत नीतिहरूको पुनरावलोकन र तिनवाट मुक्ति पहिलो सर्त हो ।  राजनीति वा अर्थ नीति वा अर्थ राजनीति मध्य अर्थराजनीति आजको आवश्यकता बन्न पर्दछ ।
अबको राजनीति, अर्थराजनीति नेपाली समाजको नारा बनाउन सकियो भने नेपाली जनताको जीवनस्तर उकास्न अवश्य सकिनेछ ।  अर्थ राजनीतिले नेपाली समाजको चरित्र नै बदल्न पनि मदत गर्नेछ ।  जब समाजको चरित्र बदलिन्छ मानिसहरूको चेतना आदत र व्यवहार पनि स्वाभाविक रूपमा बदल्न सम्भव हुनेछ ।  यसो भयो भने वैकल्पिक राजनीतिले नेपालमा सफलता हासिल गर्नेछ ।  वैकल्पिक राजनीतिको यो सफलताले विश्वमा पनि योगदान गर्नेछ ।  विश्वस्तरमा परेको राजनैतिक दर्शनको संकट समाधान गर्न पनि मदत पुग्नेछ ।  त्यसैल अबको राजनीति वैकल्पिक राजनीति अबको नारा अर्थ राजनीतको नारा ।  अबको कार्यदिशा अबको निकास आर्थिक विकास ।  लक्ष सम्भव छ समृद्धि हाम्रै पालामा ।  
साभारः गोरखापत्र अनलाइनडटकम

Friday, August 19, 2011

पार्टीले संरक्षण गरेकै हो त ? डनहरुलाइ

नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि ज्यानमार्ने उद्देश्यले आक्रमण गर्न लगाउने युवासँघ मोरङका अध्यक्ष परशुराम बस्नेतविरुद्ध अदातलमा ज्यानमार्ने महल अन्तर्गत मुद्धादायर हुँदै गर्दा एमालेकै केही नेताहरुले उनलाई बुई चढाएर राखेको तितो यथार्थ सार्वजनिक भैसकेको छ । अवैध हतियार कारोवारी देखि ज्यानमार्ने सम्मका मुद्धा सार्वजनिक भए पनि परशुरामकै गुट सेरोफेरोमा कैयौं मुद्धा त विराटनगरवासीले पनि भन्ने आँट गर्न सकेका छ्रैनन् । ठेक्का पट्टा, चन्दा असुली, अरुको घरजग्गा गुण्डा लगाई विक्री गर्न रोकी अत्यन्त कम मुल्यमा खरीद गरी घरजग्गा कारोवारीका रुपमा पनि चिनीएका उनी महलमा बस्छन, गाडी चड्छन् सोझै प्रहरीका केन्द्रसम्म पहुँच राख्छन, प्रहरीका विराटनगरका हरेक अपरेशन थाहा पाउँछन र पार्टीका उपल्लोतहका नेताका छत्रछाहारीमा बसी गुण्डागिरी गर्छन त्यसैले उनी सफल कारोवारी र नामुद भएका छन् यस्तो अवस्थामा आफ्नो ज्यान धरापमा पारेर कसले परशुरामका विरुद्ध बोल्ने आँट गर्ने ? नेतालाई गुण्डा नपाली अगाडी बढ्न सकिँदैन कि भन्ने चिन्ता, सर्वसाधारणलाई गुण्डाको विरुद्ध बोले मारिने पो हो की भन्ने चिन्ता । यही चिन्ताको सेरोफेरोमा विराटनगर बाँचीरहेको तितो यथार्थ हो अहिले ।
कोही विराटनगर पुगेर वा विराटनगरवासीलाई सोधी हेर्नुस गुण्डागिरी, परशुराम काण्डका बारेमा के भन्नु हुन्छ ? भनेर । उत्तर विस्तारै आउँछः भित्ताका पनि कान हुन्छन, पत्रकार जस्तो मान्छेलाई आक्रमण गर्दा त प्रहरीले केही गरेन पार्टीले केही गरेन, अझ पार्टीका जिल्ला अध्यक्षले उपल्ला केही नेताको सुझावमा २ दिन त जिल्लै बन्दको आव्हान गरे । एउटा अपराधीलाई लुकाउन, कारवाहीको भागेदार हुनबाट बचाउँन पार्टीनै लाग्छ भने हामी सर्वसाधारणले के गर्न सक्छौं ? पार्टी आफै भित्र चिरा चिरा परेको छ । कहिले उछिटिन्छ थाहा छैन । बरु फुटे ती गुण्डाहरु एउटा पार्टी तिर लाग्थे अनि राम्रो एमाले एकातिर हुने थियो । त्यसैले पार्टीपनि बोल्न सक्दैन । एमाले भित्रको एउटा खेमाको बुझाई नै राजनीतिक भनेको पावर हो र पावरका लागि पेशेवर चाहिन्छ भन्ने हो । त्यसैले एमाले भित्र पनि त्यस्ता पेशेवर गुण्डा, हत्याराहरु चलखेल गर्ने ठाउँ भएको छ । भोली हामी यही बस्नु पर्छ । हामीले यही गरेर खानु पर्छ । हाम्रो ज्यानको सुरक्षा कसले गर्छ । प्रधुम्न कार्की त सधैं यहाँ बस्दैनन । जनताको पार्टी भन्ने एमाले भित्र चलेको गुटबन्दी र त्यसको छत्रछाँयामा हुर्केको गुण्डागर्दीको विरुद्धमा प्रहरी जान नसक्ने स्थितिमा हामीले के गर्ने ? ।
उत्तरले तपाईलाई पनि नतमस्तक बनाउँछ र कानुनका उपहास गरे जस्तो लाग्छ । तर यथार्थ त्यही छ । 

अर्को प्रश्न किन पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गर्ने परशुराम पक्राउ पर्दैनन ? भनेर सार्वजनिक चासो राख्ने नेपालभरीका सबैलाई सोध्नुस् उत्तर सबैको एकै आउँछ । पहिलेको एमाले र अहिलेको एमालेमा फरक छ । पहिले पार्टी भित्र गुण्डागिरी गर्ने कम थिए र तिनीहरु पार्टी निती विपरित चल्न पाउँदैन थिए । पार्टीले स्वेच्छाले निर्णय गथ्र्यो । तर अहिले एमाले भित्र सैद्धान्तिक बहस भन्दा पनि गुटबन्दी बढी छ । पार्टी राजनीतिमा ग्रुप त चाहिन्छ नै तर यो गु्रप गुण्डागिरी शैलीको भएकोले एमालेभित्र चल्ने गुटबन्दी चाहि पार्टी हितविपरित छ । गुण्डा पालेर राजनीतिक शक्तिमा आउन सकिन्छ भन्ने आम धारणा बन्न थालेको छ एमालेभित्र । पार्टी भित्र हुने नगर देखि केन्द्रसम्मका हरेक क्रियाकलापमा यो हाम्रो गुटको, त्यो अर्को गुटको भन्ने मानसिकता नै बनिसकेको छ । यसले पार्टी पङ्ती भित्र नकारात्मक सन्देश फिँजाएको छ र गुटगत भुमिकामा नलाग्ने स्वच्छ कार्यकर्ताहरु कि त पलायन हुने कि त निष्कृय बस्नु पर्ने वाध्यात्मक स्थिति छ त्यसैले एकजमानाको ठुलो एमाले पार्टी खुम्चीएर गइरहेको छ र यस्तै भइरहे निकट भविष्यमा एमालेले अस्तित्वका लागि लड्न थाल्नु पर्ने स्थिती आउन सक्छ । तर यसो भयो भने राष्ट्रका लागि पनि अहित हुन सक्छ । राज्यका हरेक राजनीतिक पार्टी देश विकासका लागि उत्तिकै भागेदार हुन्छन र बन्नु पर्छ तर एउटा बहुदलीय मान्यता राख्ने पार्टी खुम्चीएर जानु भनेको निरङ्कुता जन्माउन सहयोग गर्नु हुन्छ । पहिले पहिले पार्टी सुद्धिकरण भन्दै पार्टी भित्रका नकारात्मक पक्षलाई फाल्ने राम्रो पद्धति विकास भएको थियो कम्युनिष्ट भित्र तर अहिले त्यो हराएर गएको छ । अब राम्रा मान्छे पो फालीने होकी भन्ने चिन्ता जन्माएको छ । यी र यस्ता कुराहरुले कुनै पनि पार्टीका लागि अहित गर्दछ । यसकारण एमालले पार्टी भित्रका नकारात्मक पक्षहरुलाई केलाएर बैलैमा सच्चिनु आवश्यक छ । 
पत्रकार र सम्माननीय अदालतलाई समेत आक्रमण गर्ने अपराधीलाई कसले ग¥यो संरक्षण ? यो प्रश्न अब जनताहरुलाई नगरी प्रहरी प्रशासनलाई गर्नुस् । उत्तर बुँदागत रुपमा आउँछ, १. महेश बस्नेत– प्रहरी प्रशासन परशुराम बस्नेतलाई पक्राउ गर्न खोजी गरि रहँदा काठमाडौंमा खुल्ला कार्यक्रम आयोजना गरी ‘परशुराम हामी सँग छ सक्छौ भने पक्रेर देखाउ’ भनेर युवासँघको बदनाम गराउने खलपात्र । गत शनिवार अदालतले परशुरामको मुद्धाबारे छानविन गरि निर्णय गरिरहँदा त्यसलाई प्रभाव पार्ने गरी युवासँघको पूर्ण समर्थन नभई गुटगत रुपमा विराटनगरमा कार्यक्रम आयोजना गरेर फेरी त्यही ‘परशुराम हामी सँग छ सक्छौ भने पक्रेर देखाउ’ भन्दै चुनौति दिने बस्नेत एण्ड कम्पनीका लिडर । राज्यको चौथो अंक पत्रकारिताको अभिन्न अंग नागरिक दैनिकलाई समेत परशुराम बस्नेतको समाचार छापेर  गल्ती गरेकोले पत्रिका नै बन्द गर्ने र आदरणीय सम्पादकसम्मलाई समेत कारवाही गर्ने खुला चुनौती दिने हिन्दी फिल्मी शैलीका खलनायक । 
२. विनोद ढकाल– परशुरामको मुद्धामा सम्माननीय अदालतलाई छानविन गर्न सहयोग गर्ने भन्ने पार्टी नीति र निर्णय विपरित जिल्लाकमिटिको पनि पूर्ण समर्थन नभईकन आफ्ना केही साथीहरु र परशुरामका सहयोगीको साथमा मोटरसाइकल र कार ¥याली समेत निकालेर परशुरामको समर्थनमा जिल्ला बन्दको आव्हान गर्ने सोही पार्टीका जिल्ला अध्यक्ष समेत रहेका विनोद ढकाल । विराटनगरका एमाले कायकर्ताहरुमध्ये कतिसँग मोटरसाइकल छ र कति सँग कार छ त्यसोको लेखाजोखा गर्ने र कति जना परशुराम निर्दोश छ भनेर जिल्ला बन्द सम्म गर्न समर्थन गर्छन भन्ने कुराको हिसाव राख्ने हो भने भर्खरै विनोद ढकालको नेतृत्वमा भएको कार र मोटरसाइकल ¥यालीमा सहभागी भएका अरु डनहरुको पनि पहिचान हुने थियो ।

Monday, April 18, 2011

कार्यपालिका भनेका मन्त्रिपरिषदका मन्त्रिहरु मात्र होइनन

नेपालमा विकास निर्माणले गतिलिन नसक्नु र विकास नहुनुमा खास गरी कार्यपालिकाको नाम लिई मन्त्रिपरिषदलाई दोष दिने चलन छ...तर तपाईलाई थाहा छ...कार्यपालिका भनेको २ किसिमका हुन्छन १. राजनीतिक २. प्रशासनिक...निर्वाचनका माध्यमबाट सरकारका नितृत्व गर्नेृ राजनीतिक कार्यपालिका हुन भने प्रूशासनिक दक्षताको आधारमा भर्ना भएका सबै कर्मचारी प्रशासनिक कार्यपालिका भित्र पर्दछन र विकास नहुनुमा नेता मात्र होइन कार्यपालिकामा पर्ने समस्त नेपालका प्रशासनिक कर्मचारीहरु पनि उत्तिकै भागिदार छन....त्यसैले तिनीहरुमा पनि फेरवदल गर्ने र बुढाहरुलाई अवकास दिने की ?

Thursday, March 17, 2011

नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात

तिलौराकोटमुनी शहरको अबशेष भेटियो

१७ माघ, काठमाडौं । बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?
बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ जुन २०१२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन्
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आप\mनो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ ।

नेपालको जलसम्पदा र नेपाल–भारत सम्बन्ध -रामचन्द्र चटौत

१९ औं शताब्दीको पूर्वाद्धमा तत्कालीन ब्रिटिस इण्डिया कम्पनी सरकारले नेपालमा जलविद्युतको विकास गरी उत्तरी भारतमा औद्योगिकरण बिस्तार गर्न सकिने अवधारणा बाहिर ल्यायो। यसै पृष्ठभूमिमा सन् १९६७ मा जलस्रोतविद् डा. हरिमान श्रेष्ठले आफ्नो पीएचडी सोधपत्रमा नेपालमा सैद्धान्तिक हिसाबले जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको देखाए। नेपाल सरकारले पनि आफ्नो कुनै अध्ययनबिना नै डा. श्रेष्ठकै अध्ययनको आधारमा नेपाल जलविद्युत क्षमताका हिसाबले विश्वमै दोस्रो धनी भएको स्वघोषित दावी गर्‍यो।  यति धेरै विजुली नेपाल आफैले उत्पादन र खपत गर्न नसक्ने हुँदा विजुली निर्यात गरेर धनी हुनुपर्छ भन्ने अवधारणा त्यहाँदेखि अघि सार्‍यो। त्यसपछि सन् १९६९ तिर चर्चित पत्रकार जर्ज भर्गीसले समेत उत्तरी भारतको आर्थिक समृद्धिमा नेपालको जलविद्युतको अहं भूमिका रहने कुरा बताए। यसपछि त भारतलाई बिजुली बेच्ने सोच झनै संस्थागत हुन पुग्यो। सन् १९८१ मा आइपुग्दा जस्रोत मन्त्रालयले आफ्नो रणनीतिमा निर्यातमुखी ठूला आयोजनाहरू बनाउने योजना अघि सारेको छ। सन् २००२ को जलस्रोत रणनीतिमा नेपालले सन् २०२५ सम्ममा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ। पछिल्लोपटक त नेकपा (माओवादी) को नेतृत्वमा गठित सरकारले आफ्नो नीति तथा कार्यक्रममै बाह्य लगानीमा निर्यातमुखी आयोजना अघि बढाएर १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरी भारतलाई निर्यात गर्ने भनेको छ।  

तर विडम्बना बहुसंख्यक आम नेपाली जनता एक्काईसौं शताब्दीमा आइपुग्दा पनि बिजुलीको उज्यालोबाट ठाडै बञ्चित छन्। विद्युत सुविधा पाउने शहरी बासिन्दाहरूले पनि दिनहुँ घण्टौं लोडसेडिङको मार खेप्दै महंगो महशुलमा विजुली बाल्नु परिरहेको छ। भएका कलकारखानाहरू विद्युत सेवाको अभावमा बन्द हुँदै गइरहेका छन्। तर सरकार भने आम नागरिकलाई सर्वसुलभ ढंगले विद्युत सुविधा उपलब्ध गराउने भन्दा पनि नेपाली जनताको टाउकोमा ऋणभार थोपरेर भए पनि भारतका लागि बिजुली उत्पादन गरिदिन ज्यान फालेर लागिपरेको छ। 
यही सरकारी अवधारणाअनुसार विगतदेखिका थुप्रै विवादास्पद आयोजनाहरू यतिबेला निर्माणको हल्ला शुरु भएको छ। बहुचर्चित अरुण–३ पश्चिम सेती, माथिल्लो कर्णालीदेखि नेपालको आवश्यकता र प्राथमिकतामा कहिल्यै नपर्ने सप्तकोशी उच्चबाँध, पंचेश्वर उच्चबाँध, कर्णाली चिसापानीजस्ता भारतीय जलस्वार्थसँग सिधै जोडिएका आयोजनाहरू निर्माण हुने खबरले नेपालको पानी राजनीति पुनः एकपटक तातेको छ। उसो त विगतमा समेत पूर्णागिरी, पंचेश्वर, कर्णाली चिसापानी, सप्तगण्डकी, सप्तकोशी, पश्चिम सेती एकताका निकै चर्चामा आए। तर थुप्रै राष्ट्रघाती सर्तसहित यी आयोजनाहरू विगतमा प्रस्ताव गरिंदा सर्वत्र विरोधको आवाज उठ्यो। तर यी आयोजनामा भएका नीतिगत कुरामा प्रश्न उठाउँदा विकास हुन नदिन आयोजनाको विरोध गरिएको हौवासमेत सरकारीस्तरबाट फैलाइयो। तर खासमा यो चाहिं नेपालमा विकासे आयोजनाहरूका सम्बन्धमा जनस्तरबाट लोकतान्त्रिक अवधारणा र अन्तरसंवादको शुरुआत थियो। टनकपुर विवादले सरकारमा बसेपछि भारतसँग मित्रता जोड्ने नाममा जे पनि गर्न पाइन्छ भन्ने पुरातन मान्यतालाई चुनौती दियो। अरुण–३ विवादले विदेशी साहुमहाजनबाट पैसा र परियोजना आएपछि देशको विकास आफैं हुन्छ तथा विदेशीले जे जस्ता शर्तमा जेसुकै दिए पनि लिनुपर्छ भन्ने दरिद्र मनस्थितिलाई दह्रो दनक दियो। जहाँ अरुण–३ विवाद कुनै विकास वा विजुलीको विरोध नभएर विकास र विदेशी लगानीका नाममा विश्व बैंकले लाद्न खोजेको सर्तका विरुद्ध भएको थियो। 
त्यसपछिका दिनहरूमा महाकाली नदीको पनि बेहालै भयो। पंचायतले कालापानी भारतलाई सुम्पेझैं बहुदलकालमा नेपालको एकलौटी स्वामित्वमा रहेको महाकाली नदी सदाका लागि भारतलाई बुझाउने काम भयो। महाकाली सन्धि आफैमा एक राष्ट्रघाती आयोजना थियो। तापनि यसमा उल्लेख भएअनुसारका काम र योजना आज १२ वर्ष नाँघिसक्दा पनि लागु हुन सकेको अवस्था छैन। महाकाली सन्धिपछि सुदुरपश्चिमबाट उदाउने भनिएको सूर्य अहिलेसम्म उदाउन सकेको छैन। विडम्वना नै भन्नुपर्ला, महाकालीमा राष्ट्र र जनताप्रति गम्भीर घात गर्नेहरू नै आज पनि नयाँ नेपालको झोला बोकेर हिंडेका छन्। पश्चिम सेती, अरुण ३, माथिल्लो कर्णाली, बुढीगण्डकी, सप्तकोशी उच्चबाँध, पंचेश्वर उच्चबाँध, कर्णाली चिसापानी उच्चबाँध, माथिल्लो त्रिसुली आदि आयोजनाको सौदाबाजीको षड्यन्त्रमा व्यस्त छन्। जनयुद्ध पूर्व तथा युद्धकालभरी यी आयोजनाहरू नेपालको हितविपरित रहेको भन्दै आएको नेकपा(माओवादी)ले नै यतिबेला नेतृत्व गरिरहेको सरकार यी आयोजनाहरू यथास्थितिमै कार्यान्वयनको पक्षमा देखिएको छ। 
१० वर्षमा १० हजार मेगावाट बिजुली निकाल्ने भन्ने सरकारी घोषणा यतिबेला जुँगाको लडाई भएको छ। यतिका विजुली निकाल्न २०औं खर्ब लगानी चाहिने तर यी आयोजनाहरू कसरी अघि बढाउने, कसका लागि बनाउने, कसको लगानीमा बनाउने यस विषयमा न राष्ट्रिय बहस हुन सकेको छ न त व्यापक गृहकार्य वा तयारी नै। १० वर्षमा किन १० हजार मात्रै पन्ध्रै हजार मेगावाट निकाले भयो। तर त्यो अनुसारको तयारी गृहकार्य, छलफल र आफ्नो राष्ट्रहित अनुसारको नीति पनि आवश्यक छ। त्यसैले बिना तयारी, बिना गृहकार्य, आम नेपाली जनताको सहमति बेगर अघि सारिएका यी आयोजनाहरू यतिबेला शंकाको घेरामा छन्। विदेशी लगानीमा विदेशीकै लागि निर्माण गरिने भनिएका यी आयोजनाहरू सम्बन्धमा सरकारले निर्णय लिए पनि जनस्तरमा व्यापक असन्तुष्टि छ। तर सरकारका जलस्रोत मन्त्री विष्णु पौडेलले केही दिनअघि मात्र यी आयोजनाहरू कार्यान्वयनमा ल्याउन संकटकाल लगाउने तयारी भैरहेको समेत बताइसक्नुभएको छ। यिनै कुराहरूले पनि हामी कुन दिशातिर अग्रसर छौं भन्ने कुरा आफैंमा प्रष्ट छ। यी कुनै पनि आयोजनामा आम जनसमुदायको सहमति छैन। 
अर्कोतिर नेपालमा विकासको समस्या के हो? हामीले भारतलाई बिजुली बेचेर धनी हुने हो वा देशमा उत्पादित बिजुली स्वदेशमै उद्योगधन्दामा खर्च गरी हाम्राे उत्पादन बेचेर धनी हुने हो, अहिलेसम्म कहीं कतै संवाद छैन। सबैको जिब्रोमा एउटै कुरा झुण्डिएको छ– नेपालको अथाह जलस्रोतको विकास गरी भारतलाई बिजुली बेच्ने अनि धनी हुने। तर भारतलाई विजुली बेचेर नेपाल धनी हुँदैन, आफैले उपभोग गरे मात्र धनी हुनसक्छ भन्ने डा. हरिमान श्रेष्ठ जस्ता वरिष्ठ जलस्रोतविद्हरूको विचार मान्न न सरकार तयार छ न त नीतिनिर्माता नै। भारतलाई विजुली बेच्ने पुरातन सोचबाट कोही मुक्त छैन। स्कूलिग नै भारतलाई बेच्ने भन्ने छ। तर भारतको स्वार्थ भने नेपालको विजुलीमा नभई पानीमा भएको कुरा भारतीय जलस्रोत मन्त्री सैफउद्धित सोजले गत २०६५ भदौ २७ गतेको विविसी नेपाली सेवाको कार्यक्रममा आधिकारीक रुपमा बताइसकेका छन्। बीबीसीका पत्रकार नवीनसिंह खड्कासँगको कुराकानीमा मन्त्री सोजले भारतले नेपालको पानीमा पहिला बाढी नियन्त्रण, त्यसपछि सिंचाई र बोनसका रुपमा विजुली खोजेको स्पष्ट पारेका छन्। तर हाम्रो सरकार तथा नीति निर्माताहरू भने भारतको आवश्यकता पानी नभई विजुली रहेको झुठो दावी पेश गरिरहेका छन्। आज नेपालकै पानीलाई समेत आधार मानेर भारतले आफ्नो बृहत नदी जडान आयोजना अघि सारेको छ। नेपालका मेची, कोशी, गण्डक, कर्णाली तथा महाकालीलाई सो आयोजनामा नेपालको सहमति र स्वीकृति बिना नै जोड्ने तयारीमा रहेको छ। नदी जडान आयोजनामार्फत् भारत महाकाली सन्धिको धारा ३ मा व्यवस्था भएअनुसारको अग्रिम उपभोग्य उपभोगको आधारमा नेपालका सबै नदीनालामा कब्जा जमाउने षड्यन्त्रमा लागेको छ। तर हाम्रा पानी लाहुरे विजुली बेचेर नेपाल धनी हुन्छ भनिरहेका छन्। भारतले आज आणविक भट्टीबाट विजुली निकाली रहेको छ, कोइला, सोलार तथा वायु विजुलीका विकल्पहरू हुन् तर पानीको कुनै विकल्प नै छैन। भारतले आफ्नो भूभागमा पेट्रोलले सिंचाई गर्न सक्दैन, उसलाई पानी नै चाहिन्छ। त्यसैले ऊ नेपालको पानीमाथि षड्यन्त्रमूलक ढंगले अधिकार जमाउने दाउमा छ, जुन कुरा हाम्रा नीति निर्माता तथा सरकारले बुझेर पनि बुझ पचाइरहेका छन्। 
नेपाल–भारतबीच विगतमा कोशी, गण्डक र महाकाली नदीहरूको उपयोगका नाममा द्विपक्षीय रुपमा सम्पन्न सम्झौताहरूको गहिरो अध्ययन गर्नु पनि उत्तिकै जरुरी छ। यी तीनवटै सम्झौतामा नेपाल ठगिएको तथ्य संसारलाई थाहा छ। साझा सहयोगका प्रतिकका रुपमा प्रचारित यी तीनवटै आयोजनाहरूको व्यवस्थापन, संचालन र लाभ भारतले एकलौटी रुपमा प्रयोग गर्दै आएको छ। महाकाली नदीको एकीकृत विकासम्बन्धी सन्धिमा त झनै राष्ट्रघाती प्रावधानहरू कायम गरिएका छन्। गण्डकमा नेपालको माथिल्लोतटीय अधिकार खोस्ने प्रयास भएको छ। सन् १९२० सम्झौताका आधारमा निर्मित शारदा व्यारेजको आयु सकिन लागेको र महाकाली नदीको पानी एकतर्फी रुपमा हत्याउने दाउअनुरुप महाकाली नदीको मुहान नै किटान हुन नसकेको अवस्थामा कालापानीलगायत नेपालको एकलौटी स्वामित्वमा रहेको महाकाली नदी आफ्नो पोल्टामा हाल्ने दाउअनुसार भारतले अघि सारेको ग्राण्ड डिजाइनअनुसार एकीकृत महाकाली विकास सन्धिका नाममा महाकाली नदीको कन्यादान भैसकेको छ। 
जलस्राेतको सही विकास कसरी गर्ने? विदेशी कम्पनी र विदेशी लगानीका नाममा देशभित्र हुल्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ? यी विषयमा अन्य देशका अनुभवहरू के के छन्? अनि भारतका बक्रदृष्टि र बदनियतबाट बच्न र नेपालको हितमा कुनै पनि जलस्रोत आयोजना संचालन गर्दा अपनाउनु पर्ने सर्तकता के के हुन्? यी विषयमा गम्भीर छलफल, बहस नगरी जसरी आज विभिन्न आयोजनाहरू निर्माणको हल्ला चलेको छ। यसले नेपालको जलसम्पदा सदाका लागि अरुको पोल्टामा हालिन लागेको प्रष्ट छ। जहाँ पंचायत, बहुदलशैलीमै नयाँ नेपालको नारा दिएर विभिन्न आयोजनाहरू भारत तथा विदेशी कम्पनीहरूलाई बुझाउने काम भइरहेको छ। राष्ट्रिय सहमति बेगर नेपालको प्राथमिकतामा नपर्ने सप्तकोशी उच्चबाँध, कर्णाली चिसापानी उच्चबाँध, पंचेश्वर उच्च बाँधजस्ता भारतीय स्वार्थ गाँसिएका आयोजना बनाउने कुरामा नेपाल सहमत हुनु भनेको त आफ्नै खुट्टामा बन्चरोले हान्नु हो। अर्कोतिर आइएलओ महासन्धि १६९ मा समेत नेपाल सरकारले हस्ताक्षर गरी राष्ट्रिय कानुनसरह मान्यता दिइसकेको छ। व्यवहारतः यो कानुन लागु छैन। स्रोतका मालिक स्थानीय बासिन्दालाई त उनीहरूको स्रोतमाथिको निर्णय गर्न पाउने अधिकारबाट ठाडै बञ्चित गरिएको छ। राष्ट्रहितका पक्षमा जलस्रोत विकास र उपभोग कसरी गर्ने भन्ने स्पष्ट सरकारी नीति नै छैन। त्यसैले भारतले १०० वर्ष लामो दृष्टिकोणसहित बृहत नदी जडान आयोजनाको अवधारणा अघि सारेको अवस्थामा नेपाल सरकार उत्तिकै चनाखो हुनु जरुरी छ। भारतसँग विगतका अनुभवको आधारमा भावी कार्यदिशा तय गर्नु आवश्यक छ। भारतलाई विजुली बेचेर धनी हुने पुरातन सोचमा परिवर्तन आउनु जरुरी छ। कुनै पनि आयोजना स्थानीय तथा आम राष्ट्रिय सहमतिको आधारमा मात्र अघि बढाइनु पर्दछ। नेपालको जलस्रोत र अन्य प्राकृतिक साधनहरूको उपयोग सर्वप्रथम स्थानीय बासिन्दा र नेपाली जनताकै हितमा हुनुुपर्दछ, भारत तथा विदेशी कम्पनीका हितमा होइन र उच्च बाँधले नेपाल तथा भारतका जनताको कदापी हित गर्दैन।  
(लेखक जल तथा उर्जा उपभोक्ता महासंघ नेपाल (वाफेड)को अध्यक्ष हुनुहुन्छ) 

माओवादी-भारत सम्बन्धको चिसोपना



नेत्र पन्थी
तर, भारतले नेपालसँग विशेष सम्बन्ध रहेको बताउँदै आएको छ । जब कि माओवादीले विशेष होइन, समान सम्बन्ध चाहेको छ । 
काठमाडौं, ४ भदौ : नेपालका माओवादीसित भारतको चिसो सम्बन्ध नयाँ विषय होइन । तर, माओवादी सभासद्माथि भारतीय दूतावासबाट ज्यान मार्ने धम्की आएको प्रसंगले यो सम्बन्धलाई नयाँ स्तरमा बिगारेको छ ।

कूटनीतिक मर्यादाका सबै सीमा नाघ्दै भारतीय दूतावासका काउन्सुलर सुव्रत दासले माओवादी सभासद् रामकुमार शर्मालाई दिएको ठाडो धम्की माओवादीका लागि मात्र नभएर पूरै देशका लागि असैह्य थियो । यद्यपि सरकार र अन्य दलहरूले यस प्रकरणमा चुँ पनि नबोल्दा यो माओवादीको मात्र 'इस्यु' बन्न पुग्यो । भारतसित सम्बन्ध सुधार गर्ने माओवादीको पछिल्लो प्रयासमा यो घटनाले रोकावट पैदा गरेको छ ।
माओवादीको पछिल्लो ठम्याइ छ, 'नेपालको शान्तिप्रक्रिया र संविधानलेखनमा भारत निणर्ायक बन्न खोज्नु नै विद्यमान राजनीतिक गतिरोधको जड हो,' भारतले आफ्नो नेतृत्वको सरकार बन्न अवरोध गरिरहेको ठहरसहित माओवादीले भनेको छ, 'चौथोपटक चुनाव हुँदासमेत प्रधानमन्त्री चयन हुन नसक्नुमा सबैभन्दा ठूलो हात भारतकै छ ।'

प्रधानमन्त्रीको पाँचौँ चरणको चुनावका लागि रणनीति गर्न बसेको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा नै भारतसितको असन्तुष्टिको प्रस्ट संकेत थियो । आफूलाई भारतीय प्रधानमन्त्रीको विशेष दूत बताउँदै नेपाल आएका श्यामशरण फर्केको केही दिनमा प्रचण्डले सो प्रतिवेदन पेस गरेका थिए । २१ साउनमा भएको चौथो चरणको चुनावमा माओवादीले जित्ने सम्भावना बढेपछि भारतीय प्रधानमन्त्रीको दूत बनेर श्यामशरण नेपाल आएका हुन् । उनले चुनाव प्रभावित पारेकोमा चिन्ता व्यक्त गरिएको थियो, प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा । 'प्रधानमन्त्री चयन प्रक्रिया हामीले सामान्य हुन्छ भन्ने सोचेका थियौँ । तर, यो राष्ट्रियतासँग जोडिएर निकै पेचिलो बनेर आयो,' प्रचण्डले बैठकमा भने, 'देशी-विदेशी शक्ति र खास गरेर भारतीय हस्तक्षेपका कारण प्रधानमन्त्री चयन प्रक्रियामा हामीले जित हासिल गर्न सकेनौँ ।'

माओवादी सचिव सिपी गजुरेलको मूल्यांकनमा श्यामशरणले नै चुनाव बिथोलेका हुन् । मधेसवादी दलहरू माओवादीलाई भोट हाल्ने अवस्थामा पुगेकै वेला उनीहरू श्यामशरणको भ्रमणबाट प्रभावित भएको उनको ठम्याइ छ । भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा श्यामशरण नेपाल भ्रमणमा आउनुको मूल ध्येय नै माओवादी नेतृत्वको सरकार बन्न नदिनु रहेको उनको दाबी छ । 'माओवादीले जित्यो भने बर्बाद हुन्छ भनेर उनी -श्यामशरण) दौडादौड गरेर आएका हुन्,' गौरवले भने, 'मधेसी दललाई तटस्थ बस्न दबाब दिनु र माओवादी सभासद्लाई समेत धम्की दिनु यसैका प्रमाण हुन् ।'

सभासद् रामकुमार शर्मालाई ज्यान मार्ने धम्की दिने काउन्सुलरलाई भारत फिर्ता गर्नुपर्ने माग राख्दै माओवादीले बुझाउन लगेको विरोधपत्र भारतीय राजदूत राकेश सुदले लिन मानेनन् । विरोधपत्र बुझाउन मंगलबार माओवादी नेताहरू लैनचौरस्थित दूतावासमा पुग्नुअघि नै राजदूत सुद बाहिरिएका थिए । विरोधपत्र बुझेका दूतावासका राजनीतिक काउन्सुलरले यो मुद्दा बढाइचढाइ भएको भन्दै असन्तुष्टि पोखे ।

प्रचण्डको हस्ताक्षर रहेको विरोधपत्रमा माओवादीले आफ्ना केन्द्रीय सदस्य एवम् सभासद् रामकुमार शर्मालाई ज्यान मार्ने धम्की दिने कर्मचारीलाई भारत फिर्ता गर्न नरम भाषामा माग गरेको थियो । 'हामी आशा एवं अपेक्षा गर्दछौँ कि भारत सरकारले यो विरोधपत्रलाई गम्भीरतापूर्वक लिनेछ र यसप्रकारका गल्तीहरू सच्याउँदै दुई देशको बीचमा असल मैत्री-सम्बन्ध विकास गर्न नयाँ शिराबाट सकारात्मक ढंगले सोच्नेछ,' विरोधपत्रमा भनिएको छ, 'नेपाल र नेपाली जनताले भारतद्वारा नेपालको राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनताका विरुद्ध उत्पीडन एवं हस्तक्षेपको अनुभूति गर्न परिरहेको दुःखद् स्थिति विद्यमान छ ।'

कसरी बिग्रीयो माओवादी-भारत सम्बन्ध ?

भारतलाई आधारभूमि बनाएरै नेपालमा जनयुद्ध लडेका हुन् माओवादीले । तर, शान्तिप्रक्रियामा आएयता भारतसित उसको सम्बन्ध सुरुचिपूर्ण रहन सकेको छैन । ३१ असार ०६५ मा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री चयन भएपछि सम्बन्धमा चिसोपना सुरु भएको थियो, जुन २१ वैशाख ०६६ मा प्रचण्डले राजीनामा गर्दा उत्कर्षमा पुगेको बताइन्छ ।

जनयुद्धको दौरानमा माओवादीले भारतविरुद्ध रणनीतिक सम्बन्ध बनाएको थियो । भूमिगतकालमा माओवादीका शीर्ष नेताहरू अधिकांश भारतमै बसेका थिए । त्यसवेला भारतीय प्रशासनले नै उनीहरूलाई संरक्षण दिएको बताइन्छ । भारतीय पक्षको समन्वयमै सम्पन्न भएको १२ बुँदे समझदारीपछि माओवादी र भारत सम्बन्ध 'न्यानो र नरम' बन्यो ।

संविधानसभाको निर्वाचनसम्म पनि माओवादी र भारत सम्बन्ध ठीकठाक नै थियो । माओवादी नेतृत्वको सरकार बनेपछि सम्बन्धमा असहजता देखिन थाल्यो । सरकार सञ्चालनमा भारतीय हस्तक्षेप भएको प्रत्याभूतिबारे गाइँगुइँ सुरु भयो माओवादीभित्रै । माओवादी नेताहरू समस्या त्यही वेलादेखि सुरु भएको बताउँछन् । 'भारतले परिवर्तित राजनीतिक अवस्थालाई आत्मसात् गरेन, विगतमा कांग्रेस/एमालेलाई जस्तै माओवादीलाई पनि प्रयोग गर्न खोज्यो,' माओवादी नेता हरिभक्त कँडेल भन्छन् ।

पर्दाभित्र कस्ता खेलहरू भए ती सतहमा नआए पनि केही घटना सबैले देख्न पाए । पशुपतिनाथ मन्दिरमा पुजारी नियुक्तिदेखि तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको अवकाशसम्म आउँदा भारत र माओवादी सम्बन्ध छताछुल्ल भएर पोखियो । सेनापति प्रकरणमा भारतीय असहयोगले नै माओवादी २१ वैशाख ०६६ मा सरकारबाट हट्नुपर्‍यो । अनि सुरु भयो माओवादी र भारतबीचको अन्तरद्वन्द्व । प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा भारततर्फ संकेत गर्दै भनेका थिए, 'कुर्सीका लागि म विदशी प्रभुहरूसँग घुँडा टेक्दिनँ ।' विदेशी प्रभु भनेर उनले भारतीय शासकवर्गलाई इंगित गरेका थिए ।

माओवादी-भारत सम्बन्ध बिगि्रँदै गएका वेला आगोमा घ्यू थपे गत वर्ष नेपाल भ्रमण आएका भारतीय सेनाध्यक्ष दीपक कपुरले । लडाकु समायोजनका विपक्षमा कपुरले दिएको अभिव्यक्तिलाई 'नांगो हस्तक्षेप' भन्यो माओवादीले । 'शान्ति-प्रक्रियाविरुद्ध खुलेआम हस्तक्षेप भएको छ । माओवादीविरुद्ध सेनालाई उस्काउने काम भएको छ,' व्यवस्थापिका संसद्को बैठकमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए ।

माओवादी र भारतबीचको सम्बन्धमा दरार पैदा गर्ने काम नेपाल र चीनबीच भएको मैत्रीसन्धिको पुनरावलोकनको प्रयासले पनि गर्‍यो । माओवादी नेतृत्वको सरकारका वेला चीनले सन् १९६० मा नेपाल र चीनबीच भएको मैत्रीसन्धिको पुनरावलोकनका लागि पहल सुरु गरपछि भारत झस्कियो माओवादीसँग । माओवादी नेतृत्वको सरकारका पाला चीनले सन्धि पुनरावलोकनका लागि प्रयास सुरु गरेको भारतलाई मन परेको थिएन । नेपाल भ्रमणमा आएका चीनका विशेषदूत हु जेङगुईले १५ फागुन ०६५ मा परराष्ट्र मन्त्रालयमा सम्पन्न वार्तामा नयाँ नेपाल-चीन शान्ति तथा मैत्रीसन्धिको मस्यौदा हस्तान्तरण गरेका थिए ।

गत वर्ष माधवकुमार नेपालको नेतृत्वको सरकार बनेपछि माओवादीभित्र भारतप्रति झनै नकारात्मक भावना बढ्यो । 'हो, हाम्रो मूल्यांकन के थियो भने भारतले नै माधव नेपाल नेतृत्वको दक्षिणपन्थी सरकारलाई टिकाइराखेको छ,' माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भने, 'त्यसैकारण हामीले माधव नेपालको सरकारलाई कठपुतली भन्यौँ र राष्ट्रिय स्वाधीनताको लडाइँ चलायौँ ।'

०६६ सालभर त माओवादीले भारतविरुद्ध लक्ष्यित संघर्षका कार्यक्रम नै सार्वजनिक गर्‍यो । गत माघमा राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्कायो माओवादीले । सीमा अतिक्रमणविरुद्ध माओवादी नेताहरूले सीमाक्षेत्रमा मार्चपास गरे । यता, सीमाक्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध नाराबाजी र प्रदर्शन नै गरे भारतीयले । १२ बुँदे समझदारीपछि भारतविरुद्ध माओवादी यति आक्रामक भएको थिएन । चौथो चरणको आन्दोलनसम्म आउँदा माओवादीले नेपाल सरकार होइन, भारतलाई आन्दोलनको तारो बनाएको देखिन्थ्यो ।

तेस्रो चरणको आन्दोलनसम्म माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता बहाली हुनुपर्ने, शान्ति, नयाँ संविधान र राष्ट्रिय स्वाधीनताका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार हुनुपर्ने माग गरेको थियो । तर, चौथो चरणको आन्दोलनमा यो नारा फेरियो र भारतसँगको संघर्ष थप तीव्र पार्नेतर्फ आफ्ना कार्यक्रम अगाडि ल्यायो । 'नागरिक सर्वोच्चता कायम गर्दै शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणको ऐतिहासिक कार्यभारलाई सफल पार्न पनि वैदेशिक हस्तक्षेप, मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेप प्रमुख बाधकका रूपमा देखापरेको' निष्कर्ष निकाल्दै माओवादीले प्राथमिकता बदलेको थियो ।

माओवादीको सहायक संगठन वाइसिएलले त पूर्व-पश्चिम अतिक्रमित सीमामा मार्चपास नै गरेर भारतविरुद्धको आफ्नो आन्दोलनलाई खुलायो । माओवादीद्वारा सन् १९५० लगायतका असमान सन्धि-सम्झौता देशव्यापी रूपमा जलाइए । युद्धकालमा भारतविरुद्ध 'सुरुङ-युद्ध'को उद्घोष गरेको माओवादीले 'नयाँ संविधान बन्न नदिने, संविधानसभा भंग गराउने र थप रक्तपात मच्चाउने षड्यन्त्रमा भारत लागेको आरोप लगाउँदै आएको छ ।

२४ जेठ ०६७ मा 'मेघालयमा नेपाली भाषीमाथिको ज्यादती र कोसीनदीमा नेपालको सहमतिविना भारतले बनाएको पाइलट च्यानलको विरुद्ध' वाइसिएलले भारतीय दूतावासमा ज्ञापनपत्र बुझायो । ज्ञापनपत्रमा पञ्चशीलका आधारमा दुई देशको सम्बन्ध बनाउन तथा त्यसो नगरे भारतविरोधी भावना बढेर जाने चेतावनी दिइएको थियो । मेघालयमा नेपालीभाषीमाथि आक्रमण गरी १९ जनाको हत्या गरिएको तथा त्यसलाई भारतले आफ्नो आन्तरिक मामिला भन्दै नेपाललाई नबोल्न चेतावनी दिएकोप्रति खेद प्रकट गर्दै ज्ञापनपत्रमा भनिएको थियो, 'भारतले नेपालको आन्तरिक मामलामा जे गरिरहेको छ हामी त्यसको स्मरण गराउन चाहन्छौँ ।'

माओवादीले राष्ट्रिय स्वाधीनताको आवाज उठाएकै कारण राजा वीरेन्द्रको वंशनाश र मदन भण्डारीको हत्या भएको दाबी गर्दै आएको छ । माओवादी नेताहरूका सार्वजनिक अभिव्यक्तिहरू सम्बन्धमा तगारा पनि बनिरहे । 'राष्ट्रिय स्वाधीनता बलियो बनाउन नेपाललाई शान्तिक्षेत्रका लागि प्रस्ताव गर्नु, चीनबाट हतियार ल्याउने निर्णय गर्नु र माओवादीसँग भेट गर्ने योजना बनाउनु नै वीरेन्द्रको वंशनाशको कारण हो,' प्रचण्डले केही कार्यक्रममा भनेका थिए ।

विवादका मुद्दाहरू

माओवादी-भारत सम्बन्धमा दरार ल्याउने केही मूलभूत मुद्दा छन् । वार्ताका एजेन्डा भन्दै माओवादीले गत वर्ष पाँच विषय अघिसारेको थियो, जसलाई भारतले सहज रूपमा लिएन । सन् १९५० को सन्धि खारेजी तथा पुराना सबै गोप्य सन्धि-सम्झौतालाई खुला गरिनुपर्ने, कालापानीबाट भारतीय सेना हटाइनुपर्ने र सुस्तालगायतका सीमा-समस्याको हल हुनुपर्ने तथा नेपाल-भारतबीच बढ्दो व्यापार असन्तुलन हटाउन अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले पारवहन सुविधा पाउनुपर्ने माओवादी एजेन्डा छन् । भारत, चीन र नेपालबीच नेपालको विकासका लागि उच्चस्तरीय रणनीति बनाउन भारतले सहयोग गर्नुपर्ने, भारतसँग २१औँ शताब्दीको चेतनाअनुसार सम्पूर्ण इतिहासको समीक्षा र नयाँ एकताको आधारशिला तयार हुनुपर्ने आफ्नो पार्टीको एजेन्डा रहेको माओवादी नेताहरूले बताउँदै आएका छन् ।

कूटनीतिक क्षेत्रका विज्ञहरू नेपालको चासो र राष्ट्रिय हितका मुद्दा माओवादीले उठाउनुपर्ने बताउँछन् । उनीहरूको भनाइमा सन् १९५० को सन्धि तथा सीमाका मुद्दा सही छन् । तर, यी मुद्दा उत्तेजनात्मक रूपमा नभएर जिम्मेवारीपूर्वक र प्रक्रियागत ढंगले उठाउनुपर्ने उनीहरूको राय छ । जानकारहरूका अनुसार कालापानीमा भारतीय सेना बस्नु सीमा अतिक्रमण मात्र होइन, चीनविरुद्ध गतिविधि गर्न दिनु पनि हो । 'हामीले शान्ति, मित्रता, सद्भावना र अपराधमुक्त सीमा खोज्नुपर्छ । नेपालको भूमिमा चीन र भारतको सुरक्षा-चासो भएपछि त्रिपक्षीय संवाद गरिनुपर्छ,' परराष्ट्र मामलाका जानकार हिरण्यलाल श्रेष्ठ भन्छन्, 'सन् १९५० को सन्धिलाई प्रतिवाद गर्ने कि संशोधन गर्ने भन्ने कुरा छलफल गरेर टुंग्याउनुपर्छ ।'

समस्याको जड विशेष सम्बन्ध

दक्षिणी र उत्तरी छिमेकीसँग सम्बन्ध सन्तुलित पार्नु माओवादीका लागि मात्र नभएर नेपालकै लागि चुनौतीपूर्ण बनिरहेको छ । सन्तुलित सम्बन्धको माओवादी कार्ड भारतका लागि पाच्य बनिरहेको छैन । माओवादी उत्तरी छिमेकी चीनसँग नजिक छ भन्ने पनि त्यत्तिकै छन् । 'हामीलाई चीननजिक देख्नेहरू छन्,' माओवादी नेता रायमाझी भन्छन्, 'अझै पनि भारतका कतिपय नेता तथा राजनीतिक शक्ति हामीसँग सशंकित छन् ।'

माओवादी घोषित नीति दुवै देशसँग समान सम्बन्ध कायम राख्ने रहेको छ । संविधानसभा निर्वाचनपूर्व प्रतिबद्धतापत्रमा माओवादीले भारत र चीनसँगको सम्बन्ध कस्तो रहने भन्ने उल्लेख गरेको थियो ।

'पञ्चशीलको सिद्धान्तका आधारमा विश्वका सबै देशसँग मैत्री-सम्बन्ध राखिनेछ । भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्ध सन्तुलित र सुदृढ बनाउन प्रयत्न गरिनेछ,' माओवादी प्रतिबद्धतापत्रमा छ, 'विश्वअर्थतन्त्रको नयाँ इन्जिन बन्न थालेका चीन र भारतको तीव्र आर्थिक विकासबाट लाभ लिन नेपाली शासक वर्गको विगतको 'बफर स्टेट' मानसिकता परित्याग गरेर दुई देशबीचको अन्तरसम्बन्धको गतिशील पुल बन्ने अनुशरण गरिनेछ ।' तर, भारतले नेपालसँग विशेष सम्बन्ध रहेको बताउँदै आएको छ । जब कि माओवादीले विशेष होइन, समान सम्बन्ध चाहेको छ । अन्ततः दिल्लीले यसलाई सहज रूपमा लिएन र माओवादीसँगको सम्बन्धमा वेला-वेलामा दरार आइरह्यो ।

भारतका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापा कूटनीतिक मुद्दा पार्टीगत धारणाभन्दा पनि देशको मुद्दा भएको बताउँछन् । 'एउटा पार्टीले दिने कुरा पूरा धारणा होइन । यसलाई समष्टिगत ढंगले हेर्नुपर्छ । देशको सबैभन्दा ठूलो पार्टीले उठाएको मुद्दा यत्तिकै नकार्नुहँुदैन,' थापाको भनाइ छ, 'राष्ट्रिय चासोको मुद्दामा छलफल हुनुपर्छ । सत्ता राजनीतिमा कूटनीति पनि एक पक्ष हो । बार्गेनिङ चिप्सका रूपमा पनि हेरिन्छ, यसलाई । एक ढंगबाट यस्ता कुरा हल हुँदैनन् । दुवै पक्ष सहमत हुनुपर्छ ।'

सम्बन्ध सुधारका असफल प्रयास

माओवादीले भारतसित सम्बन्ध सुधारका लागि विगत दुई वर्षमा केही महत्त्वपूर्ण वार्ता र पहलहरू गरे पनि बालुवामा पानी खनाएजस्तै भएको छ । पछिल्लोपटक श्यामशरणको भ्रमणले पनि सम्बन्ध सुमधुर बनाउनेभन्दा झन् बिगारिदियो ।

प्रधानमन्त्री चयनका लागि चौथोचरणको चुनावको पूर्वसन्ध्यामा नेपाल आएका भारतीय विशेषदूत श्यामशरणले राजनीतिक भेटघाटका क्रममा माओवादी नेतृत्वसँग पनि कुरा गरे । २० साउनमा माओवादी अध्यक्ष प्रचण्डलगायतका नेतासँगको भेटमा दुवै पक्षले आफ्ना कुरा खुलेर राखे । 'संविधानसभाको ठूलो दल भए पनि माओवादीलाई यहाँका दलहरूले एक्ल्याउने प्रयास गरिरहेका छन्, तर पनि हामी राष्ट्रिय सहमतिकै पक्षमा छौँ,' भेटमा प्रचण्डले भनेका थिए, 'शान्ति र नयाँ संविधान निर्माण माओवादीको प्रमुख भूमिकाविना सम्भव छैन, यो कुरा भारतले पनि बुझ्नुपर्छ ।'

माओवादी नेता प्रकाशका अनुसार श्यामशरणले माओवादीकै नेतृत्वमा सरकार गठन भए पनि सो सरकारप्रति भारत सकारात्मक हुने स्पष्ट पारेका थिए । 'तर, राष्ट्रिय सहमति हुन जरुरी छ, सेना समायोजनको कामले छिट्टै पूर्णता पाओस् भन्ने हाम्रो मान्यता छ,' श्यामशरणले भारतीय प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

०६६ माघमा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एसएम कृष्णासँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले 'त्यस्तो आइसब्रेक नै भएको छैन, तर सहमतिमा पुग्न संवादको थालनी भएको छ' भनी खासै सम्बन्ध सुधार नभएको संकेत गरेका थिए । भारतीय विदेशमन्त्रीले अन्य पार्टीसरह माओवादीलाई पनि हेर्ने भारतीय दृष्टिकोण समान रहेको बताएर माओवादीलाई विश्वासमा ल्याउन खोजेका थिए ।

७ पुस ०६६ मा तीनदिने आमहडतालको समापनमा प्रचण्डले अब वार्ता मालिकसँग गर्ने उद्घोष गरे । उनले कांग्रेस-एमालेलगायतका दललाई भारतीय गोटीको रूपमा चित्रण गर्दै नयाँदिल्लीसँग वार्ता गरेर समस्याको हल गर्ने बताएका थिए । 'सहमतिका लागि पटक-पटक वार्ता भएका छन्, आन्दोलन भएका छन्, यति ठूलो पहलकदमीका बाबजुद पनि सरकारलाई छोएको छैन,' प्रचण्डले भनेका थिए, 'नोकरहरूसँग वार्ता गरेर केही नहुने भो, अब मालिकसँग वार्ता हुन्छ ।'

त्यसलगत्तै गत वर्ष १२ पुस ०६६ मा माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेर भारतीय राजदूत राकेश सुद नयाँदिल्ली गएका थिए । उनले माओवादीले अगाडि सारेका प्रस्तावबारे भारतीय सरकारलाई जानकारीसमेत गराएका थिए ।



मिति २१ साउन, ०६७
माओवादी सभासद्लाई ज्यान मार्ने धम्की

माओवादी सभासद् रामकुमार शर्माद्वारा आफूलाई भारतीय दूतावासका कर्मचारीले ज्यान मार्ने धम्की दिएको सार्वजनिक ।

भारतीय दूतावासका काउन्सुलर सुव्रत दासले २१ साउनमा टेलिफोन गरी सभासद् शर्मालाई अपहरण गरी बेपत्ता पार्ने र ज्यान मार्ने धम्की दिएका थिए । माओवादीले यस विषयलाई जोडका साथ उठायो । कूटनीतिक मर्यादाविपरीत बोलेकोमा सभासद्हरूले आपत्ति जनाए । माओवादीनिटक मधेसी मुक्ति मोर्चाले दूतावासका कर्मचारीलाई देश निकाला गर्न माग गर्‍यो ।



मिति २७ साउन ०६७
माओवादी केन्द्रीय समिति बैठक

'चौथो चरणको निर्वाचनसम्म आइपुग्दा प्रधानमन्त्री चयन प्रक्रिया राष्ट्रियतासँग जोडिएर निकै पेचिलो बनेर आयो । प्रधानमन्त्री चयन प्रक्रिया हामीले सोचेभन्दा पृथक ढंगबाट अगाडि बढ्यो । यसलाई सामान्य रूपबाट लिन हँुदैन । भारतले हामीलाई हराउन खोज्यो । निर्वाचनमा भारतीय हस्तक्षेप बढेको छ । नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ । केन्द्रीय समितिको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे मौखिक प्रतिवेदन राख्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो विश्लेषण सुनाए । करिब ४० मिनेट लामो आफ्नो प्रतिवेदनमा प्रचण्डले नेपालको राजनीतिमा बढ्दो भारतीय हस्तक्षेपलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि बताए ।

मिति १ भदौ, २०६७
माओवादीद्वारा भारतीय दूतावासमा विरोधपत्र

सभासद् रामकुमार शर्मालाई ज्यान मार्ने धम्की दिने काउन्सुलरलाई भारत फिर्ता गर्नुपर्ने माग राख्दै माओवादीले बुझाउन लागेको विरोधपत्र भारतीय राजदूत राकेश सुदले लिन मानेनन् । विरोधपत्र बुझाउन मंगलबार माओवादी नेताहरू लैनचौरस्थित दूतावास पुग्नुअघि नै राजदूत सुद बाहिरिएका थिए । विरोधपत्र बुझेका दूतावासका राजनीतिक काउन्सुलरले यो मुद्दालाई अहिले बढाइचढाइ गरिएको आरोप लगाए ।

एमआरपी प्रकरण र भारत-सम्बन्ध

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतमा छपाइ गर्न दिने सरकारको निर्णयबाट केही दिन देशको राजनीति गम्भीर चिन्ताको भूमरीमा फस्यो। अन्ततः सार्वजनिक लेखा समिति, एमाले संसदीय दल, सर्वोच्च अदालतको अन्तरिम आदेश, माओवादी, सञ्चारमाध्यम र आमजनतामा देखिएको तीव्र असन्तुष्टिका कारण सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्‍यो। तर, एमाले प्रधानमन्त्री र कांग्रेसी परराष्ट्रमन्त्रीले पासपोर्ट भारतमा छाप्न दिन प्रारम्भमा जुन उत्कट इच्छा प्रदर्शन गरे त्यसको राजनीतिक लेखाजोखा हुनैपर्छ। यो एउटै घटनामा मन्त्रिमण्डलका सदस्यहरूको क्रियाकलापले गर्दा लोकतन्त्र, राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षालाई लिएर एकाएक अनेकौँ प्रश्न उठे।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई देशको नियम/कानुन र अन्तर्राष्ट्रिय प्रचलन थाहा थिएन भनी मान्न सकिन्न। उनीहरूले थाहा पाउन चाहँदा विभिन्न स्रोत-साधन उपलब्ध हुन्छन्। अनभिज्ञतालाई विधिले क्षमा गर्दैन। समयको अभावमा भारतलाई दिनुपर्‍यो भन्ने तर्क पनि सत्य तथ्यलाई ढाकछोप गर्ने बहानामात्र रहेछ। परराष्ट्रमन्त्रीले प्रारम्भदेखि नै 'म पासपोर्ट छाप्न भारतलाई नै दिन्छु' भनेर बडो अस्वाभाविक रूपमा जबर्जस्ती गर्दै आउनुभयो। यस विषयमा आफ्नै मन्त्रालयका सचिवसँग पनि रडाको मच्याउनुभयो। जब कि एमआरपी छपाइका लागि उहाँको मन्त्रालयले टेन्डर प्रक्रिया पनि सुरु गरिसकेको थियो। यसलाई बीचमै रद्द गरेर भारतलाई बिनाटेन्डर दिइयो।

एमाले-कांग्रेस नेताले भारतीय राजदूतको गोप्य पत्र किन सार्वजनिक गरे ? गर्न हुन्थ्यो/हुन्थेन ? यो तर्क आफ्नो ठाउँमा छ तर भारतले पठाएको गोप्य पत्रको आधारमा यहाँको सरकार चल्न मिल्दैन। भारतको शासक समूहले अमेरिकासँग 'परमाणु करार' गोप्य पत्रबाटै गरेको भए के हुन्थ्यो ? एमआरपी छपाइको सवालमा प्रधानमन्त्री र परराष्ट्र मन्त्री लोकतन्त्र, विधि, अन्तर्राष्ट्रिय प्रचलन र संसदीय सिद्धान्तअनुसार हिँड्न किन चुके ? सरकारले भारतको सुरक्षाको चासोलाई प्राथमिकता दिएर आफनो राष्ट्रको सुरक्षालाई नजरअन्दाज किन ? जनतालाई यसको जवाफ एमाले, कांग्रेस कसले दिने ? एउटा लोकतान्त्रिक देशले अर्को छिमेकी लोकतान्त्रिक देशसँग सुरक्षा विषयमा गोप्य डिल गर्दैन। दोस्रो कुरा, कांग्रेस, एमाले नेताले प्रारम्भदेखि विधिको शासन दिन्छौँ भनेर जनतासमक्ष बारबार सफथ खाएका हुन्। विधिको शासन लोकतन्त्र हो भनेर चिच्याए र चिच्याउँदै पनि छन्। माओवादीलाई विधिको शासन पालना गरेर बहुमतको सरकार बनाउन चुनौती दिन्छन् तर यिनीहरूले एमआरपी घटनामा आफैले विधिको शासनको खिल्ली उडाइदिए। संसदीय समितिको निर्देशनलाई समेत कुल्चने प्रयत्न गरे तर सार्वजनिक लेखा समितिको निर्णयबाट के प्रमाणित हुन्छ भने संसदीय प्रजातन्त्रले अन्ततोगत्वा शासक समूहका नकारात्मक कार्यलाई नियन्त्रण गर्छ र देशलाई सही बाटोमा हिँड्न प्रेरित गर्छ। यो निर्णयबाट देशमा राष्ट्रवादी आन्दोलन बलियो छ भन्ने पनि जनाउँछ। एमआरपी छपाइको कार्यान्वयन प्रक्रिया संसद या संसदीय समितिबाट स्वीकृतिपछि सुरु हुनुपथ्र्यो अन्ततः त्यस्तै भयो। यहाँ दलीय नेतृत्व अति कमजोर भयो। एमाले, कांगे्रस नेतृत्व सत्ता स्वार्थमा लिप्त र परनिर्भर भएको देखियो। 

एमाले, कांग्रेस नेताहरूले नेपाल-भारत सम्बन्धबीच विश्वासको वातावरण बनाउन सकेनन्। भारतसँगको सम्बन्धमा नेपालीहरूले बेहोर्नु परेको चोटबारे कुरा उठाउनु 'भारतको विरोध' होइन भनी आफ्नो छिमेकीलाई बुझाउन सकेनन्। 'भारत विरोध' को वस्तुगत व्याख्या के हो ? सोध्न पनि सकेनन्। बरू मुन्टो साउथ ब्लकतर्फ फर्काउनु, राजनीतिचाहिँ यहाँ गर्नुमा नै उनीहरू रमाउँछन्। अनि, आफूलाई कट्टर राष्ट्रवादी नेता कहलाउन रुचाउँछन्। भारतपक्षलाई इतिहासबाट प्राप्त आफ्नो प्रतिष्ठाबारे सैद्धान्तिक अवगत गराउन नसक्नु नेपाली पक्षको कमजोरी हो। नेहरूकै शब्दमा 'यदि हिन्दुस्तानमा साँच्चै कुनै स्वतन्त्र राज्य छ भने त्यो हो नेपाल जुन उत्तर-पूर्वी सीमामा छ' (द डिसकभरी अफ इन्डिया)। यहाँ हिन्दुस्तान भन्नाले भारतीय उपमहाद्वीप जनाउँछ। अर्थात् नेपाल आफ्नो सार्वभौमिकताको सुरक्षा गर्न सक्षम छ, अन्य आफ्नो छिमेकी या मित्र देशको आन्तरिक मामलामा चासो राख्दैन र विरोधमा आफनो भूमि प्रयोग हुन पनि दिँदैन। बरु, नेपालीहरूले अन्य मित्र देशको सेनामा भर्ती भएर पनि उनीहरूको सार्वभौमिकतालाई सुरक्षित राख्न सहयोग पुर्‍याउँदै आएका छन्। भारतले हरसमय 'सुरक्षा चासो' को कुरा उठाउँदा नेपाल-भारत सम्बन्धमा अर्थहीन तनावमात्र सिर्जना हुन्छ।

हाम्रो दुर्भाग्य, पहिलो, यहाँको प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलन प्रारम्भदेखि कमजोर रहनु हो। दोस्रो भारतका शासक समूह नेपालको प्रजातान्त्रिक आन्दोलनप्रतिको आफ्नो उत्तरदायित्वमा गम्भीर नहुनु हो। भारत नेपालको एउटा साँध-सिमानाको छिमेकीमात्र होइन, विश्वको एउटा ठूलो प्रजातान्त्रिक देश पनि हो। त्यहाँका अनुभवी तथा दक्ष नेताहरूले यो बुझ्नुपर्ने हो कि आफ्नो छिमेकी देशमा जनता जति सचेत र संगठित हुन्छन् त्यति नै उनीहरूको सुरक्षा सुनिश्चित हुन्छ। भारत र नेपाल लगभग एकै समयतिर स्वतन्त्र भएका हुन्। भारतको प्रजातान्त्रिक आन्दोलन (स्वतन्त्रता संग्राम) को कारणले नेपाली जनताको राजनीतिक चेतनामा व्यापक वृद्धि भएको हो। यसबीच भारतले विशाल प्रगति गर्‍यो। नेपालचाहिँ अति अव्यवस्थित र पछौटे रह्यो। के यसका लागि भारतको नेपालको प्रजातान्त्रिक आन्दोलनप्रतिको नीति दोषी छैन ? एमआरपी घटनाले के उजागर गर्छ भने भारतको नेपालको प्रजातान्त्रिक आन्दोलनप्रतिको व्यवहार अहिले पनि ठीक छैन। भारतका शासक समूहहरूले अहिलेसम्म आफ्नै या वाह्य देशमा उग्रपन्थी र दक्षिणपन्थी शक्तिलाई प्रोत्साहन दिने काम मात्र गरेका छन्। यसैले, आज भारत आन्तरिक र बाह्य दुवै क्षेत्रमा अप्रजातान्त्रिक शक्तिहरूको चेपुवामा परेको छ। नेपालको शिशु प्रजातन्त्रलाई पनि सुदृढ तल्याउने र शान्तिपूर्ण बाटोमा अवतरण गरेका माओवादीलाई प्रजातान्त्रीकरण गर्ने सवालमा भारतको सैद्धान्तिकले दृष्टिकोण नेपालको स्थितिसँग सामञ्जस्य राख्दैन।

सन् १९९० देखियताका एकाध वर्ष छाडेर देशमा लोकतन्त्र छ। यसबीच कांग्रेस, एमाले लामो समयसम्म सत्तामा रहेका हुन् तर यी दलहरूले अहिलेसम्म ठोस विदेश नीति निर्धारण गर्न सकेनन्। यता, अन्तर्राष्ट्रलाई हेरेर राष्ट्रिय नीति तय गर्ने अनौठो प्रचलन सुरु गरिदिएका छन्। जब कि विश्वमा हरेक देशले आफ्नो राष्ट्रियतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नीति तय गर्दछ। हाम्रा नेताहरूमा सैद्धान्तिक, राजनीतिक क्षमता कमजोर र साहसको अभाव छ। हाम्रा मन्त्रीहरूमा विदेशी राजदूतसँग आफ्नो राष्ट्रिय हितका कुरा गर्ने साहस पनि हुँदैन। सीमा अतिक्रमणबाट नेपालीहरूको मनोबल गिराउँदा, सुरक्षाको चासोका कुरा उठाएर दल र प्रजातन्त्रमाथि राजनीतिक नियन्त्रण कायम गर्न खोज्दा, अर्थतन्त्रलाई उत्पादनमूलक औद्योगिक विकासमा जान नदिई व्यापारिक पुँजीवादमा खुम्चाएर राखिँदा, प्राकृतिक स्रोतहरूको निरन्तर दोहन गर्दा पनि हाम्रो नेतृत्वसँग उपचारका लागि कुनै रणनीति हुँदैन। प्रमुख दलका नेताहरू आफ्नो देशप्रतिको छिमेकीको सही र गलत व्यवहार खुट्याउन सक्दैनन्। राष्ट्रिय हित, स्वतन्त्रता, अखण्डताको सवालमा संयुक्त हुनुपर्छ भन्ने समझ पनि छैन।

देशले आफ्नो विदेश नीति, रणनीति, क्षमताको निर्धारण गर्नैपर्छ र जनताबाट अनुमोदन गराउनैपर्छ। देशमा गणतन्त्र छ। गणतन्त्र जनतामा पूर्ण आधारित व्यवस्था हो। एक-दुई दल या सरकारी नेताको लहडबाजीमा राज्य सञ्चालन गर्न मिल्दैन। देशलाई विदेशीसँगको अनावश्यक कचिंगलमा फसाउन मिल्दैन। विदेश नीतिको पहिलो बुँदा राष्ट्रिय सुरक्षा हो। ठूलो देशको तुलनामा सानो देशका जनतालाई आफ्नो सुरक्षाको चिन्ता धेरै हुन्छ। र, लोकतन्त्रमा राष्ट्रिय सुरक्षा सम्भव छ। यसकारण मुलुकले आफ्नो राष्ट्रिय सुरक्षाका लागि प्रजातान्त्रिक आन्दोलनलाई बलियो बनाउनु र विश्व प्रजातान्त्रिक आन्दोलनमा निर्भर रहनुको विकल्प छैन। दोस्रो, बुँदा देशमा लोकतान्त्रिक आर्थिक विकासलाई सफल पार्नु हो। अहिले आर्थिक कूटनीतिको चर्चा छ तर दलहरूले यसबारे निश्चित वस्तुपरक अवधारणा ल्याउन सकेका छैनन्। लोकतान्त्रिक आर्थिक विकासको उद्देश्य राष्ट्रको औद्योगिकीकरण हो। तेस्रो, अप्रवासी नेपालीको हित र अधिकार रक्षामा केन्दि्रत हुनुपर्छ। तब प्रजातन्त्र सबल हुन्छ।

यद्यपि, नेपालको विदेशको मूल लक्ष्य भारत र चीनसँग मित्रता हो  तर भारतसँगको मित्रताका लागि हात बढाउँदा नेपालको सार्वभौमिकता, सीमा, प्राकृतिक स्रोत र नेपालीको स्वभिमानमा प्रतिकूल असर पर्ने गरेको छ। त्यसपछि लोकतन्त्र यहाँ लडखडाउँछ। भारतमा नक्सलवादी आन्दोलनको वृद्धिबाट नेपालका नवयुवामा गलत राजनीतिक प्रभाव पर्छ, भारतमा दक्षिणपन्थी भारतीय जनता दल सत्तामा जाँदा नेपालको लोकतन्त्रलाई अहित गर्छ। भारतीय नेताले नेपालमा आएर हिन्दू राज्यको प्रचार गर्दा यहाँको लोकतन्त्र खलबलिन्छ। सचिवस्तरको विदेशी राजदूतलाई उसको सरकारले कार्यरत देशमा हरेक पार्टीको अफिसमा गएर 'रिङ्ग मास्टर' को काम गर्नु पक्कै भनेको हुन्न होला। हरेक राजदूतले निश्चित कूटनीतिक मर्यादामा रहनु उसको देशको शोभाको परिचय हो। अब नेपाल र भारतबीच राज्यका सिद्धान्तका बारेमा कुनै विमति छैन। दुवै देशमा लोकतन्त्र छ। लोकतन्त्र र पञ्चशील सिद्धान्तका आधारमा मैत्रीपूर्ण तथा न्यायपूर्ण सम्बन्ध कायम गर्न चाहेमा कठिन छैन। अनि मात्र नेपाल र भारत सम्बन्ध जनस्तरबाटै बलियो हुनेछ।