Friday, August 19, 2011

पार्टीले संरक्षण गरेकै हो त ? डनहरुलाइ

नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि ज्यानमार्ने उद्देश्यले आक्रमण गर्न लगाउने युवासँघ मोरङका अध्यक्ष परशुराम बस्नेतविरुद्ध अदातलमा ज्यानमार्ने महल अन्तर्गत मुद्धादायर हुँदै गर्दा एमालेकै केही नेताहरुले उनलाई बुई चढाएर राखेको तितो यथार्थ सार्वजनिक भैसकेको छ । अवैध हतियार कारोवारी देखि ज्यानमार्ने सम्मका मुद्धा सार्वजनिक भए पनि परशुरामकै गुट सेरोफेरोमा कैयौं मुद्धा त विराटनगरवासीले पनि भन्ने आँट गर्न सकेका छ्रैनन् । ठेक्का पट्टा, चन्दा असुली, अरुको घरजग्गा गुण्डा लगाई विक्री गर्न रोकी अत्यन्त कम मुल्यमा खरीद गरी घरजग्गा कारोवारीका रुपमा पनि चिनीएका उनी महलमा बस्छन, गाडी चड्छन् सोझै प्रहरीका केन्द्रसम्म पहुँच राख्छन, प्रहरीका विराटनगरका हरेक अपरेशन थाहा पाउँछन र पार्टीका उपल्लोतहका नेताका छत्रछाहारीमा बसी गुण्डागिरी गर्छन त्यसैले उनी सफल कारोवारी र नामुद भएका छन् यस्तो अवस्थामा आफ्नो ज्यान धरापमा पारेर कसले परशुरामका विरुद्ध बोल्ने आँट गर्ने ? नेतालाई गुण्डा नपाली अगाडी बढ्न सकिँदैन कि भन्ने चिन्ता, सर्वसाधारणलाई गुण्डाको विरुद्ध बोले मारिने पो हो की भन्ने चिन्ता । यही चिन्ताको सेरोफेरोमा विराटनगर बाँचीरहेको तितो यथार्थ हो अहिले ।
कोही विराटनगर पुगेर वा विराटनगरवासीलाई सोधी हेर्नुस गुण्डागिरी, परशुराम काण्डका बारेमा के भन्नु हुन्छ ? भनेर । उत्तर विस्तारै आउँछः भित्ताका पनि कान हुन्छन, पत्रकार जस्तो मान्छेलाई आक्रमण गर्दा त प्रहरीले केही गरेन पार्टीले केही गरेन, अझ पार्टीका जिल्ला अध्यक्षले उपल्ला केही नेताको सुझावमा २ दिन त जिल्लै बन्दको आव्हान गरे । एउटा अपराधीलाई लुकाउन, कारवाहीको भागेदार हुनबाट बचाउँन पार्टीनै लाग्छ भने हामी सर्वसाधारणले के गर्न सक्छौं ? पार्टी आफै भित्र चिरा चिरा परेको छ । कहिले उछिटिन्छ थाहा छैन । बरु फुटे ती गुण्डाहरु एउटा पार्टी तिर लाग्थे अनि राम्रो एमाले एकातिर हुने थियो । त्यसैले पार्टीपनि बोल्न सक्दैन । एमाले भित्रको एउटा खेमाको बुझाई नै राजनीतिक भनेको पावर हो र पावरका लागि पेशेवर चाहिन्छ भन्ने हो । त्यसैले एमाले भित्र पनि त्यस्ता पेशेवर गुण्डा, हत्याराहरु चलखेल गर्ने ठाउँ भएको छ । भोली हामी यही बस्नु पर्छ । हामीले यही गरेर खानु पर्छ । हाम्रो ज्यानको सुरक्षा कसले गर्छ । प्रधुम्न कार्की त सधैं यहाँ बस्दैनन । जनताको पार्टी भन्ने एमाले भित्र चलेको गुटबन्दी र त्यसको छत्रछाँयामा हुर्केको गुण्डागर्दीको विरुद्धमा प्रहरी जान नसक्ने स्थितिमा हामीले के गर्ने ? ।
उत्तरले तपाईलाई पनि नतमस्तक बनाउँछ र कानुनका उपहास गरे जस्तो लाग्छ । तर यथार्थ त्यही छ । 

अर्को प्रश्न किन पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गर्ने परशुराम पक्राउ पर्दैनन ? भनेर सार्वजनिक चासो राख्ने नेपालभरीका सबैलाई सोध्नुस् उत्तर सबैको एकै आउँछ । पहिलेको एमाले र अहिलेको एमालेमा फरक छ । पहिले पार्टी भित्र गुण्डागिरी गर्ने कम थिए र तिनीहरु पार्टी निती विपरित चल्न पाउँदैन थिए । पार्टीले स्वेच्छाले निर्णय गथ्र्यो । तर अहिले एमाले भित्र सैद्धान्तिक बहस भन्दा पनि गुटबन्दी बढी छ । पार्टी राजनीतिमा ग्रुप त चाहिन्छ नै तर यो गु्रप गुण्डागिरी शैलीको भएकोले एमालेभित्र चल्ने गुटबन्दी चाहि पार्टी हितविपरित छ । गुण्डा पालेर राजनीतिक शक्तिमा आउन सकिन्छ भन्ने आम धारणा बन्न थालेको छ एमालेभित्र । पार्टी भित्र हुने नगर देखि केन्द्रसम्मका हरेक क्रियाकलापमा यो हाम्रो गुटको, त्यो अर्को गुटको भन्ने मानसिकता नै बनिसकेको छ । यसले पार्टी पङ्ती भित्र नकारात्मक सन्देश फिँजाएको छ र गुटगत भुमिकामा नलाग्ने स्वच्छ कार्यकर्ताहरु कि त पलायन हुने कि त निष्कृय बस्नु पर्ने वाध्यात्मक स्थिति छ त्यसैले एकजमानाको ठुलो एमाले पार्टी खुम्चीएर गइरहेको छ र यस्तै भइरहे निकट भविष्यमा एमालेले अस्तित्वका लागि लड्न थाल्नु पर्ने स्थिती आउन सक्छ । तर यसो भयो भने राष्ट्रका लागि पनि अहित हुन सक्छ । राज्यका हरेक राजनीतिक पार्टी देश विकासका लागि उत्तिकै भागेदार हुन्छन र बन्नु पर्छ तर एउटा बहुदलीय मान्यता राख्ने पार्टी खुम्चीएर जानु भनेको निरङ्कुता जन्माउन सहयोग गर्नु हुन्छ । पहिले पहिले पार्टी सुद्धिकरण भन्दै पार्टी भित्रका नकारात्मक पक्षलाई फाल्ने राम्रो पद्धति विकास भएको थियो कम्युनिष्ट भित्र तर अहिले त्यो हराएर गएको छ । अब राम्रा मान्छे पो फालीने होकी भन्ने चिन्ता जन्माएको छ । यी र यस्ता कुराहरुले कुनै पनि पार्टीका लागि अहित गर्दछ । यसकारण एमालले पार्टी भित्रका नकारात्मक पक्षहरुलाई केलाएर बैलैमा सच्चिनु आवश्यक छ । 
पत्रकार र सम्माननीय अदालतलाई समेत आक्रमण गर्ने अपराधीलाई कसले ग¥यो संरक्षण ? यो प्रश्न अब जनताहरुलाई नगरी प्रहरी प्रशासनलाई गर्नुस् । उत्तर बुँदागत रुपमा आउँछ, १. महेश बस्नेत– प्रहरी प्रशासन परशुराम बस्नेतलाई पक्राउ गर्न खोजी गरि रहँदा काठमाडौंमा खुल्ला कार्यक्रम आयोजना गरी ‘परशुराम हामी सँग छ सक्छौ भने पक्रेर देखाउ’ भनेर युवासँघको बदनाम गराउने खलपात्र । गत शनिवार अदालतले परशुरामको मुद्धाबारे छानविन गरि निर्णय गरिरहँदा त्यसलाई प्रभाव पार्ने गरी युवासँघको पूर्ण समर्थन नभई गुटगत रुपमा विराटनगरमा कार्यक्रम आयोजना गरेर फेरी त्यही ‘परशुराम हामी सँग छ सक्छौ भने पक्रेर देखाउ’ भन्दै चुनौति दिने बस्नेत एण्ड कम्पनीका लिडर । राज्यको चौथो अंक पत्रकारिताको अभिन्न अंग नागरिक दैनिकलाई समेत परशुराम बस्नेतको समाचार छापेर  गल्ती गरेकोले पत्रिका नै बन्द गर्ने र आदरणीय सम्पादकसम्मलाई समेत कारवाही गर्ने खुला चुनौती दिने हिन्दी फिल्मी शैलीका खलनायक । 
२. विनोद ढकाल– परशुरामको मुद्धामा सम्माननीय अदालतलाई छानविन गर्न सहयोग गर्ने भन्ने पार्टी नीति र निर्णय विपरित जिल्लाकमिटिको पनि पूर्ण समर्थन नभईकन आफ्ना केही साथीहरु र परशुरामका सहयोगीको साथमा मोटरसाइकल र कार ¥याली समेत निकालेर परशुरामको समर्थनमा जिल्ला बन्दको आव्हान गर्ने सोही पार्टीका जिल्ला अध्यक्ष समेत रहेका विनोद ढकाल । विराटनगरका एमाले कायकर्ताहरुमध्ये कतिसँग मोटरसाइकल छ र कति सँग कार छ त्यसोको लेखाजोखा गर्ने र कति जना परशुराम निर्दोश छ भनेर जिल्ला बन्द सम्म गर्न समर्थन गर्छन भन्ने कुराको हिसाव राख्ने हो भने भर्खरै विनोद ढकालको नेतृत्वमा भएको कार र मोटरसाइकल ¥यालीमा सहभागी भएका अरु डनहरुको पनि पहिचान हुने थियो ।

Friday, July 1, 2011

नेपाल.............हङकङ यसरी फर्काइयो तर दार्जीलिङ...?

हङकङ चीनलाई फर्काउन ब्रिटेन बाध्य भयो तर सुगौली सन्धिमा गुमेका दार्जीलिङ, कुमाउँ र गढवाल किन फर्काइएका छैनन् ? यो प्रश्न नउठी छाड्दैन र तबसम्म उठिरहनेछ जबसम्म यी प्रदेशहरु नेपालका अधीनमा आउने छैनन् । तर इन्डियाफोबियाबाट मुक्त नभएसम्म यसो हुनु सजिलो हुनेछैन ।
हङकङ फर्काइएको कुरा साधारण र सामान्य होइन तर नेपाल सरकार र नेपालका राजनीतिज्ञ एवं बुद्धिजीविहरु यस प्रसंगबाट विलकूलै अप्रभावित रहनुचाहिं विस्मयकारी घटना हो । ब्रिटेनले चीनलाई हङकङ फर्काएको कारण पनि उनीहरुलाई थाहा नभएको होइन तर हङकङ फर्काइयो भने सुगौलीमा गुमेको नेपाली भू–भाग किन फर्काइँदैन त ? भन्ने प्रश्न गर्दा उनीहरु तयार देखिँदैनन् । केही टिप्पणीकारहरु हङकङ फिर्ता हुने कारण चीनको सामरिक शक्ति हो भन्छन् भने कोही चाहिं हङकङ चीनसँग भाडामा लिएको भूभाग भएको हुँदा चीनलाई फर्काउनु परेको भन्छन् । यदि चीनको सामरिक शक्तिकै कारण हङकङ फर्काइएको हो भने भारतको सामरिक शक्तिका अगाडि नेपाल पनि कमजोर छैन । भारतको स्थलसेनाको सर्वश्रेष्ठ गण नै गोर्खा राइफल्स हो र भारतीय गोर्खा सेनाले नेपाल विरुद्ध कदापि हतियार उठाउने छैन र भारतको अन्य सेनाले नेपालको शाही सेनालाई जित्न मुस्किल मात्र होइन असम्भव नै छ । गोर्खा सेनाको अनुपस्थितिमा भारत एक मिनेट पनि बाँच्न सक्दैन भन्ने भनाइ अतिशयोक्ति होइन र यो भनाइ पनि भारतीय नेतृत्वकै हो । त्यसकारण नेपालले दार्जिलिङ, कुमाउँ र गढवालका विषयमा भारतसँग निर्धक्क भएर कुराकानी गर्न सक्छ । त्यस्तै सुगौलीमा गुमेको भूभाग पनि भाडामा लिएसरह नै हो भन्ने कुरा सुगौली सन्धिको चौथो धाराले पुष्टि गर्छ । त्यसमा भनिएको छ ः

Wednesday, June 15, 2011

गुण्डाराज र भ्रष्ट अर्थराजनीति


'उसले १९ वर्षको उमेरमा भोट किनबेच गर्न लाग्यो। २५ वर्ष पुग्दानपुग्दै विभिन्न संस्थाका पद खरिद गर्न थाल्यो। यसैबीच एक-दुइटा ज्यानस्यान मार्ने काम पनि गरिसकेको थियो। २८ वर्षको उमेरमा ऊ एउटा शक्तिशाली गिरोहको डन भयो र ३० को उमेरमा त एउटा क्षेत्रको निर्विरोध नेतै भयो। पाँच वर्षपछि ऊ न्यायाधीश बन्यो भने ४० वर्षमा त सांसदै बन्यो। सहरका १० हजार नगरबासीलाई ऊ नामबाटै र २० हजार मानिसलाई अनुहारबाट चिन्थ्यो। जजसलाई उसले कल्याण गरेको थियो, तिनको फेहरिस्तमा उसका कट्टरभन्दा कट्टर शत्रु पनि थिए। एकातिर उसले आफ्ना सहकर्मीमा कोही इमानदार पनि छन् भन्ठान्ने भूल कहिल्यै गरेन, अर्कोतिर उसले पहिल्यैदेखि बेइमान व्यक्तिलाई बेइमानै मान्दै बस्ने महाभूल पनि कहिल्यै गरेन।' 
यो कुनचाहिँ अपराधीको राजनीतिक यात्रा-वृत्तान्त होला? कि कुनै देशको राजनीतिक नेताको आपराधिक इतिहासको वर्णन हो? यहाँ वर्णन गरिएका राजनीतिक नेता वा आपराधिक व्यक्ति अमेरिका, भारत वा नेपालका नेता वा डन त होइनन्? होइन, वास्तवमा यो ईसापूर्वको रोमन गणतन्त्रको एक सांसदको वर्णन हो। यो दुई हजार वर्षअघि रोमन गणतन्त्रका सिनेटर लेन्टेलस ग्रेकसको इतिवृत्तान्त हो। सिनेटर ग्रेकस अमेरिकी लेखक हावर्ड फास्टको प्रसिद्ध ऐतिहासिक उपन्यास 'स्पार्टकस' को एउटा पात्र थियो। हावर्ड फास्टले सिनेटर ग्रेकसमार्फत् रोमन राजनीतिको आपराधीकरण वा अपराधको राजनीतिकरणलाई उदांग्याएका थिए। यस्तै व्यक्तिबाट सीमित वर्गको लाभका लागि चलाइन्थ्यो रोमको राजनीति। कयौं शताब्दीसम्म चलाइएको 'लाभको राजनीति'का कारण आपराधीकरण सघन भएको थियो।
रोमन ग्रेकसले चलाएको लाभको राजनीतिकै छायाँ नेपाली राजनीतिमा पनि देखिन्छ। यहाँका राजनीतिक दलमा पनि सीमित वर्गको हितका लागि राजनीतिको आपराधीकरण गर्ने वा अपराधको राजनीतिकरण गर्ने 'ग्रेकस'को खडेरी छैन। हावर्ड फास्टले एक्काइसौं शताब्दीका नेपाली 'ग्रेकस'बारे लेखे भने नेपाली गुण्डाराजको आयामबारे लेख्न पक्कै भुल्दैनथे। त्यो आयाम हो : पहिले विपक्षीलाई आक्रमण गर, त्यसपछि सबैभन्दा पहिले आक्रमणको निन्दा र दोषीमाथि कारबाहीको माग गर। पहिले मरणासन्न हुनेगरी हमला गर अनि घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना पनि गर। घाइते मरिहालेमा चिहानमा सबैभन्दा पहिले फूलको गुच्छा लिएर श्रद्धाञ्जली दिन जाऊ, नभए मृतकको घरमा पत्नीलाई पठाएर गोहीको आँसु चुहाउन लगाऊ। नेपाली गुण्डाराजले अभ्यास गरेको यस्तो 'मानवीय आयाम' स्मरणीय छ। यसको श्रेय एमालेको युथफोर्स, मोरङको जाज्वल्यमान नेतृत्वलाई जान्छ, त्यसलाई राजनीतिक संरक्षणको दोसल्ला ओढाउने वरिष्ठ र प्रभावशाली नेताहरूलाई जान्छ।
एमालेको विघठित मानिने युथफोर्स र गुण्डाराजबीचको नाता खोजकै विषय हो। युथफोर्सको राजनीति कहाँ गएर अपराधको अँध्यारो गल्लीतिर मोडिन्छ अनि अपराधको कुहीगन्धे बाटो कुन राजनीतिक मोडमा जोडिन्छ, अनुसन्धानकै विषय हो। तर अपराधलाई राजनीतिक दोसल्ला ओढाउने र राजनीतिलाई अपराधको टुकुचा बनाउने मामिलामा युथफोर्समात्रै होइन, कुनै पनि युवा संगठन र युवादस्ता पछाडि छैनन्। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणको सिकार हुने र अरूलाई पनि त्यसको सिकार बनाउनेमा युवा संगठनहरू सबैभन्दा अगाडि छन्। त्यसैले सबैभन्दा बदनाम पनि छन्। यसरी युवा राजनीतिको नदीमा अपराधको ढल मिसाएर राजनीतिलाई नै गुण्डाराज र राजनीतिक नेतालाई डनको पर्याय हुनेगरी बदनाम गर्नसक्नु पनि नेपाली 'ग्रेकस'को महान् योगदान हो। यसले युवा वर्गलाई मात्रै होइन, सामान्य जनतालाई पनि 'फोहोरी राजनीति'को टुकुचाबाट टाढै राख्न मद्दत गरेको छ र त्यही 'फोहोरी राजनीति'को आहालमा डुबेर लाभ लिन सीमित वर्गलाई असीमितरूपमा सघाएको छ। बाहुबलको राजनीति, भ्रष्टतम आचरण र आर्थिक स्वार्थपूर्तिको नीतिको सम्मिश्रणबाट बनेको 'भ्रष्ट अर्थ-राजनीति' यतिखेरको मूलधारको राजनीतिक दर्शन र अभ्यास हो।