Friday, July 1, 2011

नेपाल.............हङकङ यसरी फर्काइयो तर दार्जीलिङ...?

हङकङ चीनलाई फर्काउन ब्रिटेन बाध्य भयो तर सुगौली सन्धिमा गुमेका दार्जीलिङ, कुमाउँ र गढवाल किन फर्काइएका छैनन् ? यो प्रश्न नउठी छाड्दैन र तबसम्म उठिरहनेछ जबसम्म यी प्रदेशहरु नेपालका अधीनमा आउने छैनन् । तर इन्डियाफोबियाबाट मुक्त नभएसम्म यसो हुनु सजिलो हुनेछैन ।
हङकङ फर्काइएको कुरा साधारण र सामान्य होइन तर नेपाल सरकार र नेपालका राजनीतिज्ञ एवं बुद्धिजीविहरु यस प्रसंगबाट विलकूलै अप्रभावित रहनुचाहिं विस्मयकारी घटना हो । ब्रिटेनले चीनलाई हङकङ फर्काएको कारण पनि उनीहरुलाई थाहा नभएको होइन तर हङकङ फर्काइयो भने सुगौलीमा गुमेको नेपाली भू–भाग किन फर्काइँदैन त ? भन्ने प्रश्न गर्दा उनीहरु तयार देखिँदैनन् । केही टिप्पणीकारहरु हङकङ फिर्ता हुने कारण चीनको सामरिक शक्ति हो भन्छन् भने कोही चाहिं हङकङ चीनसँग भाडामा लिएको भूभाग भएको हुँदा चीनलाई फर्काउनु परेको भन्छन् । यदि चीनको सामरिक शक्तिकै कारण हङकङ फर्काइएको हो भने भारतको सामरिक शक्तिका अगाडि नेपाल पनि कमजोर छैन । भारतको स्थलसेनाको सर्वश्रेष्ठ गण नै गोर्खा राइफल्स हो र भारतीय गोर्खा सेनाले नेपाल विरुद्ध कदापि हतियार उठाउने छैन र भारतको अन्य सेनाले नेपालको शाही सेनालाई जित्न मुस्किल मात्र होइन असम्भव नै छ । गोर्खा सेनाको अनुपस्थितिमा भारत एक मिनेट पनि बाँच्न सक्दैन भन्ने भनाइ अतिशयोक्ति होइन र यो भनाइ पनि भारतीय नेतृत्वकै हो । त्यसकारण नेपालले दार्जिलिङ, कुमाउँ र गढवालका विषयमा भारतसँग निर्धक्क भएर कुराकानी गर्न सक्छ । त्यस्तै सुगौलीमा गुमेको भूभाग पनि भाडामा लिएसरह नै हो भन्ने कुरा सुगौली सन्धिको चौथो धाराले पुष्टि गर्छ । त्यसमा भनिएको छ ः

नेपाल राज्यका प्रमुख र भारदारहरुको क्षतिपूर्तिका लागि ज–जसको स्वार्थमाथि माथि उल्लिखित अभिधाराले हानि पु¥याएको छ,ब्रिटिश सरकार ती प्रमुखलाई जम्माजम्मी सालाना दुर्ई लाख रुपियाँ पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिजअनुसार समानुपातमा बाँडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।
सुगौली सन्धिपछि खुम्चिएको नेपाल पुनः सुगौलीपूर्वको स्थितिमा जान सक्दैन भन्नु राष्ट्रवाद विरुद्धको कुरा हो र सन्धिको प्रकृतिलाई नबुझीकन बोल्नु हो, नेपाल आमाको छातीमा लात हान्नु हो र नेपालको सिता खाएर भारतको गीता गाउनु हो । नेपाललाई पूर्णरुपमा हराउन सकेको भए वा सुगौली सन्धिपुर्व भएको नेपाल–अंग्रेज लडाइँमा अंग्रेजले जितेको नेपाली भू–भाग फिर्ता हुनुपर्छ भन्ने चेतना आम नेपालीमा विकसित हुन सकेमा भारतले ती भू–भाग अधीनस्थ गरिरहन सक्दैन तर यदि हामी नेपालको हितभन्दा भारतको हित सोच्छौं भने हामीले एकदिन लेन्डुप दोर्जेको नियति भोग्नुपर्नेछ । त्यसैले हङकङ फिर्ता गर्नेसम्बन्धि सन्धिका आलोकमा हामीले सुगौली सन्धिलाई हेर्ने र सोच्ने बानीको विकास गर्नुपर्छ । हामीलाई कसैले हराउन सक्दैन भन्ने आत्मविश्वास हुने हो भने वास्तवमै हामीलाई कसैले हराउन सक्दैन ।

No comments: