Wednesday, May 25, 2011

समाचार पढेर विज्ञ!

विमल गौतम
'संवाददाताहरुलाई जानकार व्यक्ति (स्रोत व्यक्ति) का रुपमा किन प्रस्तुत गरिँदैन? कुनै खास विषयमा वर्षौंदेखि निरन्तर समाचार लेखिरहेको संवाददातालाई त्यस विषयमा जति ज्ञान हुन्छ अरुमा नहुन सक्छ। संवाददातालाई जानकार व्यक्तिका रुपमा छलफल र निर्णय प्रक्रियाहरुमा सहभागी गराउने हो भने सन्तुलित सूचना सम्प्रेषित हुन्छ।' 

नेपाल पत्रकार महासंघका नवनिवार्चित सभापति शिव गाउँलेले केहीपहिले सर्वोच्च अदालत परिसरमा कानुन संवाददाताहरुसँग यसो भनिरहँदा त्यहाँ उपस्थित सञ्चारकर्मीहरू केही बेर घोत्लिन बाध्य भएका थिए। मुलुकमा भइरहने विभिन्न घटनाका विषयमा आफूले रेडियो, टीभी र अन्य बहसहरुमा चिन्दै नचिनेको र सतही ज्ञान भएका व्यक्तिका मुखबाट धेरै चर्का कुरा सुन्नुपर्दा दिक्क लागेको गाउँलेको संकेत थियो, जुन तीतो सत्य थियो। पत्रकारितामा मात्र होइन, अन्य क्षेत्रमा पनि ज्ञान, अनुभव, इमानदारी र योगदान पुर्‍याएका व्यक्तिलाई छायाँमा पारेर म यस क्षेत्रको जानकार हुँ भन्ने र रातारात 'विज्ञ' बन्नेको खेती आजभोलि खुबै फस्टाएको छ। संक्रमणकालीन राजनीति लम्मिदै जाँदा यहाँ मानिसहरु रातारात 'विज्ञ' बनिरहेका छन्। त्यसरी रातारात विज्ञ बनाइदिने काममा विशेषगरी हामी 'निरीह सञ्चारकर्मी' थाहै नपाई माध्यम बनिरहेका छौँ। अर्थात्, हामी संवाददाताहरुले बिहान उज्यालो भएदेखि राति नौ, दस बजेसम्म अहोरात्र खटेर ल्याउने समाचार पढेर वा सुनेर यहाँ रातारात 'विज्ञ' हुनेहरुको लर्को लागेको छ।
एउटा समाचारदाता सारा शक्ति र क्षमता लगाएर समाचार लेख्छ। समाचार तयार पार्न उसलाई निकै मिहिनेत गर्नुपर्छ। थुप्रै व्यक्तिको सम्पर्कमा पुग्नुपर्छ। तीन, चारतिरबाट समाचारको पुष्टि गर्नुपर्छ। समाचारको विषयवस्तु पहिचान गर्नु नै कठिन काम। पहिचान गरेपछि त्यसको गहिराइमा पुगेर, तथ्य स्थापित हुनेगरी समाचार लेख्नु अझै चुनौतीपूर्ण। जनतालाई सूचना, शिक्षा, चेतना वा उत्प्रेरणा मिलोस् भन्ने प्रमुख उद्देश्यले समाचारदाताले समाचार संकलन, लेखन र विभिन्न माध्ययमबाट सम्प्रेषण गरेको हुन्छ। मेरो समाचार सारेर (रुखो शब्दमा भन्नुपर्दा चोरेर) भोलि कुनै निहित स्वार्थ बोकेको विद्वान्ले कुनै पाँचतारे होटेलमा कार्यपत्र प्रस्तुत गरोस्, नेपालीमा लेखिएको समाचारलाई अंग्रेजीमा अनुवाद गरेर वा अंग्रेजी पत्रिकामा छापिएको समाचारको 'कपी/पेस्ट' गरेर नेपाली एवं अंग्रेजी पत्रिकामा आफ्नो नाम र फोटो राखेर लेख छपाओस्, मैले यसरी विचार दिइरहेकेा छु भनेर आफूलाई विज्ञको रुपमा प्रस्तुत गरोस् र त्यसैलाई भजाएर दाताहरुबाट डलर झारेर खेती सञ्चालन गरोस् भन्ने उद्देश्यले संवाददाताले समाचार लेखेका हुँदैनन्। दुर्भाग्य, हामीकहाँ धेरै मात्रामा त्यही भइरहेको छ।
गुणात्मक सेवा दिन नसके पनि संख्यात्मकरूपमा छ्यासछ्यास्ती खुलेका एफएम रेडियो, टीभी र पत्रिकामा आजभोलि 'टक सो', बहस एवं अन्तर्वार्ताका नाममा थुप्रै कार्यक्रम सुन्न, हेर्न र पढ्न पाइन्छ। त्यस्ता 'टक सो' हरुमा बोलाइने 'गेष्ट' मध्ये धेरै त हामीजस्ता 'निरिह सञ्चारकर्मीको' बौद्धिक शोषण गरेर रातारात विज्ञ भएका कथित विद्वान् हुन्। त्यस्ता 'विज्ञ' ले अधिकांश समय हामी सञ्चारकर्मीले लेखेका समाचारलाई मात्रै आधार बनाएर आफ्नो धारणा तय गर्ने गरेका छन्। संवाददाताको समाचार पढेर आफ्नो धारणा बनाउने र त्यसैलाई भजाएर विज्ञ बन्नेको ज्ञान कति सतही हुन्छ भने भूलवस संवाददाताले कुनै गलत तथ्य समाचारमा लेखेको रहेछ भने पनि त्यस्ता 'विज्ञ' हरु त्यही गलत तथ्यको प्रचार गर्दै हिँडेका हुन्छन्। हिजोआज धेरैले यस्तो खेती चलाएका छन्। यस्तो खेती चलाउनेमा विशेष गरी विभिन्न एनजीओ/आइएनजीओमा काम गर्नेहरू छन्। उनीहरुले लेख्ने लेखमा यस्तै झल्कन्छ।
दोष कथित विज्ञको मात्र छैन। हाम्रै सञ्चारमाध्ययमको बढी छ। को कस्तो हो, त्यसको पृष्ठभूमि के हो, कुनै एनजीओ/आइएनजीओमा काम गर्छ/गर्दैन, उसको निहित स्वार्थ लुकेको छ/ छैन, ऊ वास्तविक विज्ञ हो/ होइन, उसले पत्रिकामा लेख छपाएर दातालाई रिझाउने वा प्रभाव पार्ने काम गर्न खोजेको छ/छैन भन्ने ख्यालै नगरी सञ्चारमाध्ययमले कार्यक्रममा निम्त्याउने र बोल्न लगाउने प्रवृत्ति छ। यस्तो प्रवृत्ति बन्द गर्ने हो भने यस्ता कथित विज्ञहरु त्यसै बिलाएर जानेछन् र त्यस्तालाई कसैले 'भ्यालु' दिने छैन। 
कुनै व्यक्तिले पत्रिकामा छापिएको समाचार पढेर आफ्नो विचार बनाउनै पाउँदैन भन्न खोजेको होइन। पाउँछ। तर, त्यही समाचार सारेर, थोरै थपघट गरेर यो मेरो विचार हो भन्ने र त्यसैलाई प्रयोग गरेर आफ्नो एनजिओ खेती गर्ने काम पत्रकारिता र लेखकको आचारसंहिताभित्र पर्दैन। त्यसो गर्नु बौद्धिक ठगी हो। संवाददाताको चरम बौद्धिक शोषण हो।

सञ्चारमाध्ययमले सम्बन्धित बिटमा काम गरेको समाचारदातालाई नै ज्ञानको स्रोत व्यक्तिका रुपमा किन नस्विकारेका हुन्? वर्षौँदेखि एउटा क्षेत्रमा निरन्तर काम गरिरहेको संवाददाता विश्लेषक, स्रोत व्यक्ति वा विज्ञका रुपमा काम गर्न सक्दैन र? कुनै सार्वजनिक बहसमा त्यस्तो संवाददातालाई निम्त्याउन सकिँदैन? सकिन्छ। संवाददाताले विश्लेषकका रुपमा पनि काम गर्न सक्छ। तर, अवसर दिनुपर्छ। पत्रकार महासंघका सभापति गाउँलेले भनेजस्तो संवाददातालाई नै स्रोत व्यक्तिका रुपमा स्वीकार गर्ने हिम्मत गर्नु जरुरी भइसकेको छ। सञ्चार उद्योग राम्ररी फस्टाएको विदेशी मुलुकमा संवाददातालाई कसरी हेरिन्छ त?
केहीपहिले यो पंक्तिकार 'खोजमूलक पत्रकारिता' सम्बन्धित एक कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुग्दा त्यहाँ संवाददाताहरुलाई गरिने व्यवहारबारे सिक्न मद्दत मिलेको थियो। कार्यक्रम लामो थियो। खोजमूलक पत्रकारितासम्बन्धी थुप्रै छलफल, बहस, भेटघाट र कार्यक्रममा सहभागी हुनुपर्ने थियो। आफ्नो मुलुकमा र अमेरिकामा संवाददातालाई गरिने व्यवहारबीच के कति समानता र भिन्नता रहेछन् भन्ने जान्न मन लागेको थियो। अमेरिकामा संवाददाताहरुलाई स्रोत व्यक्तिका रुपमा स्वीकार गर्ने, छलफलहरुमा विषय हेरेर सम्बन्धित क्षेत्रको संवाददातालाई नै प्राथमिकता दिने चलन रहेछ। अमेरिकी चर्चित अखबारहरु द वासिंगटन पोस्ट, द न्यूयोर्क टाइम्स, द डलास मर्निङ, अमेरिकाका चर्चित रेडियोहरु नेसनल पब्लिक रेडियो (एनपीआर), भ्वाइस अफ अमेरिका (भोओए), सीएनएन, एबीसी टिभीजस्ता प्रतिष्ठित सञ्चार माध्यमका अनुसन्धान संवाददाताहरुले छलफलमा सहभागी पत्रकारलाई प्रशिक्षण दिए। आफ्ना अनुभव सुनाए। ज्ञानगुनका कुरा बाँडे। अमेरिकामा सरकार र गैरसरकारी पक्षले पनि संवाददाताको त्यस्तो उपस्थितिलाई प्राथमिकता दिने गरेका रहेछन्। अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टले बर्सनी निम्त्याइने विदेशी भिजिटरलाई प्रशिक्षण दिन संवाददाताहरुको सूची पहिले नै तयार पारेर राख्दो रहेछ। युरोप र अन्य विकसित मुलुकमा पनि संवाददातालाई यस्तै व्यवहार हुन्छ भन्ने पढ्न र सुन्न पाइन्छ।
प्रशिक्षणहरुमा मात्र होइन, विषय हेरेर संवाददातालाई सञ्चारमाध्ययले बहसहरुमा पनि निम्त्याउने र सहभागी गराउँछन्। कतिपय कुरा संवाददाताले समाचारमा लेख्न नमिल्ने तर बाहिर बहसमा ल्याउन सक्ने प्रकृृतिका हुन्छन्। कुनै विषय र त्यससँग सम्बन्धित अधिकारीलाई संवाददाताले वर्षौँदेखि नियालिरहेको, अध्ययन एवं अनुभव गरिरहेको हुन्छ। त्यस क्रममा उसले विभिन्न रोचक, प्रेरणादायी, कुरा सिकेको र अनुभव गरेको हुन्छ। कुनै विषय र व्यक्तिसँग संवाददाता धेरै हदसम्म परिचित हुन्छ। यति धेरै ज्ञान र अनुभव भएको संवाददातालाई छलफलमा, सञ्चार माध्यमका अन्तर्वार्ताहरुमा सहभागी गराउँदा वास्तविक र सन्तुलित सूचनाले ठाउँ पाउनेछ। जनता सूचित र शिक्षित हुनेछन्
source: nagariknews.com

Tuesday, May 10, 2011

सहरलाई निद्रा लाग्दैन

- सी के लाल
सहर सम्भावनाको ढोका हो। अवसरको खोजीमा युवा सहर पस्छन् र सपना निख्रिएपछि गाउँ फर्किने चाहनामा रमाउन थाल्छन्। तर, माकुरी जालोमा एकपटक अल्झिसकेपछि फुत्किन असम्भवजस्तै हुन पुग्दोरहेछ। छटपटिँदा गाँठो झनै कसिँदै जान्छ र सहर अन्ततः रहरको कारागारमा परिणत हुन्छ। छटपटीमा बित्ने गर्छ सहरमा जीवन।
नेपालका लागि काठमाडौँ ठूलो सहर भएजस्तै तेस्रो विश्वका महत्वाकांक्षी युवाका लागि सिंगो अमेरिका नै विशाल आकर्षण केन्द्र हो। गरिबी, द्वन्द्व एवं पछौटेपनमा ग्रस्त मुलुकका युवा सुख, सुविधा एवं शान्तिको खोजीमा महादेशरूपी अमेरिका 'सहर'मा पस्छन्। र, सम्पन्नता प्राप्त भएपछि कुनै दिन आआफ्ना घर फर्किने आशामा संघर्ष गर्न थाल्छन्। घर फर्किने दिन भने धेरैजसोका लागि कहिल्यै आउँदैन। किनभने अन्ततः घर त्यहीँ हो जहाँ व्यक्ति आफ्ना आकांक्षाको परिपूर्तिका लागि संघर्ष गर्छ। जीवनका अँध्याराउज्याला पक्ष भोग्छ।
सही तथ्यांक कसैसँग छैन। अन्य गरिब र अविकसित देशबाट अमेरिका छिरेका आगन्तुकजस्तै न्युयोर्कमा कार्यरत नेपालीमध्ये धेरै गैरकानुनीरूपमा बसेका हुन सक्छन्। यद्यपि, जनगणनामा भाग लिन कुनै रोकटोक छैन। तर, कागजपत्र नमिलेकाहरू सामान्यतः आफ्नो हैसियत सार्वजनिक हुने डरले कतै गनिन वा जोडिन चाहँदैनन्। त्यसैले नेपालीको संख्याबारे यकिन गर्न गाह्रो छ, न्युयोर्कजस्तो ठूलो सहरमा। केही अमेरिकी अनुसन्धानकर्ताको आकलनमा झन्डै ५० हजार नेपाली न्युयोर्क- न्यु जर्सी क्षेत्रमा मात्रै छन्। त्यो संख्या अलि ठूलै लाग्छ। तर, न्युयोर्कमै कार्यरत जनकपुर मूलघर भएका चिकित्सक विनोद शाहको अनुमान पनि खासै फरक छैन। उनका आकलनमा अमेरिका र क्यानाडामा रहेका झन्डै पाँच लाख नेपालीमध्ये कम्तीमा ३५ हजार जति संसारको पुँजीवादको राजधानीसरह रहेको न्युयोर्क महानगर क्षेत्रमा बसोबास गर्छन्।
न्युयोर्क सही अर्थमा 'सहर' हो, मोटो 'श' भएको रहरहरुको महल। ( नेपाली भाषाका शुद्धतावादीले उर्दुवाद सापट लिइएको शब्दलाई पातलो पारेर 'सहर' बनाइदिएका छन्। मूल उर्दुमा सहरको अर्थ बिहानी पखको समय हुन्छ। 'शहर' मा भने कहिल्यै 'सहर' हुँदैन। बिहानी भयो भने बत्ती निभाउनुपर्ने हुन्छ। झिलिमिली सकिन्छ। सपनाबाट बिउँझिन्छ। र, त्यसपछि सहर अर्कै बन्न पुग्छ।) सहरको जीवन्तता नै चमक र कृत्रिमता हो। त्यस्तो कृत्रिमताको शक्ति बेगर सहरका बासिन्दा दिनहुँ नियमित संघर्षलाई बोक्न सत्तै्कनन्। न्युयोर्कका नेपाली अमेरिकामा बस्छन्, तर काठमाडौंका राजनीतिक गतिविधिबारे अलि बढी नै जानकार रहेको भ्रममा बाँच्न रुचाउँछन्। केहीलाई लाग्दो हो, तिनका चासो र चिन्ता सहीरूपमा देशप्रेम हो। धेरैजसो भने आफ्ना जीवनका खिन्नतालाई नेपालको अस्तव्यस्तताबारे चिन्ताभित्र लुकाइरहेकाजस्ता देखिन्छन्।
भनिन्छ, नेपाली समुदायको अन्तक्रिया पहिले प्रायशः दसैँतिहारमा मात्र हुनेगर्थ्यो रे। अब भने स्थिति बदलिएको छ। नेपालका राजनीतिकर्मी, अधिकारकर्मी एवं गैससकर्मीका लागि नयाँ दिल्लीपछिको दोस्रो सबभन्दा 'नजिक' टाढाको सहर न्युयोर्क बन्न पुगेको छ। संयुक्त राष्ट्रसंघ एवं त्यससँग सम्बद्ध निकायले नेपालका प्रभावशाली व्यक्तिलाई आकर्षित गरिरहेका हुन्छन्। ठुल्ठुला अन्तर्राष्ट्रिय गैससले पनि धेरैजसो आफ्नो उपस्थिति यहाँ कायम गरिरहेकै छन्। त्यस्तै नेपालमा रुचि भएका अमेरिकी अनुसन्धानकर्मीको जमात पहिले पनि सानो थिएन, अब झन्झन् ठूलो हुँदै गइरहेको छ। माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षमा बन्द गरिएको 'पीस कोर' कार्यक्रम पुनः सुरु गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ। यस्ता सबै गतिविधिको सम्मिलित असरले होला, नेपालबारे केही न केही कार्यक्रम कतै न कतै भइरहेकै हुन्छ। पातालमा हुने गरेका त्यस्ता अन्तर्क्रिया, चासो र चिन्ताको असर नेपालमा कस्तो हुने हो भन्ने चाहिँ अहिले अनुमान गर्न गाह्रो छ। तर नेपाली राजनीतिमा अमेरिकी प्रभाव आउँदा दिनमा बढ्दै जाने सम्भावना भने टड्कारो छ। त्यस्तो प्रक्रियाका सम्भाव्य जटिलताले नेपालका छिमेकीहरूसँगको सम्बन्धमा पार्नसक्ने प्रभावबारे जागरुक भइराख्न जरुरी हुनेछ। 

सम्बन्धको जालो

नेपालको प्रभावशाली प्रशासक एवं सैनिक अधिकारी आफ्ना छोराछोरीको भविष्य अमेरिकाबाहेक अन्त कतै सुरक्षित देख्दैनन् भन्ने धारणा आधारहीन छैन। डाक्टर, इन्जिनियरका सन्तान एवं वकिल, परामर्शदाताका छोराज्वाइँको आंकाक्षा नै संसारको सबभन्दा 'तीखो' ज्ञान हासिल गर्ने र प्रयोग गर्ने हुन्छ। ती ढिलोचाँडो घुम्दैफिर्दै अमेरिका आइपुग्ने गर्छन्। आजकल के भन्ने गरिन्छ भने गोरखाली सैनिक बेलायतमा बस्न थालेपछि बेलायतीले आफ्ना छरछिमेकलाई भन्छन्, 'मिट मिस्टर गुरुङ एन्ड मिस्टर गुरुङ। दे आर अल फ्रम नेपाल।' न्युयोर्कका नेपालीको थर फरकफरक हुनसक्छ तर आर्थिकरूपले अपेक्षाकृत सहज जीवन बिताइरहेकाको सोच भने काठमाडौंको उच्च मध्यम वर्गका व्यक्तिभन्दा खासै फरक हुँदैन : ती अपवादबाहेक जुन पृष्ठभूमिबाट आएका भए पनि प्रायशः ब्राह्मणवादी छन्। ब्राह्मणवादीहरू योग्यताको कुरा गर्छन्। समावेशिताको खिल्ली उडाउँछन्। राजनीतिकर्मीलाई समस्याका रूपमा देख्छन्। संघीयताको विरोध गर्छन्। र, देशमा 'अवसर' नपाएकाले पाताल पलायन हुनुपरेको तीतो पोख्छन्। त्यस जमातभित्र कुनै बेला नेपाली कांग्रेसको प्रभाव हुनेगर्थ्यो। आजभोलि ती नयाँ राजनीतिक दर्शनको खोजीमा छन्। एमालेको नीतिप्रति सहानुभूति व्यापक छ। तर, अमेरिकामा खुल्लमखुल्ला 'मार्क्सवादी-लेनिनवादी' दलसँग सम्बद्ध रहेको तथ्य स्वीकार गर्न गाह्रो हुन्छ। 
जोखिमपूर्ण काममा संलग्न अर्धशिक्षित नेपाली भने नेपालमा अवसर नपाएर अमेरिका आउनुपरेको भन्दैनन्। निर्माण कामदारमा नेपालमा भएको काम छोडेर बढी लाभको आशमा विदेशिएकाको बाहुल्य छ। तीमध्ये कति त कोरिया-मलेसिया-कतार पछि आउने पनि छन्। माओवादीप्रति यस समूहमा आर्कषण छ। सम्भवतः आफ्नो राजनीतिक दलका लागि आर्थिक सहयोग गर्ने उत्साह शारीरिक कामदारमा अपेक्षाकृत बढी हुने गर्छ। खुलारूपमा राजनीतिक गतिविधि गर्ने हच्किए पनि न्युयोर्कमा लोकप्रियताका दृष्टिले सायद देव गुरुङका सर्मथक सुशील कोइरालाका अनुयायीभन्दा धेरै छन्। फरक केमात्र हो भने मनाङबाट आएका गुरुङहरू आफ्ना राजनीतिक प्राथमिकता सार्वजनिक गर्दै हिँडदैनन्।

केही समय अगाडिसम्म पातलो रहेको मधेसी समुदाय सानो हुँदासम्म तीमध्ये केहीले नेपाली कार्यक्रममा अग्रसरता देखाए पनि अधिकांश एक्लिएरै बस्ने गर्थे। अब भने तिनको सक्रियता पनि बढ्न थालेको छ। अमेरिकामा आउने मधेसीमा अहिले पनि अदक्ष कामदार थोरै छन्। अधिकांश पेसागत शिक्षा प्राप्त व्यक्ति छन्। त्यसको असर तिनका राजनीतिक महत्वाकांक्षामा देख्न सकिन्छ । ती अब आफ्नो हैसियतअनुसारको 'आवाज' चाहन्छन्। मधेसवादी दलबाहेककाले त्यस्तो अवसर उपलब्ध गराउनसक्ने सम्भावना न्यून भएकाले उपेन्द्र यादवको आर्कषण न्युयोर्क क्षेत्रका मधेसी माझ कम भएको छैन। त्यसको राजनीतिक लाभ उति साह्रो नभए पनि प्रचारात्मक फाइदा भने पर्याप्त पाउनसक्छ- मधेसी जनअधिकार फोरम, नेपालले।
अमेरिकामा रहेका जनसंख्या समूहको प्रभाव मूल देशमा प्रायः दक्षिणपन्थी प्रकृतिको हुनेगर्छ। नेपाली कांग्रेसका अमेरिकी सर्मथकले समाजवादी दललाई अनुदारवादी बनाइसकेका छन्। एमालेका राजनीतिक सहयात्री प्रायः उसै पनि यथास्थितिवादी नै हुने गर्छन्। तर, माओवादी एवं मधेसवादीका अमेरिकी सहयोगीसमेत तीव्र परिवर्तनका पक्षमा नदेखिनुलाई भने विडम्बनै मान्नुपर्छ। न्युयोर्कको हावापानी नै सायद त्यस्तो छ, यस सहरभित्र छिरेपछि प्रत्येक व्यक्ति आफ्नो हितप्रति पूर्णतः समर्पित बन्न पुग्छन्। 
सामाजिक रूपान्तरणको मुद्दा गौण हुन जान्छ। लेखक बन्न चाहने एक जना बगंलादेशी मूलका युवाका अनुसार क्रान्तिकारी विचारअनुकूलको वातावरण खोज्ने हो भने युरोपमा लन्डन वा पेरिसतिर आश्रय खोज्नुपर्छ। अमेरिकाले क्रान्ति होइन, प्रतिक्रान्तिका पाठमात्र सम्प्रेषित त गर्नसक्छ। सायद त्यो सन्देश अमेरिकामा रहेका विभिन्न दलका नेपाली सर्मथकले प्रवाहित गर्न थालिसकेका छन्। 

विकल्पको अभाव

विडम्बना, नेपालबारे जानकारी राख्ने अमेरिकी बुद्धिजीवी भने आफ्ना नेपाली सहकर्मीभन्दा ठूलो स्वरले परिवर्तनका पक्षमा कुरा गर्न रुचाउँछन्। तिनलाई सायद थाहा छ, नेपालमा भइरहेका आन्दोलनहरू अहिले विध्वंशजस्तो देखिए पनि अन्ततः स्थायित्वका लागि सहयोगी ठहरिनेछन्। अमेरिकाको सामरिक हितसँग प्रत्यक्षरूपमा नेपाल गाँसिएको छैन। तर कुनै बेला बेलायतले समाल्ने गरेको दक्षिण एसियाको भूराजनीतिक प्रहरीको भूमिका अब अमेरिकाले अंगीकार गरिसकेको छ। अमेरिकाको अस्थायी राजदूत पिटर वर्ली नेपालबारे जानकार व्यक्ति मानिन्छन्। उनी नयाँ दिल्लीमा द्विपक्षीयका साथै क्षेत्रीय मुद्दाबारे पनि क्रियाशील भए भने अचम्म मान्नुपर्ने छैन। नेपालमा भारत र अमेरिकाका रुचिहरू अझै पनि एउटै रेखामा छन्। त्यो अवस्था तत्काल बदलिने छाँटकाँट देखिँदैन, बरु अझ सुदृढ हुनसक्छ। भारतीयको तुलनामा अमेरिकी बरु नेपालको निरन्तर पछौटेपनबारे अलि बढी संवेदनशील देखिन्छन्। तिनको सक्रियता भने पूर्वाधार क्षेत्रमा लगानीको साटो असन्तुष्टि व्यवस्थापनतिर लक्षित हुनसक्छ। नेपालबारे चासो राख्ने अमेरिकी लगानी वा सहयोगको कुरा गर्दैनन्। ती नयाँ गैससले गर्नसक्ने सकारात्मक हस्तक्षेपबारे जान्न चाहन्छन्। बगंलादेशमा जस्तै गैसस क्रान्ति नेपालमा आउनसक्छ वा सक्दैन भन्ने प्रश्न उठाउँछन्। त्यस्ता अभिरुचिले मूर्तरूप लिने हो भने राजनीतिकर्मीको भूमिका न्यून हुँदै जानेछ। र, एमाले पथमा लाग्न अन्ततः माओवादी पनि बाध्य हुनेछन्।
सकारात्मक नकारात्मक जेजस्तो भए पनि अमेरिकामा रहेका नेपाली एवं अमेरिकी अनुसन्धानकर्मीको रुचि उत्साहबर्धक भने पक्कै हो। संसारका सबै देशको आकासे छिमेकी बन्न पुगेको अमेरिकाको अर्थतन्त्र ओरालो लागेको भए पनि यस देशको सामरिक, सैनिक, आर्थिक, प्रचारात्मक एवं वौद्धिक वजन बाँकी विश्वको संयुक्त प्रभावभन्दा पनि अझै बढी नै छ। यस सम्बन्धलाई नेपालले कसरी प्रयोग गर्ने भन्ने नेपाली स्वयंले निर्धारण गर्नुपर्नेछ। भारतको छाया एवं चीनको प्रतिच्छाया नेपालको भौगोलिक वास्तविकता हो। तर संसारका सबै सुविधाभोगीहरू कमोवेश अमेरिकी बन्दै गइरहेको भूमण्डलीकृत विश्वमा अमेरिकाको चासो र चिन्तालाई नेपालका नीति निर्माताले बेवास्ता गर्न सक्तैनन्। अमेरिकामा रहेका नेपालीले मात्र पनि त्यस्तो हुन दिने छैनन्। चुनौती भने अमेरिकी प्राथमिकतालाई नेपालका आवश्यकतासँग समायोजन गर्ने सम्भावना पहिल्याउने हो। त्यसका लागि नियमित भ्रमण पर्याप्त छैनन्। अमेरिकामा अध्ययन गर्ने विज्ञको सानै भए पनि प्रतिबद्ध समूह तयार गर्ने अग्रसरता लिएर आफ्नो क्षमता वृद्धि गर्नु जरुरी भइसकेको छ। संसारको राजधानीलाई निन्द्रा लाग्दैन। सहयोग र सहकार्य गर्न नेपाल पनि अब बिउँझिनुपर्छ
SOURCE: NAGARIKNEWS

Friday, May 6, 2011

नेपालीको स्वाभीमान वेचिएको दिन

पूर्ण रुपमा स्वतन्त्र भइसकेको भारतसँग जीर्ण प्रायः राणाशासन भयभित हुनु स्वभाविक थियो । त्यसैले अंग्रेजहरुको भक्ति गरी आफूलाई नेपालका शक्तिशाली ठान्ने राणाहरुको भारतबाट अंग्रेजहरु हटेपछि नयाँ मालिकलाई रिझाउने उपाय खोज्न थाले । अंग्रेजलाई हटाए पनि उही मानसिकता बोकेका भारतीय शासकहरुले नेपालका राणा शासकहरुलाई उपयुक्त अनुचरका रुपमा भेट्टाएपछि आफ्नो स्वार्थ सिद्धिका निम्ति उनीहरुले राणाहरुको प्रयोग र उपयोग गरे । सन् १९५० जुलाई ३१ तारिखका दिन भएको १० सूत्रीय नेपाल भारत सन्धि यसैको परिणाम हो ।
नेपाल–भारतबीच भएको उक्त सन्धि नेपाली पक्षबाट प्रस्तावित भए पनि सन्धिको मस्यौदा पूर्णतः भारतीय पक्षबाट भएको थियो । त्यसैले उक्त सन्धिमा भारतले आफ्नो स्वार्थलाई प्राथमिकता दिएको स्पष्टै देखिन्छ ।
साम्राज्यवादीहरुलाई हटाएकोमा घमण्डले फुलेको भारतीय पक्षले नेपाल ब्रिटिशहरुकै संरक्षण र समर्थन प्राप्त देश हो भन्ने राम्ररी बुझेको थियो । भारतबाट ब्रिटिशहरुको पलायनपछि नेपालले भारतका नयाँ शासकसँग मित्रता राख्नु अनिवार्य यसकारण भएको थियो । त्यसबेला नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई भारतले सहयोग दियो भने आफ्नो शासन समाप्त हुनेछ भन्ने भय राणाहरुलाई थियो । त्यस्तै भारतका नयाँ शासकहरु नेपालले चीनसँग सन्धि गरेर नयाँ सम्बन्ध स्थापित गरिहाल्ने पो हो कि भन्ने आशंकाले ग्रस्त थिए । यसरी दुवै पक्ष फरक फरक स्वार्थका कारण एउटा बिन्दुमा उभिन पुगेका थिए । स्वार्थ फरक फरक भए पनि भारतीयहरु भारतको दीर्घकालीन स्वार्थ कसरी सिद्ध गर्न सकिन्छ भन्ने बारेमा सचेत थिए भने राणाहरु डुब्न लागेको मान्छेले घाँसको त्यान्द्रोलाई पनि सहारा ठानेझैं मनस्थितिमा पुगेका हुँदा भारतीय स्वार्थका सामु घुँडा टेक्न तयार थिए । तर यति हुँदाहुँदै पनि राणा शासकहरुले उक्त सन्धिले मस्यौदालाई यथावत रुपमा स्वीकार्न नसक्ने अडान लिएका थिए । तर राणा शासकहरु आफ्नो अडानमा पछिसम्म कायम रहन सकेनन् । भारतीय पक्षले गरेको मस्यौदामा संशोधन नगर्ने कुरामा तात्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले अडान मात्र लिएनन् सन्धिको मस्यौदामा संशोधन चाहने नेपाली पक्षलाई नराम्रोसँग धम्क्याएर भयभीत तुल्याई सन्धिमा हस्ताक्षर गर्न बाध्य गरे । त्यसैले यो सन्धि गर्ने दुई पक्षको मानसिकतामा फरक हुँदा हुँदै पनि सन्धिमा हस्ताक्षर भएको हुँदा यो सन्धि असमान हुन पुगेको हो । यो सन्धिमा साधारण कुटनैतिक मर्यादाको पालना भएको छैन ।  
एउटा स्वतन्त्र देशले अर्को सार्वभौमसत्ता सम्पन्न देशसित सन्धि गर्दा ती दुवै देशका हस्ताक्षरकारी अधिकारीहरु समान स्तरका हुनु आवश्यक छ तर यहाँ नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री मोहनशमशेर र भारतका तर्फबाट नेपालका लागि भारतका तत्कालीन राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरेका छन् । हार्ने पक्षमाथि जित्ने पक्षले तल्लो स्तरको व्यवहार गरेझैं भारतको नेपालप्रतिको हेपाहा प्रवृत्ति यहाँ स्पष्ट रुपमा देखिएको छ ।