Tuesday, May 10, 2011

सहरलाई निद्रा लाग्दैन

- सी के लाल
सहर सम्भावनाको ढोका हो। अवसरको खोजीमा युवा सहर पस्छन् र सपना निख्रिएपछि गाउँ फर्किने चाहनामा रमाउन थाल्छन्। तर, माकुरी जालोमा एकपटक अल्झिसकेपछि फुत्किन असम्भवजस्तै हुन पुग्दोरहेछ। छटपटिँदा गाँठो झनै कसिँदै जान्छ र सहर अन्ततः रहरको कारागारमा परिणत हुन्छ। छटपटीमा बित्ने गर्छ सहरमा जीवन।
नेपालका लागि काठमाडौँ ठूलो सहर भएजस्तै तेस्रो विश्वका महत्वाकांक्षी युवाका लागि सिंगो अमेरिका नै विशाल आकर्षण केन्द्र हो। गरिबी, द्वन्द्व एवं पछौटेपनमा ग्रस्त मुलुकका युवा सुख, सुविधा एवं शान्तिको खोजीमा महादेशरूपी अमेरिका 'सहर'मा पस्छन्। र, सम्पन्नता प्राप्त भएपछि कुनै दिन आआफ्ना घर फर्किने आशामा संघर्ष गर्न थाल्छन्। घर फर्किने दिन भने धेरैजसोका लागि कहिल्यै आउँदैन। किनभने अन्ततः घर त्यहीँ हो जहाँ व्यक्ति आफ्ना आकांक्षाको परिपूर्तिका लागि संघर्ष गर्छ। जीवनका अँध्याराउज्याला पक्ष भोग्छ।
सही तथ्यांक कसैसँग छैन। अन्य गरिब र अविकसित देशबाट अमेरिका छिरेका आगन्तुकजस्तै न्युयोर्कमा कार्यरत नेपालीमध्ये धेरै गैरकानुनीरूपमा बसेका हुन सक्छन्। यद्यपि, जनगणनामा भाग लिन कुनै रोकटोक छैन। तर, कागजपत्र नमिलेकाहरू सामान्यतः आफ्नो हैसियत सार्वजनिक हुने डरले कतै गनिन वा जोडिन चाहँदैनन्। त्यसैले नेपालीको संख्याबारे यकिन गर्न गाह्रो छ, न्युयोर्कजस्तो ठूलो सहरमा। केही अमेरिकी अनुसन्धानकर्ताको आकलनमा झन्डै ५० हजार नेपाली न्युयोर्क- न्यु जर्सी क्षेत्रमा मात्रै छन्। त्यो संख्या अलि ठूलै लाग्छ। तर, न्युयोर्कमै कार्यरत जनकपुर मूलघर भएका चिकित्सक विनोद शाहको अनुमान पनि खासै फरक छैन। उनका आकलनमा अमेरिका र क्यानाडामा रहेका झन्डै पाँच लाख नेपालीमध्ये कम्तीमा ३५ हजार जति संसारको पुँजीवादको राजधानीसरह रहेको न्युयोर्क महानगर क्षेत्रमा बसोबास गर्छन्।
न्युयोर्क सही अर्थमा 'सहर' हो, मोटो 'श' भएको रहरहरुको महल। ( नेपाली भाषाका शुद्धतावादीले उर्दुवाद सापट लिइएको शब्दलाई पातलो पारेर 'सहर' बनाइदिएका छन्। मूल उर्दुमा सहरको अर्थ बिहानी पखको समय हुन्छ। 'शहर' मा भने कहिल्यै 'सहर' हुँदैन। बिहानी भयो भने बत्ती निभाउनुपर्ने हुन्छ। झिलिमिली सकिन्छ। सपनाबाट बिउँझिन्छ। र, त्यसपछि सहर अर्कै बन्न पुग्छ।) सहरको जीवन्तता नै चमक र कृत्रिमता हो। त्यस्तो कृत्रिमताको शक्ति बेगर सहरका बासिन्दा दिनहुँ नियमित संघर्षलाई बोक्न सत्तै्कनन्। न्युयोर्कका नेपाली अमेरिकामा बस्छन्, तर काठमाडौंका राजनीतिक गतिविधिबारे अलि बढी नै जानकार रहेको भ्रममा बाँच्न रुचाउँछन्। केहीलाई लाग्दो हो, तिनका चासो र चिन्ता सहीरूपमा देशप्रेम हो। धेरैजसो भने आफ्ना जीवनका खिन्नतालाई नेपालको अस्तव्यस्तताबारे चिन्ताभित्र लुकाइरहेकाजस्ता देखिन्छन्।
भनिन्छ, नेपाली समुदायको अन्तक्रिया पहिले प्रायशः दसैँतिहारमा मात्र हुनेगर्थ्यो रे। अब भने स्थिति बदलिएको छ। नेपालका राजनीतिकर्मी, अधिकारकर्मी एवं गैससकर्मीका लागि नयाँ दिल्लीपछिको दोस्रो सबभन्दा 'नजिक' टाढाको सहर न्युयोर्क बन्न पुगेको छ। संयुक्त राष्ट्रसंघ एवं त्यससँग सम्बद्ध निकायले नेपालका प्रभावशाली व्यक्तिलाई आकर्षित गरिरहेका हुन्छन्। ठुल्ठुला अन्तर्राष्ट्रिय गैससले पनि धेरैजसो आफ्नो उपस्थिति यहाँ कायम गरिरहेकै छन्। त्यस्तै नेपालमा रुचि भएका अमेरिकी अनुसन्धानकर्मीको जमात पहिले पनि सानो थिएन, अब झन्झन् ठूलो हुँदै गइरहेको छ। माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षमा बन्द गरिएको 'पीस कोर' कार्यक्रम पुनः सुरु गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ। यस्ता सबै गतिविधिको सम्मिलित असरले होला, नेपालबारे केही न केही कार्यक्रम कतै न कतै भइरहेकै हुन्छ। पातालमा हुने गरेका त्यस्ता अन्तर्क्रिया, चासो र चिन्ताको असर नेपालमा कस्तो हुने हो भन्ने चाहिँ अहिले अनुमान गर्न गाह्रो छ। तर नेपाली राजनीतिमा अमेरिकी प्रभाव आउँदा दिनमा बढ्दै जाने सम्भावना भने टड्कारो छ। त्यस्तो प्रक्रियाका सम्भाव्य जटिलताले नेपालका छिमेकीहरूसँगको सम्बन्धमा पार्नसक्ने प्रभावबारे जागरुक भइराख्न जरुरी हुनेछ। 

सम्बन्धको जालो

नेपालको प्रभावशाली प्रशासक एवं सैनिक अधिकारी आफ्ना छोराछोरीको भविष्य अमेरिकाबाहेक अन्त कतै सुरक्षित देख्दैनन् भन्ने धारणा आधारहीन छैन। डाक्टर, इन्जिनियरका सन्तान एवं वकिल, परामर्शदाताका छोराज्वाइँको आंकाक्षा नै संसारको सबभन्दा 'तीखो' ज्ञान हासिल गर्ने र प्रयोग गर्ने हुन्छ। ती ढिलोचाँडो घुम्दैफिर्दै अमेरिका आइपुग्ने गर्छन्। आजकल के भन्ने गरिन्छ भने गोरखाली सैनिक बेलायतमा बस्न थालेपछि बेलायतीले आफ्ना छरछिमेकलाई भन्छन्, 'मिट मिस्टर गुरुङ एन्ड मिस्टर गुरुङ। दे आर अल फ्रम नेपाल।' न्युयोर्कका नेपालीको थर फरकफरक हुनसक्छ तर आर्थिकरूपले अपेक्षाकृत सहज जीवन बिताइरहेकाको सोच भने काठमाडौंको उच्च मध्यम वर्गका व्यक्तिभन्दा खासै फरक हुँदैन : ती अपवादबाहेक जुन पृष्ठभूमिबाट आएका भए पनि प्रायशः ब्राह्मणवादी छन्। ब्राह्मणवादीहरू योग्यताको कुरा गर्छन्। समावेशिताको खिल्ली उडाउँछन्। राजनीतिकर्मीलाई समस्याका रूपमा देख्छन्। संघीयताको विरोध गर्छन्। र, देशमा 'अवसर' नपाएकाले पाताल पलायन हुनुपरेको तीतो पोख्छन्। त्यस जमातभित्र कुनै बेला नेपाली कांग्रेसको प्रभाव हुनेगर्थ्यो। आजभोलि ती नयाँ राजनीतिक दर्शनको खोजीमा छन्। एमालेको नीतिप्रति सहानुभूति व्यापक छ। तर, अमेरिकामा खुल्लमखुल्ला 'मार्क्सवादी-लेनिनवादी' दलसँग सम्बद्ध रहेको तथ्य स्वीकार गर्न गाह्रो हुन्छ। 
जोखिमपूर्ण काममा संलग्न अर्धशिक्षित नेपाली भने नेपालमा अवसर नपाएर अमेरिका आउनुपरेको भन्दैनन्। निर्माण कामदारमा नेपालमा भएको काम छोडेर बढी लाभको आशमा विदेशिएकाको बाहुल्य छ। तीमध्ये कति त कोरिया-मलेसिया-कतार पछि आउने पनि छन्। माओवादीप्रति यस समूहमा आर्कषण छ। सम्भवतः आफ्नो राजनीतिक दलका लागि आर्थिक सहयोग गर्ने उत्साह शारीरिक कामदारमा अपेक्षाकृत बढी हुने गर्छ। खुलारूपमा राजनीतिक गतिविधि गर्ने हच्किए पनि न्युयोर्कमा लोकप्रियताका दृष्टिले सायद देव गुरुङका सर्मथक सुशील कोइरालाका अनुयायीभन्दा धेरै छन्। फरक केमात्र हो भने मनाङबाट आएका गुरुङहरू आफ्ना राजनीतिक प्राथमिकता सार्वजनिक गर्दै हिँडदैनन्।

केही समय अगाडिसम्म पातलो रहेको मधेसी समुदाय सानो हुँदासम्म तीमध्ये केहीले नेपाली कार्यक्रममा अग्रसरता देखाए पनि अधिकांश एक्लिएरै बस्ने गर्थे। अब भने तिनको सक्रियता पनि बढ्न थालेको छ। अमेरिकामा आउने मधेसीमा अहिले पनि अदक्ष कामदार थोरै छन्। अधिकांश पेसागत शिक्षा प्राप्त व्यक्ति छन्। त्यसको असर तिनका राजनीतिक महत्वाकांक्षामा देख्न सकिन्छ । ती अब आफ्नो हैसियतअनुसारको 'आवाज' चाहन्छन्। मधेसवादी दलबाहेककाले त्यस्तो अवसर उपलब्ध गराउनसक्ने सम्भावना न्यून भएकाले उपेन्द्र यादवको आर्कषण न्युयोर्क क्षेत्रका मधेसी माझ कम भएको छैन। त्यसको राजनीतिक लाभ उति साह्रो नभए पनि प्रचारात्मक फाइदा भने पर्याप्त पाउनसक्छ- मधेसी जनअधिकार फोरम, नेपालले।
अमेरिकामा रहेका जनसंख्या समूहको प्रभाव मूल देशमा प्रायः दक्षिणपन्थी प्रकृतिको हुनेगर्छ। नेपाली कांग्रेसका अमेरिकी सर्मथकले समाजवादी दललाई अनुदारवादी बनाइसकेका छन्। एमालेका राजनीतिक सहयात्री प्रायः उसै पनि यथास्थितिवादी नै हुने गर्छन्। तर, माओवादी एवं मधेसवादीका अमेरिकी सहयोगीसमेत तीव्र परिवर्तनका पक्षमा नदेखिनुलाई भने विडम्बनै मान्नुपर्छ। न्युयोर्कको हावापानी नै सायद त्यस्तो छ, यस सहरभित्र छिरेपछि प्रत्येक व्यक्ति आफ्नो हितप्रति पूर्णतः समर्पित बन्न पुग्छन्। 
सामाजिक रूपान्तरणको मुद्दा गौण हुन जान्छ। लेखक बन्न चाहने एक जना बगंलादेशी मूलका युवाका अनुसार क्रान्तिकारी विचारअनुकूलको वातावरण खोज्ने हो भने युरोपमा लन्डन वा पेरिसतिर आश्रय खोज्नुपर्छ। अमेरिकाले क्रान्ति होइन, प्रतिक्रान्तिका पाठमात्र सम्प्रेषित त गर्नसक्छ। सायद त्यो सन्देश अमेरिकामा रहेका विभिन्न दलका नेपाली सर्मथकले प्रवाहित गर्न थालिसकेका छन्। 

विकल्पको अभाव

विडम्बना, नेपालबारे जानकारी राख्ने अमेरिकी बुद्धिजीवी भने आफ्ना नेपाली सहकर्मीभन्दा ठूलो स्वरले परिवर्तनका पक्षमा कुरा गर्न रुचाउँछन्। तिनलाई सायद थाहा छ, नेपालमा भइरहेका आन्दोलनहरू अहिले विध्वंशजस्तो देखिए पनि अन्ततः स्थायित्वका लागि सहयोगी ठहरिनेछन्। अमेरिकाको सामरिक हितसँग प्रत्यक्षरूपमा नेपाल गाँसिएको छैन। तर कुनै बेला बेलायतले समाल्ने गरेको दक्षिण एसियाको भूराजनीतिक प्रहरीको भूमिका अब अमेरिकाले अंगीकार गरिसकेको छ। अमेरिकाको अस्थायी राजदूत पिटर वर्ली नेपालबारे जानकार व्यक्ति मानिन्छन्। उनी नयाँ दिल्लीमा द्विपक्षीयका साथै क्षेत्रीय मुद्दाबारे पनि क्रियाशील भए भने अचम्म मान्नुपर्ने छैन। नेपालमा भारत र अमेरिकाका रुचिहरू अझै पनि एउटै रेखामा छन्। त्यो अवस्था तत्काल बदलिने छाँटकाँट देखिँदैन, बरु अझ सुदृढ हुनसक्छ। भारतीयको तुलनामा अमेरिकी बरु नेपालको निरन्तर पछौटेपनबारे अलि बढी संवेदनशील देखिन्छन्। तिनको सक्रियता भने पूर्वाधार क्षेत्रमा लगानीको साटो असन्तुष्टि व्यवस्थापनतिर लक्षित हुनसक्छ। नेपालबारे चासो राख्ने अमेरिकी लगानी वा सहयोगको कुरा गर्दैनन्। ती नयाँ गैससले गर्नसक्ने सकारात्मक हस्तक्षेपबारे जान्न चाहन्छन्। बगंलादेशमा जस्तै गैसस क्रान्ति नेपालमा आउनसक्छ वा सक्दैन भन्ने प्रश्न उठाउँछन्। त्यस्ता अभिरुचिले मूर्तरूप लिने हो भने राजनीतिकर्मीको भूमिका न्यून हुँदै जानेछ। र, एमाले पथमा लाग्न अन्ततः माओवादी पनि बाध्य हुनेछन्।
सकारात्मक नकारात्मक जेजस्तो भए पनि अमेरिकामा रहेका नेपाली एवं अमेरिकी अनुसन्धानकर्मीको रुचि उत्साहबर्धक भने पक्कै हो। संसारका सबै देशको आकासे छिमेकी बन्न पुगेको अमेरिकाको अर्थतन्त्र ओरालो लागेको भए पनि यस देशको सामरिक, सैनिक, आर्थिक, प्रचारात्मक एवं वौद्धिक वजन बाँकी विश्वको संयुक्त प्रभावभन्दा पनि अझै बढी नै छ। यस सम्बन्धलाई नेपालले कसरी प्रयोग गर्ने भन्ने नेपाली स्वयंले निर्धारण गर्नुपर्नेछ। भारतको छाया एवं चीनको प्रतिच्छाया नेपालको भौगोलिक वास्तविकता हो। तर संसारका सबै सुविधाभोगीहरू कमोवेश अमेरिकी बन्दै गइरहेको भूमण्डलीकृत विश्वमा अमेरिकाको चासो र चिन्तालाई नेपालका नीति निर्माताले बेवास्ता गर्न सक्तैनन्। अमेरिकामा रहेका नेपालीले मात्र पनि त्यस्तो हुन दिने छैनन्। चुनौती भने अमेरिकी प्राथमिकतालाई नेपालका आवश्यकतासँग समायोजन गर्ने सम्भावना पहिल्याउने हो। त्यसका लागि नियमित भ्रमण पर्याप्त छैनन्। अमेरिकामा अध्ययन गर्ने विज्ञको सानै भए पनि प्रतिबद्ध समूह तयार गर्ने अग्रसरता लिएर आफ्नो क्षमता वृद्धि गर्नु जरुरी भइसकेको छ। संसारको राजधानीलाई निन्द्रा लाग्दैन। सहयोग र सहकार्य गर्न नेपाल पनि अब बिउँझिनुपर्छ
SOURCE: NAGARIKNEWS

No comments: