Thursday, November 10, 2011

भुतको कथा (म भित्रको भुत)


हाम्रो शरिरमा आउने चेतना–आत्माहरु शरिरमा आउनु भन्दा अगाडी कहाँ थिए ? आमाको पेटमा हुँदा आएको हो की ? पृथ्वीमा खसेपछि आएको ? आएको हो भने कहाँबाट आएको ? मरे पछि त्यो आत्मा कहाँ जान्छ, अरुमा सर्छ की लाससँगै खरानी हुन्छ कि शुन्य आकाशमा घुमेर बस्छ ?  भुत के हो ? कहाँ बस्छ ? कहाँबाट आउँछ ? आत्मा भुत हो ? की भुत आत्मा हो ? आत्मा भुत हो भने हामी भुत बोकेर बाँचिरहन्छौ अथवा हामी भुतलाई हुर्काइरहन्छौं आफ्नै शरिरभित्र ? फेरी भुत देख्नेहरुले पनि त फरक फरक देख्छन नी कहिले कालो कहिले सेतो, कहिले दारा पलाएको, कहिले कपाल पालेको ? कहिले घोडाको रुपमा, कहिले सुँगरको रुपमा त्यसो भए आत्माले कसरी रुप फेर्छ त ?
म केही सोच्ने बुझ्ने भैसकेपछि यस्ता प्रश्नहरुको बारेमा आफैसँग कैयौपटक सोधे । मेरा आत्माले यी प्रश्नहरुको सहि उत्तर दिन सकेन, उत्तर संन्दिग्ध नै रहन्थ्यो । बुझाई छरपष्ट भए । मनले ती बुझाईहरुलाई मौनतातिर धकेलेर गयो । मनबाट भुत भाग्न नसक्ने गरी गाडियो । भुत सम्झने वित्तिकै म, मेरा बा, छिमेकी धामी हजुरबा, चौधरी बडाबा, राईकान्छा दाई, सान्दाई, ठुली दिदी आदी सम्झीरहन्थें । 
घरमा बाले ल्याएको पानासोनिक जापानीज सेकेन्डहेण्ड रेडियोमा समाचार सून्न, अझ विविसी सुन्न गाउँका २–४ जना हरेक बेलुकी भेला हुने हाम्रो घर, समाचार अघी र पछि समाचार टिप्पणी भन्दा प्रायः घरगाउँका कुरा, अनि आफ्ना कुरामा वित्ने गथ्र्याे । त्यहि सिलसिलामा हुने भुतका कुराले मलाई चकित पा¥र्यो, डर थप्थ्यो ९–१० वर्षको म कान ठाडा पारेर सुन्थे भुतका कुरा अगेनाको कुनामा बसेर ।
एक रात मध्य साउनको बेला घरमा भोली रोपाई छ, कुलोको पानी फर्काएर अर्कैले लगेछ । कुलोमा पानी सुकेपछि बाले राति नै कुलोको मुहान जाने निधो गर्नु भएछ । कुलोको मुहान घरबाट ४५ मिनेट टाडा त्यो पनि जंगलै जंगल हिडुन्पर्ने । भोलीको रोपाहार, गोरु, हलि अनि काडेको विउ सम्झेर बा हतार हतार जंगललै जंगल हानिनु भएको विचमा पुगेपछि एउटा सुँगर पछि लागेछ । सानो टर्चलाईटको भरमा बा जति छिटो हिड्नु हुन्छ त्यो सुँगुर घरि घरि चुँ चुँ गर्दै पछि लागि रा‘ । मुहानमा पुगेपछि पानी कुलोमा फर्काएर घर फर्किएको त्यो सुँगुर फेरी त्यहि, अब त झन अघि अघि । फर्किदा त सुँगर पनि थपिएछ । घरि अघिको कराउँछ घरि पछीको । जंगल भरि बाले सुगुर पाल्ने शान्तिनगरका सार्कीहरुलाई गाली गर्दै हिड्नु भयो रे । भोली पल्ट रोपाइ सकाएर बसेको सार्कि घरमै आइपुगेछ । बाले सुगुर छोड्नुहुन्छ ? बारी तिर आउछ, करेसाबारीमा छिर्छ आज राति म कुलोमा जाँदा मेरो अघि पछि लागेर हैरान भनेर बाहुनको तुजुक देखाएको सार्कीले उल्टै यी बाहुन पनि विनासित्ती गाली गर्छन भन्दै सुँगुर घरमै भएको कुरा गरे पछि पो बल्ल बाले सम्झे उसो भए राती मलाई भुतले खेदो गरेछ । की अरुको पो सुँगुर हो की ?
त्यस रात घटेको घटनाले बालाई अहिले सम्म पनि सम्झाइ रहन्छ । भुतको कुरा निस्कियो कि कहानी शुरु । त्यसपछि पनि बा कैयौ पटक रातमा जंगलको बाटो हिड्दा फेरी कहिल्यै आएन भुत । बाको त्यस घटना सुनेपछि मलाई पनि सुँगुर देख्यो कि भुतै पो हो कि भन्ने लाथ्यो । दिनभरी पढेर र घरको काममा वित्थ्यो । जब साँझ पथ्र्यो तब मनमा भुतका कुरा आउन थाल्थे । भृुत किन हुन्छ ? भुत बाँचेर के गर्छ ? मान्छेसँग भुतको के सम्बन्ध हुन्छ ? किन मान्छेसँगै आउँछ भुत ? आदी आदी प्रश्नहरुको उत्तर पाउनको सट्टा भुतका अन्य उदाहरणहरु थपिन्थे । 
छिमेकी धामी हजुरबा जसको मलाई हरेक १५ दिनमा जरुरी प¥र्थो । वल्लो गाउँ पल्लो गाउँका कहलिएका धामी । कहिले टाउको दुख्ने कहिले बेहोस हुने, कहिले जिउ तर्सिरहने आदी उपचारमा त वहाँ मेरा देवता समान हुनुहुन्थ्यो । यसो फुकफाक ग¥यो कि ठिक भैहाल्ने । एकदिन राती धामी हजुरबालाई पल्लो गाउँबाट विरामी फुक्न लिन आएछन । धामी भए पछि नाई भन्न पनि नमिल्ने भएकोले धामीको धर्म निभाउँदै हजुरबा लुरुलुरु लागेछन । पल्लो गाउँ जान टिमाइखोला तरेर जानु पर्ने । विचमा दोभान परेको ठाउँ गाउँका मरेका मान्छेहरु त्यही जलाउने गर्थे । १५ दिन अगाडी पनि पल्लो गाउँका एकजना बाजेलाई त्यहि जलाएका थिए रे । फर्किने बेलामा जेठादाईले हजुरबालाई पु¥याउने कुरा गर्दा हजुरबाले म आफै जान्छु भैहाल्छ भनेछन र हजुरबा एक्लै फर्किएछन एउटा पुल्ठो बनाई । हजुरबा जब दोभान छेउ आइपुगे पछाडीबाट मान्छेहरु गुनगुन गरेको आवाज आएछ । यसो फर्किएका मान्छेहरु टक्रयाक टुक्रुक बसेजस्तो देखेछन । धामीहजुुरबालाई भुत भन्ने लागीहालेछ र यसो माटो टिप्न खोजेका पुल्ठो त झ्याप्पै निभेछ । चारैतिर निष्पट अध्यारो भएपछि हजुरबा लड्दै पड्दै घर आइपुग्दा सबै हिलै हिलो । 
धामी हजुरबासँग धेरै विद्या थियो । घरेलु औषधीको ज्ञान थियो । त्यही ज्ञानले धेरैको हात, खुट्टा भाँचिएको ठिक भएको थियो । धेरैले अन्य उपचार पाएका थिए । न डाक्टर चाहिने न डाक्टरको औषधी । हजुरबा नै सबै डाक्टर । हजुरबा आज धेरैचोटी पखाला लाग्यो भन्यो भने पनि यसो जंगलतिर गएका एकछिनमा ‘ल यो खा’ भन्दै आउनु हुन्थ्यो । तुरन्तै ठिक भैहाल्ने । अर्को विचित्रको कुरा बालागुरु षडानन्द रुमाल ओछ्याएर कोशी तर्छन रे भन्ने कुरा पनि त्यहि हजुरबा बाटै सुनेको मैले पहिलोचोटी । त्यहि सन्र्दभमा बाले ‘म रुप फेर्न पनि सक्छु’ भन्थे । हजुरबाले म बाघ बन्न सक्छु भनेको कुराले त मलाई धेरै बर्ष पिरोलीरह्यो । त्यस्तो विद्या मलाई पनि  सिकाउनु नी बाले । बा मर्दा त्यस्तो विद्या पनि मरेर जान्छ भन्ने लाग्थ्यो साच्चै भयो पनि त्यस्तै । बाले कसैलाइै शिष्य बनाएनन । मैले कतिपटक ‘बा घरेलु औषधीहरुको ज्ञान त मलाई दिँदा हुन्छ नी’ भन्दा ‘बेला भाको छैन’ भन्थे पछि पनि । अहिले त हजुरबा स्वर्गवास भएका पनि धेरै भैसक्यो ।
घरमा दैनिक बेलुकी भेला हुने छिमेकीहरुबाट मैले यस्ता धेरै भुतका कथाहरु सुनेको छु । भुतको कथाले मलाई सबैभन्दा बढी दिएको भनेकै डर थियोे । गाउँको घर भएकोले भान्छाघर र सुत्नेघरको धुरी पनि बेग्लै थियो । अहिले पनि साँझ परिसग्दा सबै गाउँतिर प्राय खाना खाइसकिन्छ, । खाना खाइसकेपछि मलाई भान्छाघरबाट सिँडी उक्लेर माथी जान डर लाग्थ्यो सिंडी उक्लन पनि बत्ति देखाइदिनु पर्ने र एक्लै कोठामा बसेर पढ्न त झन गाह्े त्यहि डरले सानो छँदा प्राय तराईको मध्य गर्मीमा पनि मेरो टाउको शिरक भित्र नै हुन्थ्यो । एक्लै कोठामा भयो कि शिरक ओडेर गुटुमुट । आमाले ‘पढेर बस है त’ भनेर निस्कने वित्तिकै म सिरकभित्र हुन्थे र निदाईहाल्ने । कतिचोटी त यसरी नै होमवर्क गर्न पनि पाउँदिन थिएँ ।  
भुतका धेरै कथा सुन्दै म ठुलो हुँदैथिएँ । एकदिन बजारबाट फर्किदा ठिला भयो । सानो खोला तरेर ठुलो बाँसघारीहुँदै घरजानु पर्ने । बाँसघारीमा लाग्ने डरले म एक्लै हुने वित्तिकै खोलाबाट हातमा ढुङ्गा बोकेर हिड्थे । भुत देख्यो भने पैतालाको माटो छर्कनु पर्छ भन्ने बा, धामीहजुरबाबाट धेरै चोटी सुनेको थिएँ । साँझ अथवा राती म एक्लै हिड्नु प¥यो भने त्यहि फर्मुला अपनाउँथे । त्यस दिन पनि हातमा खोलाबाटै ढुङ्गा बोकेर हिँडेको थिएँ । बाँसघारी विचमा त कालो कालो बस्तु देखियो । घरि घरि हल्लिरहन्छ । अरुबेला त्यहाँ त त्यस्तो कालो बस्तु, बुटा केही थिएन । त्यसैले मेरो  सातोपुत्लो उड्ला जस्तो भयो आङ सिरिङ्ग भयो । शरिर फुलेर आए जस्तै भयो डरविचबाट मुखबाट ‘ओई कोहो ?’ निस्किएछ । जवाफ केही आएन । मलाई अगाडी बढ्ने आँट पनि आएन । उभिएर फेरी को हो ? को हो ? भनिरहँदा पनि जवाफ नआए पछि हातको ढुङ्गाको काम आयो । ढुङ्गा हानेको बाँसमा पो लागेछ । बल्ल आवाज आयो त्यताबाट ‘ढुङ्गा हान्ने को हो ?’ भनेर । भरे आफ्नै छिमेकी दाई पो रहेछ अध्यारोमा बाँसघारीमा पाइखाना गर्न आको । धन्न ढुङाले लागेन ।

दाईभुत देखेर म पनि छक्क परे । त्यस पछि पनि कति चोटी म खोलाबाट ढुङा बोकेर हिँडेको छु भुतरक्षाका लागि । अनि बाँसघारीमा कहिले चरनबाट छुटेका गाई कहिले बाख्रा, कहिले भैसी आदी भेट्दा पनि मनमा कस्तो कस्तो डर हुन्थ्यो । उमेर बढ्दै जाँदा विस्तारै म बाट भुत प्रति अलि डर हट्न थाल्यो । कति चोटी त भुत भेटे पनि कस्तो हुन्थ्यो भन्ने हुन्थ्यो । तर पनि रात पर्यो कि बाँसघारीमा चाहि ढुङ्गा हातमा हुन्थ्यो नै ।
स्कुलको बर्खे विदामा प्राय म जंगल जान्थे । जंगल घुम्न, निउरो टिप्न, डल्ले च्याउ खोज्न, किसानहरुसँग मिलेर मृगलाई घेर्न, अनि खोलामा पौडी खेल्न कम्ती मजा आउँदैन थ्यो । दिनको एकचोटी चाँहि पाँचपोखरी जंगलमा बन सुपारी खान र पानी पिउन पुग्नै पर्ने । घना जंगल विचमा एउटा यस्ता पानीको जरुवा जो अहिले सम्म पनि मैले कहि देखेकै छैन एकै ठाउँबाट पानीको मुस्लो पलाएको जसलाई अहिले शान्तिनगरवासिले पिउने पानीको श्रोतको रुपमा प्रयोग गर्छन । अहिले त सामुदायिक वन भैसकेपछि जंगल झन यति बढेको छ की शान्तिनगर, बाहुनडाँगी, बर्ने, थोप्लेविरान लगायतका गाउँलाई दुख दिने हात्तिको बासै त्यही भएको छ रे । एकदिन टिमाई खोलामा नुहाएर फर्किदा मान्छे जलाएको ठाउँमा नजलेको हड्डी भेटियो । यस्तो हड्डीबाट भुत निस्कन्छ भन्ने लागेर साथी र म भएर हड्डी बोकेर घरमा ल्याइ नजिकैको सरिफाको रुखमा राखेको । रातभरि टाउको दुखेर धामी हजुरबा नै आउनु प¥यो । ‘दिनभरि कहाँ गएको थिस्’ भनेर बाले हपारेपछि ‘खोला गाएको थिएँ मान्छेको हड्डी ल्याएर राखेको छ’ भनेको गाली खाइयो । भोली पल्ट फेरी खोलामै फाल्नु पर्ने भयो ।
एकदिन गाउँको एकजना बाजे मरेछन् । मान्छेहरु मलामी जान भेला हुँदै थिए । मेरा बा भने स्कुल जानु भएको थियो । आमाले ‘मान्छे मरेको तिर नजाहै’भन्दै बारी तिर लाग्नु भयो । म भने मलामी जान भनेर घरबाट भागेँ । जीवनमा पहिलो चोटी मलामी गएको त्यहि टिमाइ खोला । मलामीमा एकजना छिमेकी मिल्ने दाई हुनुहुन्थ्यो सँगै । लास खोलामा पुर्याउँदा गोरुगाडामा लगेको दाउरा मिलाएर चिता बनाउँदै रहेछन । सबैले त्यसमा एक एक दाउरा राखेको देखेर मैले पनि सानो दाउरा राखे । र बग्ने पानीको पारीपटि गएर बसे अरु दाईहरुसँग । अरुहरु मध्ये कोही तास खेल्न थाले भने कोही गफ गर्न थाले । त्यतिकैमा राई कान्छा दाई चिताको दाउरा चिर्न ल्याएको बच्चरो बोकेर हामी भएतिर आउनु भयो । एकछिन  गफ गर्दै जाँदा त्यहाँ पनि भुतको कुरा निस्कियो । राइकान्छा दाईले ‘यो बच्चरोको विँड खोलेर त्यो प्वालबाट हेर्दा भुत देखिन्छ’ भन्नु भयो । सबैजनाले जिस्क्याएको ठान्दै थिए दाईले ‘साँच्चै हो सक्छस भने हेर’ भने पनि कोही बोलेनन । एकछिन पछि माइलादाईले ‘ल म खोल्नु कसले हेर्छ भन्नु भयो’ र विँड खोल्नु भो त्यतिखेर चाँहि मलाई के भो कुन्नी डर लागेन र विस्तारी हेरेको कहाँबाट देखिनु भुत । पछि त सबैले हेरै एकचोटी । 
समय वित्दै गयो । हाम्रो गाविस नगरमा परिणत भएपछि विकासका कार्यक्रमहरु पनि भित्रिए, घरमा विजुली बल्यो । गाउँले पहिलो चोटी विजुली बत्ती बाल्दा खुसीको सिमा नै थिएन । बेलुकी भेलाहुने हरुको हप्तौ त विजुलीको कुरा गरेरै वितेको थियो । विकासका कार्यक्रम अन्र्तगत रिङरोडको आयोजना परेकोले बाटो निर्माण सुरु भयो । दिउँसै हिड्न डरलाग्ने बाँसघारीमा पनि ४० फुटको बाटो खनीने भो । बुढापाकाहरु धेरैले जहाँ भुत देखिन्छ भन्थे बाटो खन्ने क्रममा त्यहि मान्छेको हड्डी फेला प¥यो । अनि त खैलाबैला नै मच्चियो । कोही यसलाई जलाउनु पर्छ भन्न लागे, कोही बाहुन बोलाएर यसलाई गाड्नु पर्छ भन्न लागे । कोही यस्तो हड्डीमा आलो रगत हुन्छ त्यहीबाट भुत निस्कन्छ भन्ने लागे । मान्छेहरु कुरा गरिरहँदा म र माइला दाई भएर हड्डी अलि पर नेपाल ठुलोबाको बारीमा लगेर फुटाएको कहाँ आलो रगत माटै माटो । सबैको भ्रम हट्यो । भोलीपल्ट त नेपाल ठुलोबाले हामीलाई सराप्दै हड्डीको टुक्राटुक्री भेला पारेर खोलामा बगाएछन । 
समय सँगै मेरो चेतना विकास भैरहेको थियो । धेरै चोटी रातमा भुत होकी भनेर शंका गरेका कुराहरु यथार्थमा भुत हुँदैन थे । भुतप्रतिको शंका हराउँदै जाँदै थियो । पौष महिनाको तराइको जाडोमा अकस्मात एकदिन जुन खोला तरेर हामी घर जानु पथ्र्यो  त्यहि खोलाको डिलमा रहेको कोइरालाको घरमा भुतले ढुङ्गा हानी रहेको छ रे भन्ने खबर आयो । म दौडेरै १५ मिनटमा त्यहाँ पुगे । गाउँका मान्छेहरु भेला भइरहेका थिए । ४–५ वर्ष देखि अर्काको जग्गामा बस्दै आएका ति बाका २ जना श्रीमती मध्ये जेठी पटिकी एउटी छोरी पार्वती थिइ । आमा चाहि अर्कै सँग पोइल गाकी रे । कान्छी तिरका ३ जना छोरी र २ जना साना साना छोरा थिए । हेर्दा लाग्थ्यो बर्षे पिछेका होलान । । बाँसको भाटामा पराल हालेर बार लगाएको कोइरालाको फुस्कोे घर त्यो पनि खोलाको डिलमा । विचमा बारेर २ कोठा बनाएको त्यस्तो भुईमा बाँसको होचो मचान बनाएर ओछ्यान लगाएको एउटा कुनामा अगेनो र अर्को कुनामा बाजेको पुजा गर्ने ठाउँ । त्यहाँ हेर्दा त्यस्तो चिसोमा कसरी रात काट्छन होला ति बाल बच्चाहरुले भन्ने लाग्थ्यो फेरी दैबले गरिवी सँगसँगै सहन सक्ने क्षमता पनि दिँदा रहेछन भन्ने लाग्यो । 
कोइराला बाजे पेशाले धामी थिए । कसैले धामी लगाएर केहि दिएको भरमा त्यत्रो  बालबच्चा पाल्नु पर्ने विडम्बना बासँग थियो । गाउँमा अरु पनि थिए अर्काको जग्गामा बस्ने । तर अरु मान्छेहरु मजदुरी गरेर भए पनि खाएको देखेको थिएँ । बाले काम गरेको चाँहि मैले कहिले देखेको थिइन । भुतको कुराले गाउँलेहरुको भिड बढ्दै जाँदा प्रश्नहरु पनि बढ्दै थिए । ढुङ्गा कहाँबाट आयो ? कता हानो ? मान्छेलाई पनि लाग्यो ? कति बजे देखि हानो ? कति चोटी हानो ? कति कति बेरमा हानो ? किन कसले हानेको होला ? आदी आदी । सबै प्रश्नको बाले उत्तर दिइराख्थे । एउटा उत्तर चाहि उनले सबैसँग भने, एकचोटी ढुङ्गा हाने पछि जोखाना हेरेको भुत रिसाएको रहेछ । यो गाउँमै अपसकुन होला जस्तो छ । पैसा उठाएर भए पनि एउटा पुराण लाउनु पर्छ । बाको कुरा सुनेपछि ममा हराउँदै गएको भुतको डर फेरी बढ्ला जस्तो ग¥यो । फेरी यत्रो मान्छे माझ केही हुँदैन भन्दै आज साँच्चै भुत देखिने भयो भन्ने सुरमा म पनि बसे । घरभित्र २–३ जना थिए । लगभग २ घण्टा पछि भित्रबाट एकजना कराउँदै बाहिर निस्कयो, ल ढुङ्गा त साँच्चै पो हान्यो । सबै गुरुरु घरभित्र छिर्न लाने । ल यै हो अहिले हानेको ढुङ्गा धुरीबाट उसको कानै छेउहुँदै झ¥यो । जो जोसँग दुष्मनी छ त्यसैलाई भुतले ढुङ्गा हान्छ रे । भने पछि म मा पनि डर छिर्न थाल्यो । विगतका कुराहरु सम्झीन थाले । खोलाबाट हड्डी ल्याएको, भुत भेटिन्छ भनेर बाँसघारीमा साथी र म बसेको, राती सेतो कपडा ओडेर भुत बनी साथीलाई नै तर्साएको आदी आदी कुराले मसँग पनि भुत रिसाको पो छ कि भन्ने लाग्यो । डर लागी लागी बसें । ढुङ्गा हान्दा घरभित्र भएको दाई त सुइकुच्चा ठोकेछन । 
भुतको पर्खाइमा भुतका कति उदाहरण हरु भेला भए, कसैले कहाँ भुत देखे , कसैलाई के ग¥यो, कसैको सातो लग्यो र महिना दिन विरामी भयो आदी आदी कुरा भइरहेको बेला फेरी भित्र बाट आवाज आयो ल फेरी हानो ठिक १२ बजे । प्राय सबै मान्छेहरु गजबै भयो यस्तो त मैले कहिले सुनेको थिइन भन्थे । बस्दै जाँदा वारी पारी गाउँका धेरै भेला भसकेका थिए । १ घण्टाको दुरीमा रहेको धुलाबारी बजारबाट पनि मान्छेहरु मोटरसाइकलमा भुत हेर्न आइरहेका थिए । सबैमा यस्तो अनौठो कुराले खुलदुली पैदा गरेको थियो कति जना डराइरहेका पनि थिए । मान्छेहरु भेला हुँदै जाँदा पुराण लाउनु पर्छ अब भन्दै पैसाहरु पनि संकलन गर्न लागिरहेका थिए । पैसा पनि ४ घण्टामा १२ सय उठ्यो रे । १ बजे पछि म पनि भोकले घरतिर हानिए । बाँसघारीमा दिउँसो पनि डरलाग्यो । कुद्दै कुद्दै  गए । खाना खाइवरी बसेको फेरी मनले मानेन र एकजना दाइ पनि आउने भएकाले भुत हेर्न फेरी आएँ । यो पाली चाँहि छिमेकी दाईसँग गएकोले भित्रै पसेर हेर्ने निधो गरेँ । हामी गएको एक घण्टामा एउटा ढुङ्गा धुरीबाट झ¥यो । भित्र जम्मा ६ जना मान्छे थिए, बुढा बा कुनामा बसीरहेका पार्वती भित्रपटि भात पकाउँदै म र ३ जना दाईहरु बाहिर अर्को कुनामा । यसपाली आफ्नै आँखाले देखेपछि मभित्र हराउँदै गएको भुतको डर फेरी व्युतियो । म डरले बाहिर निस्किएँ । साँझ परेपछि हामी घर फकर्यौ, गाउँलेहरु त्यहि बस्नुपर्छ , घरको परिवारको सुरक्षा त गर्नु पर्यो भन्दै थिए । 
भोली पल्ट विहान पनि घटना रोकिएन । म फेरी विहान गएँँ भुतहेर्न । हिजो देखि आज सम्म १२ चोटी ढुङ्गा हानी सक्यो रे । बाहिर भएको केही मान्छे हरु गफ गरिरहेका थिए । यत्तिकैमा एकजना दिपक भण्डारी दाई पनि भुत हेर्न आइपुग्नु भयो । विद्यार्थीकाल देखि कम्युनिष्टको राजनीति गरेका दाई अहिले गाउँका ठुलाबढामा गनिन्थे युवा अवस्थामा नै । उनी सरासर के भो रे भन्दै भित्र छिरे दाइको निडरपन देखेर मलाइै पनि साँच्चै नै ठुला रहेछन भन्ने लाग्यो । म पनि दाईको पछि पछि भित्र छिरेँ । भित्र एक कुनामा बा बसीरहेका र पार्वती खाना पकाउँदै थिइ । दाई भित्र छिरेपछि बालाई सोधे के भो ? कसले हानो ढुङ्गा ? भन्दै यताउती हेर्दै थिए नजिकै घुम राखेको थियो घुम उघारे । केही थिएन । अनि सरासर दाई भित्रपटिको कोठामा पो छिरे । बाले पुजा गर्ने गरेको कुनामा कपडाले केही छोपे जस्तो थियो त्यो निकाले त्यसमा त ४ वटा खोलाबाट ल्याएका ढुङा पो भेटियो । पुँजा गर्ने सानो काठको बाकस पछि बाँसको बारमा पनि प्वाल पारिएको थियो ढुङ्गा सिद्दियो कि घरपछाडीबाट राख्नलाई । यो देखेर दिपकदाइले बालाई के हो यो भन्दै हकारेको ? बाले हात जोरेर खुट्टा ढोगुँला झै गरे र आँखाबाट बरर आँसु झारे र यो पार्वतीले गरेकी भने । मान्छेको आँखा छलेर पार्वती कसैलाई पानी दिने निहुँमा, कुनैबेला भात पकाउने निहुँदा भित्रबाट ढुङ्गा धुरीमा फाल्ने काम गर्दिरहिछ भित्र धेरै नबस्ने र बसेकाहरुको ध्यान पनि गफमै भएकाले थाहा नपाउने रहेछन् । भुतको रहस्य थाहा पाएपछि दिपक दाई बाहिर आए बाहिर भएकाहरुले सोध्दै थिए ‘के भयो दाइ’ भन्दै दिपक दाईलाई के भयो कुन्नी ‘केही होइन मलाई बजार जानु छ’ भनी सरासर हिँडे । म भने अवाक भएँ । गरिवीले निम्त्याएको भुत देखेर । त्यस दिन देखि भुतले ढुङ्गा हान्न पनि छोड्यो ५ महिना पछि नै तिनीहरु त्यहाँबाट बसाई सरे । मैले फेरी देखि कहिले भुत देखिन न मैले मध्यरातमा हिड्दा पनि हातमा ढुङ्गा नै बोकेँ । म भित्रको भुत सदाका लागि हराएर गयो ।

हरि दहाल
धुलाबारी झापा
hari_thursday@yahoo.com
Tel: 9841353283

1 comment:

Anonymous said...

Really nice Story... I like it sir...........