Monday, March 19, 2018

अबको राजनीति अर्थराजनीति

khim lal
 खिमलाल देवकोटा
कुनैबेला पँुजीवादी र समाजवादी धुरीमा विभाजित विश्व यतिबेला अमेरिकाले नेतृत्व गरेको क्रिश्चियानिटी र त्यसलाई काउण्टर गर्ने इस्लामिक स्टेटमा विभाजित छ ।  पुँजीवाद उदारवाद हुँदै नव उदारवादमा पुगेको एकाथरी विश्वले धनी र गरिबको खाडल नराम्ररी गहिरो बनाएको छ ।  विश्वकै आधा जनसंख्या झण्डै साढे तीन अरब जनतासँग भए बराबरको सम्पत्ति संसारका धनाढ्य मध्यका जम्मा ६२ जनाको हातमा केन्द्रित छ आर्थिक वृद्धिको ९९ प्रतिशत हिस्सा एक प्रतिशत व्यक्तिले कब्जा गर्दछन् भने बाँकी ९९ प्रतिशत जनताले जम्मा एक प्रतिशत आर्थिक वृद्धि दरमा चित्त बुझाउन बाध्य छन् ।  यो सबै पुँजीवादको उपज हो ।  जसले दिगो शान्ति र विकास धेरै टाढाको कुरा बनेको छ ।  ठीक यसैगरी राज्य नियन्त्रित समाजवादी सत्ताहरू पनि सफल हुन सकेनन् ।  समाजवादी सत्ताहरूको पुँजीवादीकरण र पुँजीवादी सत्ताहरूको समाजवादीकरण आजको यथार्थ हो ।  यसो गरेर भए पनि आफ्नो अस्तित्व धान्न उनीहरूले प्रयत्न गरेको बुझिन्छ ।  यही नै यतिबेलाको विश्व राजनीतिको समसामयिक प्रवृत्ति बन्न पुगेको छ । 
उपयुक्त धारबाट नेपाल अछुतो रहनसक्ने कुरा भएन ।  अझ नेपाली राजनीति सामन्ती चरणबाट भर्खर पुँजीवादी चरणमा प्रवेश गर्दै गरेका कारणले सामन्तवादका अवशेषहरू पनि पूर्ण रूपमा अन्त भैसकेका छैनन् भने पुँजीवादी स्वरूप पनि पूर्णतः ग्रहण गरिसकेको अवस्था छैन ।  यसो हुँदा नेपाली राजनीति झन् ठिमाहा अवस्थामा जकडिन पुगेको छ ।  यस्तो ठिमाहा राजनीतिलाई शुद्धिकरण गरेर अघि बढाउन सहज काम पक्कै हुने छैन ।
यतिबेलाको राजनीति व्यापार केन्द्रित बन्न पुगेको छ ।  राजनीतिक दर्शन सिद्धान्त आदर्श र मान्यता अलग अलग भए पनि व्यापारिक मामलामा व्यापारिक नाफा वा घाटाका कारणले विपरीत ध्रुवहरू पनि एक ठाउँमा मिल्न आइपुगेका र समान दर्शन मान्यता र आदर्श भएकाहरू पनि भिन्न दूरीमा उभिएका परिघटनाहरू पनि रहेका छन् ।  त्यसैले यतिबेलाको राजनीतिक दर्शन भनेकै व्यापार बन्न पुगेको छ ।  राजनीतिक दर्शनको संकट परेका कारण दर्शनको स्थान धर्मले लिएको र राजनीतिको स्थान व्यापारले लिएको अवस्था छ ।  यस्तो अवस्थामा विश्वलाई नै दिशा निर्देश गर्ने गरी राजनीतिक दर्शनको विकास गर्ने अभिभारा यतिबेला छ भने सँगसँगै मुलुकका लागि व्यावहारिक र वैज्ञानिक राजनीतिको विकास गर्नु पनि आजको कार्यभार बन्न पुगेको छ ।
उपर्युक्त निष्कर्षका आधारमा विश्वमा र नेपालमा पनि परम्परागत राजनीतिको औचित्य विस्तारै समाप्तिको दिशातर्फ र वैकल्पिक राजनीतिको आवश्यकता बोधतर्फ समाज डोरिएको प्रस्ट देख्न सकिन्छ ।  यो निष्कर्षलाई मान्ने हो भने विश्वका सन्दर्भमा आजको समाज सुहाउँदो राजनैतिक दर्शनको विकास गर्न जरुरी छ भने नेपालको सन्दर्भमा भौगोलिक एकीकरणको चरण र अधिकार प्राप्तिको चरण पार गरेर भर्खरै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको समाज सुहाउँदो राजनीतिको आविश्कार गर्न जरुरी छ ।  यस प्रयोजनका लागि नेपाली समाज जो भर्खरै सामन्तवादी चरणबाट पुँजीवादी चरणमा प्रवेश गरेको छ ।  यो चरणका आफ्नै विशेषताका कारणले मानिसहरूको मनोविज्ञान राजनैतिक दल र तिनका नेताहरूको स्तर औकात र हैसियत सहित आफ्ना सीमामा कैद छन् ।  समय २१ औ शताब्दीको हुँदा हुँदै पनि नेपाली समाजको चरणको सीमाका कारणले अपेक्षित संस्कार हामी पाउन सक्दैनौ ।  यसका साथै टुक्रे कृषि उत्पादन प्रणाली, निम्नपुँजीवादी चेतनाले पैदा गर्ने विकृत मानसिकता र त्यसले समाजमा पार्ने असर अरू थप सीमा हुन् ।  यो अवस्था भनेको व्यक्तिहरूमा चरम महìवकांक्षा, छिपछिपे जानकारी, काम गर्नका लागि चाहिने गहिरो प्रतिबद्धताको अभाव र आम जनतामा अविश्वासका पहाडहरू सहितको विशेषता बोकेको परिवेश हो ।  यस्तो जटिल अवस्थाका बीचबाट नयाँ राजनैतिक संस्कार नयाँ शैली नयाँ व्यवहार र आचरणको पनि विकास गरेर नयाँ राजनीतिको विकास गर्नुछ ।
कुनै पनि काम गर्नुभन्दा अगाडि ठोस परिस्थितिको ठोस विश्लेषण गर भन्ने कुरा माक्र्सवादले राजनीतिमा सिकाएको गुदी कुरा हो ।  यसो हो भने के विश्व समाज माथि भनिए जस्तै दार्शनिक संकटबाट गुज्रिएको हो ? के नेपाल साँच्चै सामन्ती अवस्थाबाट वामे सर्दै गरेको अवस्थाको पुँजीवादी चरण हो ? यदि यसो हो भने विश्वमा र नेपालमा दुवै स्तरमा नयाँ राजनैतिक दर्शनको प्रतिपादन हुन जरुरी छ ।  तदनुकूल विश्व र नेपाल दुवै स्तरमा राजनैतिक विकल्प वा वैकल्पिक राजनीतिको खोजी हुन जरुरी छ ।
नेपालमा खोजी गर्न प्रयत्न गरिएको राजनीतिको अवस्था भनेको वैकल्पिक राजनीति हो ।  यसका आधारभूत तìवहरूमा सामन्ती अवस्थाबाट वामे सरेको पुँजीवादका जगमा समाजवादको यात्रा आरम्भ गर्नु हो ।  यसका लागि पँुजीको पर्याप्त विकास हुन जरुरी छ ।  पँुजीको विकासका लागि राज्यका संयन्त्रहरू पारदर्शी हुन जरुरी छ ।  भ्रष्टाचार समाजको महारोग हो भने यसको न्यूनीकरणको उपाय खोज्न जरुरी छ ।  सर्वाधिक रूपमा चर्चामा आएको तथ्य के हो भने सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलहरू र तिनका नेताहरू छन् ।  उनीहरू लोकतन्त्रका लागि लडेका पनि हुन तर अलोकतान्त्रिक व्यवस्था ढालेर लोकतान्त्रिक व्यवस्था ल्याउन सफल दलहरू आफैँ लोकतान्त्रिक हुन नसकेर पार्टीहरू शिकार बनेका छन् ।  राजतन्त्रका विरुद्ध लडेर नथाकेका दलहरूआज राजतन्त्र ढालेर सो स्थान आफँै लिन तम्सिएको आरोप आम जनताको पंक्तिबाट लाग्ने गरेको छ ।  भ्रष्टाचारका विरुद्ध लडेका दलहरू आज दिनदिनै अकुत सम्पत्तिका हकवालाहरू राजनीतिक दलका नेताहरू भन्ने सुन्नमा आएको छ ।  रोजगारी सिर्जनाका लागि लडेका दलहरू आज बेरोजगारहरूको लर्को दिनका दिन विदेश पठाउने काममा दलाली गरेर कमिशन खाने स्तरमा झरेका छन् ।  तस्करी कालोबजारी भ्रष्टाचार अन्याय र अत्याचार आजका महारोग हुन तर तिनका संरक्षकहरू राजनीतिक दलहरू हुन भन्ने कुरा खुलेआम आरोप लाग्ने गरेको छ ।
अब विगतप्रति पश्चात्ताप हैन गर्व नै गरौँ ।  विगतबाट सिकेको असफलताको पाठ सिकौँ र तिनलाई नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरौँ ।  आजसम्म लाग्ने गरेको परम्परागत राजनीति प्रतिको आरोप असत्य साबित गर्ने काम पनि गरौँ ।  आम जनतामा परेको पूरै अविश्वासको अवस्थालाई विश्वासमा बदल्ने हर तरहले प्रयन्त गरौँ ।  तब मात्रै राजनीतिक विकल्प तयार हुनेछ र वैकल्पिक राजनीति भन्न लायक हुनेछ ।  यो जटिलभन्दा जटिल काम वैकल्पिक राजनीति र वैकल्पिक तरिकाले मात्रै सम्भव छ भन्ने आत्मविश्वास पैदा गर्न जरुरी छ ।
त्यसैले राजनीतिमा देखिएको चरम अविश्वासलाई विश्वासमा बदल्न जरुरी छ भन्ने कुरा सबैभन्दा पहिला आत्मसात् गरौँ ।  त्यसलाई बदल्ने कसम खाऔँ र कार्ययोजना सहित लागि पर्न जरुरी छ ।  अपारदर्शिता आजको मुख्य समस्या हो भने सबैभन्दा पहिला राजनैतिक दल र तिनका नेताहरू पारदर्शी भएर प्रदर्शित होऊन् ।  नेताको जीवन रहस्यमय नबनोस् ।  जनताका सामु छलङर््ग नै होस् र जनताको गुमेको विश्वास आर्जन गर्ने अवसर प्राप्त होस् ।  राजनीति र अर्थनीति आपसमा जोडिएन यो नै नेपाली राजनीतिको समस्या हो ।  आर्थिक मामला उठाउनेहरू या त अर्थवादी हुन् या त बुर्जुवा हुन् भन्ने गहिरो छाप पारिएको छ ।  राजनीतिले देश र जनताको सेवा गर्नपर्छ ।  त्यसका लागि देश र जनतालाई खुसी र सुखी बनाउन सक्नपर्छ ।  यसको एकमात्रै विकल्प आर्थिक समृद्धि हासिल गर्नु हो ।  जनताको जीवनस्तर उठाउनु हो ।  राजनीतिलाई आर्थिक मामलासम्म जोड्ने काम गर्न मात्रै सकियो भने नेपाली राजनीतिमा त्यही नै वैकल्पिक राजनीति हुनेछ ।  आजसम्मको राजनीति खासगरी आर्थिक क्षेत्रमा असफल हुनाका कारणहरू के हुन् भन्ने बारेमा चर्चा गर्न जरुरी छैन ।  अब ती आर्थिक क्षेत्रमा भएका कमी कमजोरी तथा अनदेखापन तथा कतिपय अवस्थामा रहेका कमजोरी र अवलम्बन गरिएका गलत नीतिहरूको पुनरावलोकन र तिनवाट मुक्ति पहिलो सर्त हो ।  राजनीति वा अर्थ नीति वा अर्थ राजनीति मध्य अर्थराजनीति आजको आवश्यकता बन्न पर्दछ ।
अबको राजनीति, अर्थराजनीति नेपाली समाजको नारा बनाउन सकियो भने नेपाली जनताको जीवनस्तर उकास्न अवश्य सकिनेछ ।  अर्थ राजनीतिले नेपाली समाजको चरित्र नै बदल्न पनि मदत गर्नेछ ।  जब समाजको चरित्र बदलिन्छ मानिसहरूको चेतना आदत र व्यवहार पनि स्वाभाविक रूपमा बदल्न सम्भव हुनेछ ।  यसो भयो भने वैकल्पिक राजनीतिले नेपालमा सफलता हासिल गर्नेछ ।  वैकल्पिक राजनीतिको यो सफलताले विश्वमा पनि योगदान गर्नेछ ।  विश्वस्तरमा परेको राजनैतिक दर्शनको संकट समाधान गर्न पनि मदत पुग्नेछ ।  त्यसैल अबको राजनीति वैकल्पिक राजनीति अबको नारा अर्थ राजनीतको नारा ।  अबको कार्यदिशा अबको निकास आर्थिक विकास ।  लक्ष सम्भव छ समृद्धि हाम्रै पालामा ।  
साभारः गोरखापत्र अनलाइनडटकम

No comments: