Thursday, November 10, 2011

भुतको कथा (म भित्रको भुत)


हाम्रो शरिरमा आउने चेतना–आत्माहरु शरिरमा आउनु भन्दा अगाडी कहाँ थिए ? आमाको पेटमा हुँदा आएको हो की ? पृथ्वीमा खसेपछि आएको ? आएको हो भने कहाँबाट आएको ? मरे पछि त्यो आत्मा कहाँ जान्छ, अरुमा सर्छ की लाससँगै खरानी हुन्छ कि शुन्य आकाशमा घुमेर बस्छ ?  भुत के हो ? कहाँ बस्छ ? कहाँबाट आउँछ ? आत्मा भुत हो ? की भुत आत्मा हो ? आत्मा भुत हो भने हामी भुत बोकेर बाँचिरहन्छौ अथवा हामी भुतलाई हुर्काइरहन्छौं आफ्नै शरिरभित्र ? फेरी भुत देख्नेहरुले पनि त फरक फरक देख्छन नी कहिले कालो कहिले सेतो, कहिले दारा पलाएको, कहिले कपाल पालेको ? कहिले घोडाको रुपमा, कहिले सुँगरको रुपमा त्यसो भए आत्माले कसरी रुप फेर्छ त ?
म केही सोच्ने बुझ्ने भैसकेपछि यस्ता प्रश्नहरुको बारेमा आफैसँग कैयौपटक सोधे । मेरा आत्माले यी प्रश्नहरुको सहि उत्तर दिन सकेन, उत्तर संन्दिग्ध नै रहन्थ्यो । बुझाई छरपष्ट भए । मनले ती बुझाईहरुलाई मौनतातिर धकेलेर गयो । मनबाट भुत भाग्न नसक्ने गरी गाडियो । भुत सम्झने वित्तिकै म, मेरा बा, छिमेकी धामी हजुरबा, चौधरी बडाबा, राईकान्छा दाई, सान्दाई, ठुली दिदी आदी सम्झीरहन्थें । 
घरमा बाले ल्याएको पानासोनिक जापानीज सेकेन्डहेण्ड रेडियोमा समाचार सून्न, अझ विविसी सुन्न गाउँका २–४ जना हरेक बेलुकी भेला हुने हाम्रो घर, समाचार अघी र पछि समाचार टिप्पणी भन्दा प्रायः घरगाउँका कुरा, अनि आफ्ना कुरामा वित्ने गथ्र्याे । त्यहि सिलसिलामा हुने भुतका कुराले मलाई चकित पा¥र्यो, डर थप्थ्यो ९–१० वर्षको म कान ठाडा पारेर सुन्थे भुतका कुरा अगेनाको कुनामा बसेर ।
एक रात मध्य साउनको बेला घरमा भोली रोपाई छ, कुलोको पानी फर्काएर अर्कैले लगेछ । कुलोमा पानी सुकेपछि बाले राति नै कुलोको मुहान जाने निधो गर्नु भएछ । कुलोको मुहान घरबाट ४५ मिनेट टाडा त्यो पनि जंगलै जंगल हिडुन्पर्ने । भोलीको रोपाहार, गोरु, हलि अनि काडेको विउ सम्झेर बा हतार हतार जंगललै जंगल हानिनु भएको विचमा पुगेपछि एउटा सुँगर पछि लागेछ । सानो टर्चलाईटको भरमा बा जति छिटो हिड्नु हुन्छ त्यो सुँगुर घरि घरि चुँ चुँ गर्दै पछि लागि रा‘ । मुहानमा पुगेपछि पानी कुलोमा फर्काएर घर फर्किएको त्यो सुँगुर फेरी त्यहि, अब त झन अघि अघि । फर्किदा त सुँगर पनि थपिएछ । घरि अघिको कराउँछ घरि पछीको । जंगल भरि बाले सुगुर पाल्ने शान्तिनगरका सार्कीहरुलाई गाली गर्दै हिड्नु भयो रे । भोली पल्ट रोपाइ सकाएर बसेको सार्कि घरमै आइपुगेछ । बाले सुगुर छोड्नुहुन्छ ? बारी तिर आउछ, करेसाबारीमा छिर्छ आज राति म कुलोमा जाँदा मेरो अघि पछि लागेर हैरान भनेर बाहुनको तुजुक देखाएको सार्कीले उल्टै यी बाहुन पनि विनासित्ती गाली गर्छन भन्दै सुँगुर घरमै भएको कुरा गरे पछि पो बल्ल बाले सम्झे उसो भए राती मलाई भुतले खेदो गरेछ । की अरुको पो सुँगुर हो की ?
त्यस रात घटेको घटनाले बालाई अहिले सम्म पनि सम्झाइ रहन्छ । भुतको कुरा निस्कियो कि कहानी शुरु । त्यसपछि पनि बा कैयौ पटक रातमा जंगलको बाटो हिड्दा फेरी कहिल्यै आएन भुत । बाको त्यस घटना सुनेपछि मलाई पनि सुँगुर देख्यो कि भुतै पो हो कि भन्ने लाथ्यो । दिनभरी पढेर र घरको काममा वित्थ्यो । जब साँझ पथ्र्यो तब मनमा भुतका कुरा आउन थाल्थे । भृुत किन हुन्छ ? भुत बाँचेर के गर्छ ? मान्छेसँग भुतको के सम्बन्ध हुन्छ ? किन मान्छेसँगै आउँछ भुत ? आदी आदी प्रश्नहरुको उत्तर पाउनको सट्टा भुतका अन्य उदाहरणहरु थपिन्थे । 
छिमेकी धामी हजुरबा जसको मलाई हरेक १५ दिनमा जरुरी प¥र्थो । वल्लो गाउँ पल्लो गाउँका कहलिएका धामी । कहिले टाउको दुख्ने कहिले बेहोस हुने, कहिले जिउ तर्सिरहने आदी उपचारमा त वहाँ मेरा देवता समान हुनुहुन्थ्यो । यसो फुकफाक ग¥यो कि ठिक भैहाल्ने । एकदिन राती धामी हजुरबालाई पल्लो गाउँबाट विरामी फुक्न लिन आएछन । धामी भए पछि नाई भन्न पनि नमिल्ने भएकोले धामीको धर्म निभाउँदै हजुरबा लुरुलुरु लागेछन । पल्लो गाउँ जान टिमाइखोला तरेर जानु पर्ने । विचमा दोभान परेको ठाउँ गाउँका मरेका मान्छेहरु त्यही जलाउने गर्थे । १५ दिन अगाडी पनि पल्लो गाउँका एकजना बाजेलाई त्यहि जलाएका थिए रे । फर्किने बेलामा जेठादाईले हजुरबालाई पु¥याउने कुरा गर्दा हजुरबाले म आफै जान्छु भैहाल्छ भनेछन र हजुरबा एक्लै फर्किएछन एउटा पुल्ठो बनाई । हजुरबा जब दोभान छेउ आइपुगे पछाडीबाट मान्छेहरु गुनगुन गरेको आवाज आएछ । यसो फर्किएका मान्छेहरु टक्रयाक टुक्रुक बसेजस्तो देखेछन । धामीहजुुरबालाई भुत भन्ने लागीहालेछ र यसो माटो टिप्न खोजेका पुल्ठो त झ्याप्पै निभेछ । चारैतिर निष्पट अध्यारो भएपछि हजुरबा लड्दै पड्दै घर आइपुग्दा सबै हिलै हिलो । 
धामी हजुरबासँग धेरै विद्या थियो । घरेलु औषधीको ज्ञान थियो । त्यही ज्ञानले धेरैको हात, खुट्टा भाँचिएको ठिक भएको थियो । धेरैले अन्य उपचार पाएका थिए । न डाक्टर चाहिने न डाक्टरको औषधी । हजुरबा नै सबै डाक्टर । हजुरबा आज धेरैचोटी पखाला लाग्यो भन्यो भने पनि यसो जंगलतिर गएका एकछिनमा ‘ल यो खा’ भन्दै आउनु हुन्थ्यो । तुरन्तै ठिक भैहाल्ने । अर्को विचित्रको कुरा बालागुरु षडानन्द रुमाल ओछ्याएर कोशी तर्छन रे भन्ने कुरा पनि त्यहि हजुरबा बाटै सुनेको मैले पहिलोचोटी । त्यहि सन्र्दभमा बाले ‘म रुप फेर्न पनि सक्छु’ भन्थे । हजुरबाले म बाघ बन्न सक्छु भनेको कुराले त मलाई धेरै बर्ष पिरोलीरह्यो । त्यस्तो विद्या मलाई पनि  सिकाउनु नी बाले । बा मर्दा त्यस्तो विद्या पनि मरेर जान्छ भन्ने लाग्थ्यो साच्चै भयो पनि त्यस्तै । बाले कसैलाइै शिष्य बनाएनन । मैले कतिपटक ‘बा घरेलु औषधीहरुको ज्ञान त मलाई दिँदा हुन्छ नी’ भन्दा ‘बेला भाको छैन’ भन्थे पछि पनि । अहिले त हजुरबा स्वर्गवास भएका पनि धेरै भैसक्यो ।
घरमा दैनिक बेलुकी भेला हुने छिमेकीहरुबाट मैले यस्ता धेरै भुतका कथाहरु सुनेको छु । भुतको कथाले मलाई सबैभन्दा बढी दिएको भनेकै डर थियोे । गाउँको घर भएकोले भान्छाघर र सुत्नेघरको धुरी पनि बेग्लै थियो । अहिले पनि साँझ परिसग्दा सबै गाउँतिर प्राय खाना खाइसकिन्छ, । खाना खाइसकेपछि मलाई भान्छाघरबाट सिँडी उक्लेर माथी जान डर लाग्थ्यो सिंडी उक्लन पनि बत्ति देखाइदिनु पर्ने र एक्लै कोठामा बसेर पढ्न त झन गाह्े त्यहि डरले सानो छँदा प्राय तराईको मध्य गर्मीमा पनि मेरो टाउको शिरक भित्र नै हुन्थ्यो । एक्लै कोठामा भयो कि शिरक ओडेर गुटुमुट । आमाले ‘पढेर बस है त’ भनेर निस्कने वित्तिकै म सिरकभित्र हुन्थे र निदाईहाल्ने । कतिचोटी त यसरी नै होमवर्क गर्न पनि पाउँदिन थिएँ ।  
भुतका धेरै कथा सुन्दै म ठुलो हुँदैथिएँ । एकदिन बजारबाट फर्किदा ठिला भयो । सानो खोला तरेर ठुलो बाँसघारीहुँदै घरजानु पर्ने । बाँसघारीमा लाग्ने डरले म एक्लै हुने वित्तिकै खोलाबाट हातमा ढुङ्गा बोकेर हिड्थे । भुत देख्यो भने पैतालाको माटो छर्कनु पर्छ भन्ने बा, धामीहजुरबाबाट धेरै चोटी सुनेको थिएँ । साँझ अथवा राती म एक्लै हिड्नु प¥यो भने त्यहि फर्मुला अपनाउँथे । त्यस दिन पनि हातमा खोलाबाटै ढुङ्गा बोकेर हिँडेको थिएँ । बाँसघारी विचमा त कालो कालो बस्तु देखियो । घरि घरि हल्लिरहन्छ । अरुबेला त्यहाँ त त्यस्तो कालो बस्तु, बुटा केही थिएन । त्यसैले मेरो  सातोपुत्लो उड्ला जस्तो भयो आङ सिरिङ्ग भयो । शरिर फुलेर आए जस्तै भयो डरविचबाट मुखबाट ‘ओई कोहो ?’ निस्किएछ । जवाफ केही आएन । मलाई अगाडी बढ्ने आँट पनि आएन । उभिएर फेरी को हो ? को हो ? भनिरहँदा पनि जवाफ नआए पछि हातको ढुङ्गाको काम आयो । ढुङ्गा हानेको बाँसमा पो लागेछ । बल्ल आवाज आयो त्यताबाट ‘ढुङ्गा हान्ने को हो ?’ भनेर । भरे आफ्नै छिमेकी दाई पो रहेछ अध्यारोमा बाँसघारीमा पाइखाना गर्न आको । धन्न ढुङाले लागेन ।