अंग्रेज जब नेपाली वीरताबाट त्रस्त भए, उनीहरुले एक–अर्कालाई लडाउने र फुटाउने विचार गरे । अझ उनीहरुले एउटालाई काखी च्यापेर अर्कालाई इख्याउने र लोभ्याउने दृष्टिकोण अपनाई त्यसलाई व्यवहारमा पनि उतारे । नेपालको पूर्वी भू–भाग (मेची र टिस्टाबीचको समस्त पहाडी भूभाग र समस्त तल्लो भूमि वा तराई) सिक्किमलाई दिनु यसको प्रत्यक्ष उदाहरण हो ।
सन् १८१६ को सुगौली सन्धि नेपाल–अंग्रेज युद्धले ल्याएको परिणाम थियो । अंग्रेज स्वयं अघि सरेर पहाडी मुलुकमा युद्ध गरी सफल हुनु निकै असजिलो थियो, त्यसैले उनीहरुले आफ्नो शत्रुको शत्रु मित्र हो भन्ने मान्यताअनुसार पूर्वतर्फको लडाइँमा नेपाल विरुद्ध सिक्किमलाई उचाले । सिक्किम पनि आफ्नो गुमेको भूभाग पुनः प्राप्त गर्ने आशामा अंग्रेजको पक्षमा लाग्यो । सुगौली सन्धिमा निर्णायक लडाइँ पश्चिमतर्फ भएको थियो तर अंग्रेजले मेचीपारि र टिस्टावारिको पहाडी र तराई प्रदेशलाई अधीनस्थ गरी नेपाललाई अगाडि बढ्नै नदिने नीति लियो नत्र भने मेचीपारिको भूभाग त्यसबेला नेपालले गुमाउनु पर्ने थिएन ।
सुगौली सन्धिबाट मेचीपारिको भूभाग लिएपछि सिक्किमका राजालाई पहिले दिएको आश्वासन मुताविक अंग्रेजले सन् १८१७ फेब्रुअरी १० तारिखमा तितलियामा भएको अंग्रेज–सिक्किम सन्धिअनुसार सिक्किमलाई दानस्वरुप भनौं नेपालसँगको युद्धमा अंग्रेजलाई सहयोग गरेबापत दियो । सिक्किमसँग अंग्रेजले गरेको सो सन्धिको पहिलो धारामा पहिले नेपालका अधीनमा रहेको मेची र टिस्टाबिचको पहाडी प्रदेश सिक्किमका राजालाई दिइएको उल्लेख छ तर केही समयपछि नै अंग्रेजले मेची र महानदी बीचको समस्त तराई प्रदेश पनि सिक्किमलाई दियो । सन् १८१७ अप्रिल ७ तारिखमा सिक्किमका राजाले उक्त भूभाग अंग्रेजलाई दिएको कुरा सनदपत्रमा उल्लेख भएको छ । यस व्यहोराको सनदपत्रमा सिक्किमलाई दिइएको सो भूभाग पहिले नेपालको अधिनमा थियो भन्ने उल्लेख छ ।
यो सनदपत्रले अंग्रेजले नेपाललाई अंग्रेज शक्तिसँग भिड्नाको परिणति कस्तो हुन्छ भन्ने पाठ पढाउन खोजेको छ । डर र धम्कीको गन्ध पनि यसमा पर्याप्त मात्रामा सुँघ्न सकिन्छ । तर आज यो सनदको महत्व बढेको छ । टिस्टा र मेचीबीचको पहाडी र तराई भाग नेपालकै हो भन्ने थप बल यस सनदपत्रले दिएको छ ।
No comments:
Post a Comment